close

खल्तीमै पड्कियो ओप्पो मोबाइल

टेकपाना टेकपाना

जेठ ३१, २०७८ २२:३२

खल्तीमै पड्कियो ओप्पो मोबाइल

काठमाडौं । एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । यो घटना भारतको राजधानी दिल्लीको हो ।

एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घाइते भएको समाचार छ । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।

बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो ।

भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्‍यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ ।

टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मार्टफोनमा आगलागी भएको हो । भिडिओमा ती व्यक्तिले यस घटनाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् ।

जीतु नाम गरेका ती व्यक्तिका अनुसार उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चार्जर नै प्रयोग गर्दै आएका थिए । फोनमाथि कुनै प्रकारको दबाब समेत नपारेको उनले बताएका छन् । फोन हेर्दा समेत त्यसको ब्याट्रीबाट आगो लागेको देखिन्छ ।

हालसम्म ओप्पोको तर्फबाट यो घटनालाई लिएर कुनै पनि आधिकारिक धारणा आएको छैन । ओप्पोले गत वर्षको अगस्तमा ओप्पो ए ५३ स्मार्टफोन सार्वजनिक गरेको थियो । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १८ वाट फास्ट चार्जिङको सपोर्ट दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१