close

चार्जिङ स्टेसनको प्रारम्भिक कार्य सुरू

टेकपाना टेकपाना

जेठ २७, २०७८ ८:९

चार्जिङ स्टेसनको प्रारम्भिक कार्य सुरू

काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो । निर्माण जिम्मा पाएको चीनको जियाङसु जोङदोङ न्यु इनर्जी टेक्नोलाजीले चार्जिङ स्टेनसन निर्माण गरी चार्जिङ मेसिन जडान गर्नेछ ।

सर्भेपछि चीनबाट मेसिन ल्याउने तयारी भइरहेको तर कोराेना महामारीको निषेधाज्ञाले प्रभावित भइरहेको प्राधिकरणका परियोजना प्रबन्धक सागर ज्ञवालीले बताए । काेराेनाका कारण निर्माणस्थलमा गएर गर्नुपर्ने कामहरू प्रभावित भएका छन् । सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गरेपछि प्राधिकरणले चार्जिङ स्टेसन निर्माण अघि बढाएको हो ।

प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा ५० वटा स्टेसन निर्माणका लागि ३८ कराेड रुपियाँमा निर्माण सम्झौता गरेकाे हाे । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता छ । प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ ।

५० स्टेसनमध्ये सात प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकता अनुसार पूर्व–पश्चिम राजमार्गमा राखिनेछ । १२० किलोवाट र ६० किलोवाटसम्मका सवारी साधनका लागि छुट्टाछुट्टै चार्जिङ सुविधाको व्यवस्था गरिनेछ ।

साधारण चार्जर प्रविधिले एउटा सवारी साधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्दछ । तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारीसाधन बढीमा डेढ घण्टामा चार्ज हुनेगरी स्टेसन निर्माण हुने प्राधिकरणले जानएको छ । पूर्ण चार्ज भएका सवारी साधन ३५० किलोमिटरसम्म गुड्न सक्छन् ।

सडकमा गुडिरहेका विद्युतीय सवारी साधनले मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सक्नेछन् । स्टेसनमा कार्ड वा अनलाइनबाट भुक्तानी गरिसकेपछि गाडी चार्ज गरिनेछ । भुक्तानी गरेकाे रकम बराबरकाे चार्ज भइसकेपछि उक्त सवारी साधन थप चार्ज हुँदैन ।

५० वटै स्टेसनको नियन्त्रण काठमाडौँबाटै हुनेछ । स्टेसनमा यात्रुका लागि रेस्टुरेन्ट, खेल मैदान, शौचालयलगायतका संरचना पनि निर्माण हुनेछ । यात्रुको खाना, नास्ताकाे समयमा सवारी साधन चार्ज गर्न सकिनेछ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१