close

स्याटेलाइट र मोबाइल सेवाका लागि एउटै फ्रिक्वेन्सी प्रयोगमा ल्याउँदै प्राधिकरण

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १३:५०

स्याटेलाइट र मोबाइल सेवाका लागि एउटै फ्रिक्वेन्सी प्रयोगमा ल्याउँदै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सी ब्याण्डका फ्रिक्वेन्सी मोबाइल तथा स्याटेलाइट दुवै सेवामा प्रयोग गर्न अध्ययन थालेकाे छ । अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो समय ‘सी’ ब्याण्डलाई दूरसञ्चार सेवाका लागि उपयुक्त ब्याण्ड भएको भन्दै प्रयोगमा ल्याउने क्रम बढेसँगै प्राधिकरणले यसको अध्ययन प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार ३३०० देखि ४२०० सम्मका ब्याण्ड सी ब्याण्ड हुन् । कूल ९ सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध सी ब्याण्डमध्ये हाल ३४ देखि ३८ सय ब्याण्ड फोरजीको लागि छुट्याइएको छ । त्यसबाहेक रहेको पाँच सय मेगाहर्ज फ्रिक्वेन्सी स्याटेलाइटको लागि छुट्याइएको छ ।

त्यसमध्ये केही फ्रिक्वेन्सी नेपालका टेलिभिजन सेवाप्रदायकले प्रयोग गर्दै आएका छन् । भने, बाँकी त्यसै रहेको अवस्था छ । यस्तोमा उपलब्ध फ्रिक्वेन्सी सेलुलर मोबाइलमा पनि प्रयोगमा ल्याउन सकिन्छ कि भनी अध्ययन गर्न खोजिएको स्थापितले बताए ।

उनका अनुसार सी ब्याण्डको फ्रिक्वेन्सी पछिल्लो समय फोरजी/फाइभजीका लागि उपयुक्त ब्याण्ड भएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा स्याटेलाइटका लागि ‘केयु केए’ ब्याण्ड प्रयोग हुने गरेको छ । उनका अनुसार अहिले विदेशमा लञ्च हुने सबै स्याटेलाइट नयाँ ब्याण्ड ‘केयु केए’ ब्याण्डमा आधारित छन् ।

यस्तोमा युरोप, अमेरिकाले सी ब्याण्डलाई सेलुलर मोबाइलको लागि प्रयोगमा ल्याउने भए । त्यसैले प्राधिकरणले पनि यसको अध्ययन आवश्यक भएको भन्दै प्रक्रिया अघि बढाएको उनले बताए । निर्देशक स्थापितका अनुसार नेपालको हकमा स्याटेलाइटमा सी ब्याण्ड छाडेर ‘केयु केए’ ब्याण्ड प्रयोगमा ल्याउनसक्ने अवस्था भने छैन ।

यसको अर्थ ‘केयु केए’ ब्याण्ड प्रयोग गरेर स्याटेलाइट लञ्च गर्दा पानी धेरै पर्ने हाम्रो जस्तो देशमा स्याटेलाइटमा न्वाइज बढी भएर सिंग्नलले काम नगर्ने हुनसक्छ । यस्तोमा हाम्रो जस्तो देशका लागि सी ब्याण्ड स्याटेलाइटको लागि महत्वपूर्ण ब्याण्ड हो ।

‘नेपालले विदेशी स्याटेलाइटको हकमा भने सी ब्याण्ड राख भनेर भन्न सक्ने अवस्था रहँदैन,’ स्थापितले भने, ‘तर, नेपालको आफ्नै स्याटेलाइट राख्दा भने हामीले यो विषयमा विचार पुर्‍याउनुपर्ने हुन्छ । त्यसैले हामीले सी ब्याण्डको फ्रिक्वेन्सी मोबाइल र स्याटेलाइट दुवै सेवामा सहप्रयोगका लागि अध्ययन गर्ने तयारी गरेका हौं ।

उक्त अध्ययनले सी ब्याण्डमा बाँकी रहेको फ्रिक्वेन्सीमध्ये कति स्याटेलाइटको लागि आवश्यक पर्छ, कति सेलुलर नेटवर्कमा प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषय पनि समावेश गर्नेछ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रममा याे विषय समावेश भएकाे प्राधिकरण स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१