close

मोबाइलमा छिटो नेपाली टाइपिङ गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

असार २, २०७८ ८:१२

मोबाइलमा छिटो नेपाली टाइपिङ गर्ने सजिलो तरिका

काठमाडौं । अहिलेको समयमा सबैजसो नेपालीको हात हातमा स्मार्टफोन पुगिसकेको छ । स्मार्टफोनमा च्याट गर्दा वा केही कुरा लेख्दा सहजताका लागि हामी प्रायः रोमन (अंग्रेजी अक्षरको सहायताले नेपाली लेख्ने) वा अंग्रेजी भाषा प्रयोग गरिरहेका हुन्छौं ।

नेपाली भाषा पढ्न सबैलाई सहज हुने भए पनि धेरैले लेख्ने तरिका भने रोमनाइज्ड (उदाहरणको लागि ‘छ’ लेख्नुपर्‍यो भने Chha वा Xa लेख्छौं) प्रयोग गर्छौं । जसले गर्दा इन्टरनेटमा हाम्रो मातृभाषाको प्रयोग विकृत बन्दै गइरहेको छ ।

यतिसम्म कि ठूला ठुला ब्राण्ड तथा पेजहरुले समेत नेपाली भाषालाई बिगारेर लेख्नुलाई हामी सामान्य मान्न थालेका छौं । तपाईं हामीले सोचेजस्तो मोबाइलमा नेपाली टाइपिङ गर्न त्यति कठिन वा जटिल पनि छैन ।

आज हामी तपाईंलाई सजिलै नेपाली टाइपिङ कसरी गर्ने भन्ने बारेमा विस्तृत रुपमा बताउँदै छौं । हाम्रो पात्रोले मोबाइलमा नेपाली टाइपिङका लागि हाम्रो किबोर्ड नामक छुट्टै एप तयार पारेको छ ।

सायद यो एप तपाईंले यस अघि नै आफ्नो मोबाइलमा डाउनलोड गरिसक्नु भएको हुनुपर्छ । अहिले यो एप प्रयोग गर्नेहरुको संख्या ६० लाखभन्दा बढी छ । यदि ‘हाम्रो किबोर्ड’ एप डाउनलोड गर्नु भएको छैन भने एन्ड्रोइडका लागि यहाँ क्लिक तथा आईओएसका लागि यहाँ क्लिक गरी हाम्रो पात्रोको एप डाउनलोड गर्नुहोस् ।

एप डाउनलोड गरिसकेपछि त्यसलाई खोल्नुहोस् र त्यहाँ लेखिएको ‘इनेबल गर्नुहोस्’ मा थिच्नुहोस् । 

अब त्यहाँ हाम्रो किबोर्ड अगाडि रहेको टोगल बटन अन गर्नुहोस् र ओके बटनमा क्लिक गर्नुहोस् ।

यस क्रममा तपाईंले समवेदनशिलत किसिमको सूचना त्यसमा देख्नुहुनेछ । तर नआत्तिनुहोस्, तपाईंले मोबाइलमा जुनसुकै अर्को किबोर्ड एप राख्दा समेत गुगल प्ले स्टोरले यस किसिमको नोटिफिकेसन दिने गर्दछ । तर यो एप चलाउन कुनै तपाईंको कुनै प्रकारको लगईन नचाहिने भएकाले त्यस किसिमको डेटा यसले संकलन भने गर्दैन । 

अब एक चरण पछाडि फर्किनुहोस् र ‘हाम्रो किबोर्ड’लाई छनौट गर्न चयन गर्नुहोस् लेखिएको बटनमा थिच्नुहोस् ।

अब त्यहाँ भित्र रहेको हाम्रो किबोर्ड छान्नुहोस् ।

अब यति गरेसँगै तपाईंको मोबाइलमा हाम्रो किबोर्ड प्रयोग गर्नका लागि तयार हुन्छ । अब नेपाली टाइपिङ सजिलो बनाउनका लागि एपको माथि दायाँ कुनामा रहेको सेटिङ बटन वा बीचमा दिइएको सेटिङ्ग्समा जानुहोस् ।

‘नेपाली वर्णविन्यास शुद्धिकरण’ को पछाडि टिक लगाउनुहोस् ।

नेपालीसँगै तपाईं यही एपबाट अंग्रेजी टाइपिङ पनि सजिलै गर्न सक्नुहुन्छ । त्यसका लागि छुट्टै एप चाहिँदैन । अंग्रेजी सानो अक्षर (abc…) को लागि तपाईंले एपमा डिफल्ट इन्टरफेस पाउने भए पनि अंग्रेजी ठूलो अक्षर (ABC…) मा जान वा त्यसबाट सानो अंग्रेजी अक्षरमा फर्किन किबोर्डको बायाँतर्फ माथि फर्केको एरो बटनमा थिच्नुपर्ने हुन्छ ।  

हाम्रो किबोर्डको प्रयोग गरेर तपाईं मोबाइलमा आफ्नो आवश्यकता अनुसार जुनसुकै एपमा गएर पनि नेपाली टाइप गर्न सक्नुहुन्छ । यसमा नेपाली टाइपिङका लागि चार वटा तरिका छन्, युनिकोड ट्रान्सलेटरेसन (लिपिअन्तर), एमपीपी रोमनाइज्ड, नेपाली ट्रेडिसनल र भ्वाइस टाइपिङ । कुन तरिकाबाट नेपाली टाइपिङ गर्ने तपाईंले किबोर्डमा रहेको ‘स्पेस बार’मा केहीबेर थिचेर चयन गर्न सक्नुहुन्छ । 

युनिकोड ट्रान्सलेटरेसन

यसमा नेपाली टाइपिङ गर्दा केही अक्षरहरुका लागि तपाईंले विशेष कोडहरु याद राख्नुपर्ने हुन्छ । सुरुवाती समयमा झन्झट लागेपनि विस्तारै बानी पर्दै गएपछि यो विधिबाट मोबाइलमा नेपाली टाइपिङ गर्न निकै छिटो र छरितो हुन्छ ।

नेपाली टाइपिङको यो तरिका रोमनमा लेख्ने बानी परेकाहरुका प्रयोगकर्ताका लागि सबैभन्दा सजिलो उपाय हो । यसमा तपाईं रोमनभन्दा पनि अझ छिटो टाइपिङ गर्न सक्नुहुन्छ । किन भने रोमनमा तपाईंले अटो करेक्सनको सुविधा पाउनुहुन्न, जुन यसमा उपलब्ध छ ।

स्पेस बारमा केही लामो समय थिचेर युनिकोड ट्रान्सलेटरेसन चयन गरिसकेपछि तपाईंले किबोर्डमा अंग्रेजी अक्षर देखे पनि तल पुछारमा नेपाली झन्डा देख्नुहुनेछ । यसमा तपाईंले रोमनमा जस्तै गरी लेख्दा स्वतः नेपाली टाइपिङ हुन्छ । जस्तै ‘Chha’ टाइप गर्नुभयो भने ‘छ’ लेखिन्छ ।

हाम्रो पात्रोमा रहेको अटो करेक्सन फिचर प्रयोग गरी तपाईंले पुरै शब्द टाइप नगरी किबोर्डको माथिल्लो भागमा आउने उपयुक्त शब्द छनौट गरेर आफ्नो नेपाली टाइपिङ फास्ट बनाउन सक्नुहुन्छ । उदाहरणको  लागि तपाईंले ‘c’ टाइप गर्नुभयो भने माथिल्लो भागमा तपाईंले टाइप गर्न खोजेको अनुमानित शब्दहरु देखिनेछन् । त्यहाँबाट उपयुक्त शब्दको रुपमा ‘छ’ चयन गर्न सक्नुहुन्छ । त्यहाँ तपाईंले दायाँबाट बायाँतर्फ धकेल्नुभयो भने सम्भावित कयौं शब्दहरुको सूची देख्न सक्नुहुनेछ । यदि तपाईं माथिल्लो भागमा अटो करेक्सनका विकल्प छनौट नगरी नेपाली टाइपिङ गर्नुहुन्छ भने कहिँ कतै तपाईंले टाइप गर्न खोजेको शब्द लेख्न अलमल हुन सक्छ । 

युनिकोड ट्रान्सलेटरेसनमा केही विशेष अक्षरको टाइपिङ

अकार टाइपिङका लागि ‘a’ र आकारका लागि ‘aa’ टाइप गर्नुहोस् । उदाहरणका लागि  तपाईं ‘श्याम’ लेख्न चाहनुहुन्छ भने ‘shyam’ टाइप गर्नुहुन्छ । तर त्यहाँ ‘श्यम’ टाइप भएर आउँछ । यस्तोमा आकार दिन तपाईंले ‘आ’ कार दिन ‘a’ थप गरेर ‘shyaam’ टाइप गर्नुपर्ने हुन्छ । त्यस्तै तपाईं ‘नेपाल’ लेख्न चाहनुहुन्छ भने ‘nepal’ टाइप गरे पुग्छ । तर ‘नेपालको’ लेख्न चाहनुहुन्छ भने ‘nepalko’ नभई ‘nepalako’ टाइप गर्नुपर्ने हुन्छ । ‘nepalko’ टाइप गर्दा ‘नेपाल्को’ हुन पुग्छ ।

इकार टाइपिङका लागि ह्रश्वमा ‘i’ र दीर्घका लागि ‘ee’ टाइप गर्नुहोस् । उदाहरणका लागि ‘samikshaa’ टाइप गर्नुभयो भने ‘समिक्षा’ लेखिन्छ भने ‘sameekshyaa’ टाइप गर्दा ‘समीक्षा’ हुन्छ ।

उकार टाइपिङमा ह्रश्वका लागि ‘u’ र दीर्घका लागि ‘oo’ टाइप गर्नुहोस् । उदाहरणका लागि ‘aamul’ टाइप गर्नुभयो भने ‘आमुल’ लेखिन्छ भने ‘aamool’ टाइप गर्दा ‘आमूल’ हुन्छ । 

‘ऋ’ लेख्न ‘rri’ टाइप गर्नुहोस् । उदाहरणका लागि ‘rrichaa’ टाइप गर्नु भयो भने ऋचा आउँछ ।

शिरविन्दुका लागि ‘*’ टाइप गर्नुहोस् । उदाहरणका लागि ‘अंगुर’ लेख्न ‘a*gur’ टाइप गर्नुहोस् ।

चन्द्रविन्दुका लागि ‘**’ टाइप गर्नुहोस् । उदाहरणका लागि ‘सँग’ लेख्न ‘sa**gai’

केही विशेष अक्षर

ट= T

ठ= Th

ड=D

ढ=Dh

ण=N

ष=Sh

क्ष=ksh

त्र=tr

ज्ञ=gyn

र्‍यो =rr

‍यसमा विसर्ग ( ः), ट्र जस्ता केही अक्षर तथा चिन्ह फेला पार्न सक्नुभएन भने स्पेसबारमा केही लामो समय थिचेर एमपीपी रोमनाइज्ड वा नेपाली ट्रेडिसनल युनिकोडमा गएर ती अक्षर ल्याउन सक्नुहुन्छ । उदाहरणको लागि त्यहाँबाट ‘ट्र’ लेख्न  ‘ट ् र’ टाइप गर्नुहोस् ।  

एमपीपी रोमनाइज्ड

स्पेसबारमा केही बेर थिचेर एमपीपी रोमनाइज्ड युनिकोड छनौट गर्न सक्नुहुन्छ । यसमा तपाईंले अंग्रेजी अक्षरसँगै नेपाली अक्षर र चिन्ह (हाइलाइट भएको ठूलो अक्षर र सानो अक्षरमा) देख्न सक्नुहुन्छ ।

त्यसबाट एक एक अक्षर र चिन्ह मिलाएर तपाईंले नेपाली टाइपिङ गर्न सक्नुहुन्छ । सानो आकारमा देखिएका अक्षर टाइप गर्न बायाँतर्फ माथि फर्किएको एरो बटनमा थिच्नुपर्ने हुन्छ ।

यसको साटो आफूले चाहेको अक्षर भएको बटनमा केही लामो समय थिच्दा समेत तपाईंले त्यसमा भएका अक्षर छनौट गर्न सक्नुहुन्छ । 

उ लेखिएको स्थानमा केही लामो समयसम्म दबाइरहँदा आउने विकल्प

नेपाली ट्रेडिसनल

अघिजस्तै स्पेसबारमा केही लामो समय थिचेर अन्तिममा रहेको विकल्प ‘Nepali Traditional’ छनौट गर्नुहोस् । अब तपाईंले किबोर्डमा सबै नेपाली अक्षर मात्र देख्नुहुनेछ ।

इन्टरफेसमा नदेखिएका अक्षरका लागि तपाईंले बायाँतर्फ माथि फर्किएको एरो बटनमा थिचेर फेला पार्न सक्नुहुन्छ । 

भ्वाइस टाइपिङ

यदि तपाईं किबोर्डमा रहेका बटन नथिचेर बोलेकै भरमा नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने हाम्रो पात्रोमा त्यसको फिचर समेत उपलब्ध छ । यसका लागि ‘हाम्रो किबोर्ड’को माथि बायाँ कुनामा रहेको माइक आइकनमा थिच्नुहोस् ।

बायाँतर्फको सेटिङ बटनमा जानुहोस् ।

अब त्यहाँ तल ‘Languages’ लेखिएको स्थानमा दबाउनुहोस् ।

त्यस भित्र रहेको सूचीको करिब अन्तिम तिरबाट नेपाली भाषा छनौट गरी ‘Ok’ बटन थिच्नुहोस् ।

अब पुनः अघि माइक भएकै स्थानमा जानुहोस् । अब बीच भागमा रहेको माइक निलो करले हाइलाइट भएको छैन भने त्यसमा ट्याप गर्नुहोस् र बोल्न थाल्नुहोस् ।

अब तपाईंले बोलेका कुरा नेपालीमा स्वतः टाइप भएर आउनेछन् । कुनै स्थानमा त्रुटिपूर्ण टाइपिङ भएको छ भने माथिका अन्य विधिहरुमार्फत त्यसलाई सच्याउन सक्नुहुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१