close

अमेजनको निःशुल्क गिफ्टको नाममा ‘स्क्याम’ म्यासेज फैलिँदै, जोगिन के गर्ने ?

टेकपाना टेकपाना

जेठ २६, २०७८ १४:५८

अमेजनको निःशुल्क गिफ्टको नाममा ‘स्क्याम’ म्यासेज फैलिँदै, जोगिन के गर्ने ?

काठमाडौं । केही महिनादेखि अमेजनको ३०औं वार्षिकोत्सवमा नि:शुल्क उपहार दिनेभन्दै ‘स्क्याम’ म्यासेज सामाजिक सञ्जालमा फैलिरहेकाे छ । नेपालमा पनि फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्जाल प्रयाेगकर्ता यस्ताे स्क्यामबाट पीडित भएका छन् ।

यसअन्तर्गत अमेजनकाे ३०औं वार्षिकोत्सवमा नि:शुल्क उपहारहरु पाउने सर्वेक्षणमा हुन अनुराेधसहित प्रयाेगकर्ताले लिंकसहितकाे म्यासेज पाउँछन् । म्यासेजको लिङ्क खोलेर झट्ट हेर्दा अमेजनकै आधिकारिक वेबसाइटजस्ताे देखिन्छ । वास्तवमा त्याे वेबसाइट अमेजनकाे हाेइन र कम्पनीले यस किसिमको कुनै उपहार योजना ल्याएको छैन ।

म्यासेज खोलिसकेपछि त्यहाँ केही तपाईंसँग सम्बन्धित विवरण (उमेर, समूह, लिङ्ग), अमेजनको सेवाको गुणस्तर र तपाईं आईफोन अथवा एन्ड्रोइड कस्तो प्रकारको युजर हो भनेर पनि सोधिन्छ ।

उत्तरहरु दिइसकेपछि तपाईंलाई गिफ्ट बक्सको चित्र देखाइन्छ । बक्समा क्लिक गर्न लगाइन्छ र उपहार देखाइन्छ । त्यसपछि तपाईंलाई यस किसिमको प्रश्नोत्तर अरू साथीलाई पठाउन लगाइन्छ ।

त्यसपछि उनीहरुलाई एप डाउनलोड गर्न र आफ्नो ठेगाना राख्न लगाइन्छ । अनि उक्त उपहार ५-७ दिनभित्र डेलिभर गर्ने जनाइन्छ । यस्ता वेबसाइटहरुमा आफूसँग सम्बन्धित कुनै सूचना अथवा जानकारी दिनु आफ्नै लागि जोखिमपूर्ण हुन्छ ।

उल्लेख भएका एपहरु डाउनलोड गर्न लगाएर तपाईं वित्तीय विवरणसम्म पहुँच पुर्‍याउने अथवा लिङ्कमार्फत मालवेयर इन्स्टल गरिदिन सक्छन । त्यस्तै यही स्क्यामकै कारण सयाैं प्रयाेगकर्ताले सामाजिक सञ्जाल अकाउन्ट ब्लक भइरहेकाे प्रतिक्रिया दिइरहेका छन् ।

यसरी स्क्याम आतकंबाट नेपालमा पनि दिनहुँ पीडित हुने क्रम बढिरहेकाे छ । सुरक्षाका लागि त्यस्ता म्यासेज प्राप्त गर्नासाथ म्यासेज क्लिक नगरी डिलिट गर्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।

सम्बन्धित समाचार : फोनमा स्प्याम म्यासेज आयो ? सुरक्षित हुन यसो गर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१