close

बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्न एक व्यक्तिले तिरे ३ अर्ब २८ करोड

टेकपाना टेकपाना

जेठ ३०, २०७८ ९:१०

बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्न एक व्यक्तिले तिरे ३ अर्ब २८ करोड

काठमाडौं । अमेजनका मालिक तथा सिईओ जेफ बेजोस आउँदो जुलाई २० तारिखमा अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनले बनाएको स्पेस रकेटमार्फत हुने यात्रामा बेजोससँग यात्रा गर्न एक जना व्यक्तिले टिकेटको मुल्य २ करोड ८० लाख डलर (करिब ३ अर्ब २८ करोड रूपैयाँ) तिरेका छन् ।

अन्तरिक्षमा ११ मिनेटको उक्त यात्राको टिकेटको लागि शनिबार लिलामी बढाबढ भएको थियो । जसमा एक जना व्यक्तिले २ करोड ८० लाख डलर तिर्ने कबोल गरेका छन् । उक्त टिकेटको लागि ब्लु ओरिजिनले केही समयअघि विश्वभरबाट आवेदन माग गरेको थियो, जसमा १५९ देशबाट ७ हजार ६ सय मानिसले फारम भरेका थिए ।

यसमध्ये अन्त्तिम लिलामीमा २० जनाले भाउ लगाएका थिए । ४८ लाख डलरबाट सुरू भएको बोलकबोल सुरु भएको केही मिनेटमै २ करोड ८० लाख पुगेको थियो । जुन अन्तिम मूल्य निर्धारण भएको छ । उक्त मुल्य कबोल गर्ने व्यक्ति को हो भन्ने विषयमा भने हालसम्म कुनै जानकारी दिइएको छैन ।

अघिल्लो साता इन्स्टाग्राममा पोस्ट गर्दै उनले आफू पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने र जुलाई २० मा आफ्नो भाइ मार्क बेजोससँगै अन्तरिक्ष यात्रामा निस्कने जानकारी दिएका थिए । जसमा बेजोससँगै उनका भाइ मार्कका साथै ६ जना यात्रु हुने बताइएको छ ।

न्यू सेपहार्डको उडान सब अर्बिट (यो एक किसिमको अन्तरिक्ष उडान हो, जहाँ यान बाहिर स्पेसमा पुग्नेछ) हुनेछ । यसले यात्रीहरुलाई स्ट्रेट अप एण्ड डाउन ट्रिपमा लिएर जानेछ, जुन सय किलोमिटर माथिसम्म पुग्नेछ । यसलाई कर्मान लाइन पनि भनिन्छ, जसलाई अन्तरिक्षको सुरुवाती पोइन्टको रुपमा अन्तराष्ट्रिय सम्झौताअन्तर्गत डिजाइन गरिएको हो ।

हालसम्म कर्मान लाइनभन्दा माथि ५६९ जना मानिसहरुमात्र पुगेका छन् । तर न्यू सेपहार्डको मद्दतले यो संख्यामा नाटकीय परिवर्तन ल्याइदिने ब्लु ओरिजिनका अस्ट्रोनट सेल्सकी निर्देशक एराइने कोर्नेलले बताएकी छिन् । ब्लु ओरिजिनको पछिल्लो घोषणाले १२ वर्षको ग्यापपछि अन्तरिक्ष पर्यटनको क्षेत्र पुनः सुरु हुन लागेको संकेत दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१