close

प्रधानमन्त्री ओलीको फोटो दुरुपयोग गर्दै फेसबुकमा फिशिङ आक्रमण

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १३:४

प्रधानमन्त्री ओलीको फोटो दुरुपयोग गर्दै फेसबुकमा फिशिङ आक्रमण

काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो दुरुपयोग गर्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा फिशिङ आक्रमण भएको पाइएको छ । प्रयाेगकर्ताकाे गाेप्य डेटामा पहुँच राख्न साइबर हमलाकारीहरूले नेपालमा निरन्तर फिशिङ गरिरहेका छन् ।

पछिल्लाे पटक फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्राेफाइल फाेटाे भएकाे नक्कली अकाउन्टबाट सरकारले ११ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको भन्दै दर्ता गर्न लिंक उपलब्ध गराइएको छ । यस्ता फिशिङ लिंक क्लिक गर्दा फिशिङकाे शिकार हुने जाेखिम रहेकाले सतर्कता अपनाउन सराेकारवालाले सचेत गराएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसैक्रममा नेपाल टेलिकमको नाममा फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।

यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ । यस्तोमा विभिन्न कम्पनीहरूले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेका छन् ।

पुरस्कार अथवा चिट्ठाको प्रलोभन देखाएर बैंक ठेगाना माग्ने अनि त्यसैको आधारमा खाताबाट पैसा निकाल्नेजस्ता ‘फिशिङ’ का घटना विश्वमा भइरहेका छन् ।

झट्ट हेर्दा पत्यार लाग्नेजस्ता पाेस्ट, ईमेल, फोन अथवा म्यासेजबाट आउने सन्देशहरु तपाईंको सहयोगका लागि नभई तपाईंसम्म पहुच बनाएर फाइदा लिने तरिकाहरु हुन् । साइबर हमलामार्फत क्षति पुर्याउने लक्ष्य फिशिङ गर्नेहरुकाे हुन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङका यस्ता घटनाबाट सुरक्षित रहने केही उपाय सुझाएको छ । प्राधिकरणले पुरस्कार अथवा चिट्ठाको लोभ देखाएर आउने ईमेल अथवा फोन कललाई रेस्पोन्स नगर्न आग्रह गरेको छ ।

अपरिचित व्यक्ती तथा ठेगानाबाट आएको ईमेल नखोल्न, ईमेल सङ्गै रहेको अट्याचमेन्ट र लिङ्क नहेर्न पनि प्राधिकरणले सुझाव दिएको छ । त्यस्ता ईमेललाई तत्काल ब्लक अथवा डिलिट गर्न प्राधिकरणले आग्रह गरेको छ ।

यसअघि पनि विभिन्न कम्पनीकाे नाम दुरूपयाेग गर्दै फिशिङ भइरहेकाे छ ।

यो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाइरहेका छन् ।

होस्टेड फिशिङ साइटमा प्रयोगकर्ताहरुका लागि लगइन प्यानल राखिने गरेकाे पाइएकाे छ । जहाँ लगइन गरिसकेपछि प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल ह्याकरको हातमा पुग्छ ।

त्यसो त फेसबुकले यसअघि नै त्यस्ता किसिमका फिशिङ पेज निर्मुल गर्न एडका लागि अप्रुभ गर्न बन्द गरेको छ । तर स्क्यामरहरुले बिट्ली लिङ्क प्रयोग गर्ने गर्छन्, जुन सुरुमा हेर्दा एउटा इमान्दार पेज जस्तो देखिन्छ । तर अप्रुभ भइसकेपछि ती सबै फिशिङ डोमेनमा परिवर्तन हुन्छन् ।

phishing in facebook in nepal

याे पनि पढ्नुहाेस् :

बुस्ट गरेर प्रयोगकर्तामाथि फिशिङ, यसबाट सजिलै ह्याक हुनसक्छ तपाईंको फेसबुक

जोकोहीलाई हुन सक्छ फिशिङ हमला, जोगिने कसरी ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१