close

चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रमा आउँदो साता यात्री पठाइँदै

टेकपाना टेकपाना

जेठ २८, २०७८ ७:४९

चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रमा आउँदो साता यात्री पठाइँदै

काठमाडौं । चीनले आफूले अन्तरिक्षमा निर्माण गरिरहेकाे अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन) मा अर्को साता यात्री पठाउने भएकाे छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार तीन जना अन्तरिक्ष यात्री तीन महीनासम्म लागि अन्तरिक्ष केन्द्रमा रहनेछन् । उनीहरूलाई पठाउन रकेट तयारी अवस्थामा रहेकाे जनाइएकाे छ ।

ती अन्तरिक्ष यात्रीले तीन महिनासम्म त्यहाँ स्पेस स्टेसनबाहिर हिँड्ने (स्पेसवाक), मर्मत सम्भारका साथै वैज्ञानिक कार्य समेत गर्नेछन् । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो ।

लङ मार्च–२एफ वाई१२ रकेटलाई गत बुधबार चीनको उत्तरपश्चिमस्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ । यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने छ । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्ने छ, जसले दुईवटा प्रयोगशाला मोड्युल अन्तरिक्षमा पठाउने छन् ।

हाल तियान्हेको वजन करिब ७० टन छ । चीनले चारपटक अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ । चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरूमा वरिष्ष्ठ अन्तरिक्ष यात्रीहरू, नयाँ व्यक्तिहरू र महिला पनि रहेका छन् । चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ, जसमा सबैजसो चीनको सेनाका पाइलट रहेका छन् ।

हालसम्म संयुक्त राज्य अमेरिकाका र रुसले अन्तरिक्षमा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन् । यी केन्द्रमा अमेरिका र रुससमेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्त राज्य अमेरिकाले सहभागी गराइरहेको छैन ।

चीन यसरी बन्दैछ अन्तरिक्षको ठूलो शक्ति

अन्तरिक्ष विज्ञानको क्षेत्रमा प्रमुख शक्ति बन्दै गएको चीनले गत वर्ष मंगल ग्रह अभियान सुरू गरेको थियो । चीनको एक रोभरले अहिले मंगल ग्रहको बारेमा जानकारी संकलन गरिरहेको छ ।

चीनले अन्तरिक्ष विज्ञानको क्षेत्रमा चीनको सुरुवात ढिलो गरी भयो । उसले पहिलो पटक सन् २००३ मा आफ्नो अन्तरिक्ष यात्रीलाई अर्बिटमा पठाएको थियो । सोभियत संघ र अमेरिका पछि यस किसिमको उपलब्धि हाँसिल गर्ने चीन तेस्रो देश हो ।

हालसम्म चीनले दुई वटा अन्तरिक्ष केन्द्र तियागान्ग-२ अर्बिटमा पठाइसकेको छ । जे होस्, ती दुवै परीक्षण स्टेसन थिए । जुन केही समयसम्म मात्र कक्षमा रहन सक्थे । तर तियान्हेले भने कम्तिमा १० वर्षसम्म पृथ्वीको कक्षमा काम जारी राख्नेछ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले सन् २०२४ मा काम गर्न बन्द गर्नेछ । यस्तोमा त्यसताका चीनको तियान्हे पृथ्वीको कक्षमा रहने सायद एक्लो स्पेस स्टेसन हुनेछ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१