close

प्रतिभाशाली किशोर/किशोरीका लागि ‘ग्लोकल टिन हिरो २०२१’ हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

जेठ २९, २०७८ २०:२०

प्रतिभाशाली किशोर/किशोरीका लागि ‘ग्लोकल टिन  हिरो २०२१’ हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । ग्लोकल टिन हिरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुला गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन वर्षेनि ग्लोकल प्रालिले यो कार्यक्रम गर्दै आएको छ ।

गत वर्षझैं यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुनेछ । यस उपाधिको माध्यमबाट किशोर किशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने जनाइएकाे छ ।

हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एक/एक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हालसम्म ९१ जनालाई सम्मानित गरिएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यलगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले याे वेबसाइटमार्फत निःशुल्क आवेदन भर्नसक्ने छन् ।

पहिलो चरणमा कूल आवेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समिक्षाकाे आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनकाे मापनको लागि अन्तर्वार्ता हुने र २०२१ को विजेता घोषणा गरिने छ ।

अन्तिम स्क्रिनिङ र साक्षात्कार अनलाइनमार्फत हुनेछ । निर्णायक टोलीमा युरोपियन यूनियनका राजदुत श्रीमती नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डिङ र व्यवसाय विकास निर्देशक विदुषी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति रहनेछन् ।

ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन घोषणा
ग्लोकलले राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन आयोजना गर्न लागेको छ ।

यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको अन्लाईन उपस्थिति रहनेछ । यस वर्षको सम्मेलन ग्लोकलको चौंथो संस्करण हुनेछ र देश तथा विदेशका किशोर किशोरीहरुको एकै मन्चमा उपस्थित हुनेछन् ।

उक्त सम्मेलनमा किशोर किशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टाछुट्टै विषय उद्यमशीलता, सशक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ । उक्त कार्यक्रम पनि अनलाइन नै सञ्चालन गरिनेछ र यस कार्यक्रमको आवेदन खोलिएको घोषणा पनि पत्रकार सम्मेलनमार्फत जानकारी गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१