close

ह्वावेले सञ्चालनमा ल्यायो सबैभन्दा ठूलो साइबर सेक्युरिटी ट्रान्सपरेन्सी सेन्टर

टेकपाना टेकपाना

जेठ २७, २०७८ १८:२१

ह्वावेले सञ्चालनमा ल्यायो सबैभन्दा ठूलो साइबर सेक्युरिटी ट्रान्सपरेन्सी सेन्टर

काठमाडौं । ह्वावेले चीनमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सञ्चालनमा आएको उक्त सेन्टर उद्घाटनको कार्यक्रममा जीएसएमए, एसयुएसई, ब्रिटिश स्टान्डर्ड्स संस्थाका प्रतिनिधि र युएई र इन्डोनेसियाका नियामकहरूको समेत उपस्थिति रहेको थियो ।

नयाँ सेन्टरको उद्घाटनका साथै ह्वावेले त्यसका लागि साइबर सुरक्षा बेसलाइन प्रडक्ट पनि जारी गरेको छ । कम्पनीले योसँगै पहिलो पटक उद्योगका लागि आफ्नो प्रडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास उपलब्ध गराएको छ । जसले कम्पनीका ग्राहक, आपूर्तिकर्ता, विभन्नि संगठन तथा सरोकारवालाहरुलाई संयुक्तरुपमा साइबर सुरक्षालाई अझ बढी प्रभावकारी बनाउन मद्धत पुर्‍याउने जनाएको छ ।

‘साइबर सुरक्षा पहिलेभन्दा बढी महत्वपूर्ण छ’, ह्वावेका रोटेटिङ अध्यक्ष केन हूले भने, ‘एक उद्योगको रूपमा हामीले सँगै मिलेर काम गर्न, राम्रो अभ्यास साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणीकरणमा हाम्रो सामूहिक क्षमता विस्तार गर्न आवश्यक छ । हामीले सर्वसाधारण र नियामकर्तालाई उत्पादन र दैनिक रुपमा प्रयोग गर्ने सेवाहरूको सुरक्षामा विश्वास दिलाउन आवश्यक छ । त्यसका लागि यो कदम आवश्यक थियो ।’

विगत केही वर्षमा उद्योगमा डिजिटलिकरण, फाइभजी र एआईजस्ता नयाँ प्रविधि भित्रिएका छन् । हुले भने, ‘यसले साइबरस्पेसलाई पहिलेभन्दा बढी जटिल बनाएको छ । अझ कोभिड–१९ को महामारी सुरु भएसँगै मानिसको दैनिकी इन्टरनेटसँग जोडिएको छ । यी ट्रेन्डहरू साइबर सुरक्षामा नयाँ जोखिमको रुपमा रहेका छन् ।

ह्वावेले साइबर प्रशासनमा विशेषज्ञता बाँड्न र टेक्निकल समाधानको लागि एकसाथ काम गर्ने उद्योगका सरोकारवालालाई मञ्च प्रदान गर्दै नयाँ ट्रान्सपरेन्सी सेन्टर सञ्चालनमा ल्याएको हो । यसमार्फत साइबर सुरक्षाका लागि आवश्यक उपाय शेयर गर्न, अनुभव शेयर गर्न, सञ्चार र संयुक्त इनोभेसनलाई सुविधा दिन र सुरक्षा परीक्षण, प्रमाणीकरण समर्थन गर्ने लगायतकाे काम हुनेछ । यो नियामक निकाय, स्वतन्त्र संस्था, मापदण्ड मापन संगठनका साथै ह्वावेका ग्राहक, साझेदार र आपूर्तिकर्ताको लागि खुला हुने ह्वावेले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१