close

एप्पलको फेसटाइम च्याट अब एन्ड्रोइड र विण्डोजमा पनि प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

जेठ २६, २०७८ ११:३२

एप्पलको फेसटाइम च्याट अब एन्ड्रोइड र विण्डोजमा पनि प्रयोग गर्न सकिने

काठमाडौं । एप्पलको सबैभन्दा ठूलो कार्यक्रमको रुपमा रहेको ‘वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स २०२१’ (डब्लूडब्लूडीसी २०२१) सोमाबारदेखि सुरु भएको छ । शुक्रबारसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटनको क्रममा एप्पलले आईओएस, प्याडओएस, म्याकओएस, वाचओएसमा उल्लेख्य फिचर थप गर्दै परिस्कृत भसर्न प्रस्तुत गरेको छ ।

कार्यक्रममार्फत नयाँ फिचरहरु प्रस्तुत भएता पनि धेरैजसो फिचर आउँदो जुलाईबाट बेटा भसर्नको रुपमा प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ । भने, त्यसपश्चात विस्तारै फुल भसर्न उपलब्ध हुनेछ । कार्यक्रममार्फत एप्पलले विभिन्न फिचर उपलब्ध गराएको भएतापनि फेसटाइम च्याट एउटा उत्कृष्ट फिचरको रुपमा हेरिएको छ ।

फेसटाइम आईओएसमा उपलब्ध भिडियो कलिङ टुल हो । जसमा एप्पलले उल्लेख्य परिमार्जन गरेको छ । जसमा स्पाटियल अडियो, भ्वाइस आइसोलेसन लगायतका फिचर थप भएका छन् । त्यस्तै अर्को फिचर भनेको ‘पोट्रेट मोड’ हो । यसअघि क्यामेरामा उपलब्ध उक्त मोड अब फेसटाइममा पनि उपलब्ध भएको छ ।

यसको सहायताले प्रयोगकर्ताले आफ्नो पछाडिको भागलाई ब्लर गरी कुरा गर्न सक्नेछन् । योभन्दा पनि महत्वपूर्ण फिचर भनेको ‘फेस टाइम लिंक’ हो । जसमार्फत अब एन्ड्रोइड तथा विण्डाेज प्रयोगकर्ताले पनि फेसटाइम च्याट प्रयोग गर्न पाउने भएको छन् ।

एप्पलले थप गरेको नयाँ फिचरअनुसार अब फेसटाइम प्रयोगकर्ताले फेसटाइमको लिंक क्रियट गरी आफ्ना अन्य साथीलाई लिंक शेयर गरी भिडियो कलमा जोड्न सक्नेछन् । यसको अर्थ यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ताको हो भने तपाईंको साथीले पठाएको लिंकमा क्लिक गरी एन्ड्रोइडको वेब ब्राउजरमा र विण्डाेजबाट पनि सहभागी हुन सक्नुहुनेछ ।

यसमार्फत तपाईंले साथिभाइसँग कुराकानी गर्न, सँगै एउटै स्क्रिनमा फिल्म हेर्न र एउटै गीत सुन्न सक्नुुहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१