close

मेडिकल विद्यार्थीको आईटी मोह : फेसबुकको बग बाउन्टीमा यसरी पाइन् सफलता

टेकपाना टेकपाना

जेठ ३०, २०७८ १९:१४

मेडिकल विद्यार्थीको आईटी मोह : फेसबुकको बग बाउन्टीमा यसरी पाइन् सफलता

काठमाडौं । मनमा दृढता हुने हो भने धेरै कुरा हासिल गर्न सकिन्छ । सफलता पाउने हरेक व्यक्तिको जीवनमा यो भनाइले खास अर्थ राख्छ । जनकपुरकी २१ वर्षीय निभा शाहमा पनि यस्तै दृढता छ ।

उनी मेडिकल साइन्सकी विद्यार्थी हुन् । तर आईटीमा पनि उत्तिकै रुचि राख्छिन् ।

बुबा जनकपुरमा एउटा सानो किराना पसले, अनि आमा बैंककाे एजेन्ट । घरको अवस्था ठीकठाक नै छ ।

उनले सानैदेखि जनकपुरमै पढिन् । राजधानी काठमाडौं देखेको त अढाइ वर्षअघि स्नातक तहकाे प्रवेश परीक्षा दिन आउँदा हाे ।

‘म एमबीबीएसकाे प्रवेश परीक्षापछि जनकपुरमै जानकी मेडिकल कलेजमा भर्ना भएकी छु,’ उनी सुनाउँछिन, ‘परिवारको आर्थिक स्थिति मेराे एमबीबीएस अध्ययनका लागि एउटा पूर्ण सपनामात्रै थियो । तर, मैले विभिन्न संस्था तथा व्यक्तिहरूको सहयोगमा अध्ययन गर्ने अवसर पाएकी छु, जुन मेरा लागि ठूलो उपलब्धि हो ।’

उनी अहिले एमबीबीएसको दोस्रो वर्षको परीक्षा दिएर बसेकी छन् । यो बसाइले उनलाई एउटा बाटो भने कोरिदिएको छ । उनले यही अवधिमा बग बाउन्टीमार्फत एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएकी छन् ।

‘बग बाउन्टीको विषयबारे मलाई खासै जानकारी भने छैन । मेराे भाइ चैं यसमा बढी नै चासो राख्थ्यो । उसले कोडिङ समेत सिकिरहेकाे छ,’ उनले सुनाइन् ।

तर, एक्कासी एक दिन भाइसँग भएको ल्यापटप बिग्रियो । रिसमा भाइले बग बाउन्टी, कोडिङ सबै कुरा छाडिदिए । यो झण्डै डेढ वर्षअघिकाे कुरा हो ।

त्यति बेलासम्म भाइकै संगतमा उनले ल्यापटपबाट बग खाेज्न थालेकी थिइन् ।

उनी सुनाउँछिन, ‘म फेसबुकमा केही पेज र ग्रुप पनि चलाउँछु । जसका लागि हरेक दिन मैले दुई घण्टा दिन्छु । यसमै अहिले म मेडिकल इन्ट्रान्सका विद्यार्थीको परीक्षासमेत लिन्छु । त्यही ग्रुपमा देखिने कमजोरीलाई मैले बग भन्दै धेरैपटक रिपोर्ट गर्थें ।‘

उनलाई धेरैजसो बग जस्तो लागे पनि वास्तवमा त्याे बग हुँदैन थियाे । ‘तर, एकपटक मैले फेसबुक पेजमा फेला पारेको समस्या बग नै रहेछ,’ उनले भनिन, ‘मैले उक्त बग रिपोर्ट गरेकी थिएँ । दुर्भाग्यवश उक्त बग मैलभन्दा अघि अरु कसैले रिपोर्ट गरिसकेको रहेछ ।’

जब उताबाट उनले गरेको बग रिपोर्ट ढिला भयो भन्ने म्यासेज आयो । त्यो म्यासेज आउँदा स्वभावैले मन खिन्न भयो । तर सँगै उनलाई आफूले फेला पारेको त्रुटि बग रहेछ भन्ने कुराले खुसी लाग्यो ।

यो डेढ वर्षअघिको कुरा थियो । जतिबेला घरमा भाइसँग ल्यापटप थियो । उनी सम्झदै भन्छिन, ‘त्यसपछि इन्टरनेटमा बसेर गर्नुपर्ने बग बाउन्टी, कोडिङ जस्ता सबै काम बन्द भए ।’

उनी निरन्तर रुपमा आफ्नो अध्ययनमा लागिरहेकी छन् । तर, आजभन्दा अढाइ महिनाअघि उनलाई एउटा बगले ट्रिगर गर्याे । अर्थात चस्स छोयो । हुन त त्यो आफूलाई परेको समस्या थियो । उनी कलेजको कम्प्युटरमा तथा साथीभाइको मोबाइलमा फेसबुक प्रयोग गर्थिन् । त्यो पनि फेसबुक लाइट ।

यो दोस्रो वर्षको परीक्षा नजिकिँदै गर्दाको घटना हो । उनी सम्झिँदै भन्छिन, ‘एक दिन फेसबुक लाइट लगइन गर्ने समयमा फेसबुकले ‘रिमेम्बर पासवर्ड’ भन्ने अप्सन देखाएको थियो । मैले त्यसमा सेभ नगर्ने भनी ‘नट नाउ’ विकल्पमा क्लिक गरेँ ।’

उनले ‘नट नाउ’ मा क्लिक गर्दा पनि पासवर्ड सेभ भएर बसेको रहेछ । उनलाई यो विषयले छाेयो । ‘मलाई लाग्यो कतै यो बग त हाेइन,’ उनी भन्छिन, ‘म प्राय कलेजको कम्प्युटर तथा अरुको मोबाइलमा लगइन गरेर फेसबुक चलाउने मान्छे । यसरी पासर्ड सेभ भएर बस्दा म आफैंलाई नै पनि समस्या हुने भयो । अनि मैले फेसबुकलाई रिपोर्ट गरें ।’

त्यस बेलासम्म उनलाई एउटा दाइले ल्यापटप भने उपलब्ध गराइदिएका थिए । उक्त ल्यापटपबाट उनले बग रिपोर्ट गरेकी थिइन् । उनले उक्त बग दर्ता गरेको भएतापनि फेबुककले त्यसलाई पहिचान भने गर्न सकिरहेको थिएन । ‘फेसबुकले धेरैपटक भिडियो समेत पठाउन भन्यो,’ उनी भन्छिन, ‘मैले ३ पटकसम्म भिडियो पठाएँ । भने, १२–१३ पटक यो विषयमा कम्पनीसँग कुराकानी भयो ।’

एक दिन एक्कासी तपाईंको समस्या समधान भयो भनेर उताबाट रिप्लाई आयो । यो गएको मे ४ तारिखको कुरा थियो ।

उनी सम्झँदै भन्छिन, ‘मैले बुझाएको समस्या समाधान भएको थियो । तर, त्योभन्दा थप कुरा कम्पनीले केही पनि गरेको थिएन । बग पत्ता लगाउँदा पैसा दिन्छ भन्ने सुनेकी थिएँ । तर, पैसाको कुरा केही पनि भएन । तर, आश लागेकाे थियो ।’

झण्डै एक महिना बित्न लागिसकेको थियो । फेसबुकबाट कुनै जवाफ आएन । कुनै ईमेल नआउँदा पैसा नदिने हो कि भन्ने पनि भइरहेको थियो ।

उनी भन्छिन, ‘यो बग पत्ता लगाएदेखि त्यतिबेलासम्म २ महिना बितिसकेको थियो ।’

रिवार्ड नआउने हो कि भन्ने उनलाई परिरहेको थियो ।

उनी हाँस्दै सनुाउँछिन, ‘कहिले काहिँ त ‘एनी अपेडट’ भनेर म्यासेज पठाउँछ कि भन्ने पनि लाग्थ्यो । तर, फेरि उताबाट के भन्लान् भनेर मैले म्यासेज चै पठाइँन ।’

आफूलाई आवश्यक थियो । यस्तो अवस्थामा उनीहरु चैं केही दिँदा पनि दिँदैनन् भन्ने पनि लाग्थ्यो । खुसी हुँदै उनी भन्छिन, ‘तर, एकदिन एक्कासी म्यासेज आयो । म्यासेजमा १ हजार डलर बग बाउन्टी पाउने उल्लेख थियाे ।’

May be an image of text that says 'After reviewing this issue, we have decided to award you a bounty of $1000 Below is an explanation of the bounty amount. Facebook fulfills its bounty Ûward through Bugcrowd and HackerOne. Thank you again for your report. We look forward to receiving more reports from you in the future!'

त्यो सुन्दा अत्यन्तै खुसी भइन् उनी । आफूले गरेको मेहनतको फल प्राप्त हुँदै थियो । यो यही जून ४ तारिखको कुरा हो ।

उनले आवश्यक प्रक्रिया पुरा गरेर पैसा खातामा प्राप्त गरिन् । पैसा खातामा प्राप्त भएपनि उनको खातामा भने पैसा बाँकी रहेन ।

‘त्यसरी प्राप्त गरेको पैसा मैले मलाई सहयोग गर्ने एक जना साथीलाई दिएँ,’, उनी सुनाउँछिन, ‘उहाँले मलाई कलेजमा पढ्दा लागेको खर्चमा सहयोग गर्नुभएकाे थियाे ।’

अन्त्यमा उनले भनिन्, ‘बग बाउन्टीबाट आएको एक हजार डलर आफूसँग राखिनँ । मलाई डक्टर बनाउन आर्थिक रुपमा सहयोग गर्ने साथीलाई त्यो पैसा दिएँ । यसरी आफैंले कमाएर तिर्न पाउँदा ठूलो खुसी मिल्दो रहेछ । हुन त म सबैको सहयोगमै पढिरहेकी छु । आशा छ कुनै दिन मैले पाएको सहयोग सबैलाई आफूले कमाएर फिर्ता गर्न सक्नेछु ।’

No photo description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१