close

अब नेपालमै पब्जीको क्याश सर्भर, गेम लोडिङ फास्ट हुने

टेकपाना टेकपाना

जेठ ३०, २०७८ २०:१

अब नेपालमै पब्जीको क्याश सर्भर, गेम लोडिङ फास्ट हुने

काठमाडौं । इन्टरनेट सेवाप्रदायकले लोकप्रिय अनलाइन गेम पब्जीको क्याश सर्भर राख्ने तयारी थालेको बुझिएको छ । आइतबार टेकपानाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा बोल्दै इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जनले यसको संकेत दिएका हुन् ।

पब्जीको क्याश सर्भर नेपालमै भएको अवस्थामा गेम लोडिङ फास्ट हुने र त्यसको अनुभव समेत राम्रो हुनेछ । हाल गेमिङका लागि नेपाली इन्टरनेट सेवाप्रदायकमा क्याश सर्भर नहुँदा त्यसका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रयोग हुने र स्लो चल्ने समस्या भइरहेको हुन्छ ।

लाइभ प्रसारणका क्रममा एक जना दर्शकले नेपालमा पब्जीको क्याश सर्भर राख्न सम्भव छ कि छैन र नेपालमा त्यसका लागि इन्टरनेट सेवाप्रदायकको तयारी के छ भन्ने विषयमा प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा सीटीओ जनले भने, ‘पब्जीको बारेमा केही न केही राम्रो समाचार चाँडै नै आउँदै छ । हामी ब्याकग्राउण्डमा त्यसका लागि काम गरिरहेका छौं ।’

सोही प्रश्नमा नेपाल टेलिकमका उप-प्रबन्धक बिमलेश झाले पब्जीको क्याश सर्भर राख्ने विषयमा कुरा चलिरहेको बताए । क्याश सर्भर राख्न सकिने सम्भावना भए पनि नीतिगत व्यवस्था अस्पष्ट भएकाले दुविधा उत्पन्न भइरहेको उनको भनाई थियो ।

‘पब्जी लगायतका गेमिङ सर्भर नेपालमा आउनुपर्ने हो,’ उनले भने, ‘तर कन्टेन्ट सम्बन्धी सरकारको नीति स्पष्ट छैन । पहिला पनि पब्जी बन्द गरेर अदालतसम्म पुगेको विषय हो ।’

त्यसैले कुन गेम ल्याउने वा कुन गेम नल्याउने भन्ने विषय सरकारको नीतिमा स्पष्ट रुपमा परिभाषित हुनुपर्ने उनको माग थियो । ‘यस किसिमको नीति नहुँदा हामीलाई भित्रभित्रै डर पनि छ,’ उप-प्रबध्नक झाले भने, ‘यदि हामीले गेमिङ सर्भर ल्याएर होस्ट गर्‍यौं । तर त्यो देखाउनै नपाउने गरी गैरकानूनी घोषित भयो भने के गर्ने ? त्यसैले यस्ता विषयहरु स्पष्ट हुनुपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१