close

अब देशका सबै ठाउँमा दूरसञ्चार सेवा

टेकपाना टेकपाना

असार ३, २०७८ १२:३०

अब देशका सबै ठाउँमा दूरसञ्चार सेवा

काठमाडौं । जिल्लागत हिसाबले हेर्ने हो भने देशका सम्पूर्ण जिल्ला सदरमुकाम दूरसञ्चार सेवाले जोडिएका छन् । तर, देशमा अझै पनि यस्ता स्थान छन्, जहाँका बासिन्दा दूरसञ्चार सेवाबाट अझै वञ्चित छन् । इन्टरनेट त परै जाओस्, देशका कतिपय स्थानमा हालसम्म टेलिफोन सेवासमेत पुग्न सकेको छैन ।

सूचना प्रविधिमा आधारित आजको दुनियाँमा दूरसञ्चारको पहुँचबाट बाहिर रहनु भनेको सरकारले दिने धेरै सेवाबाट वञ्चित रहनु हो । हुन त दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गर्ने एमआईएस प्रतिवेदनअनुसार देशको कूल जनसंख्याभन्दा ३३ प्रतिशत बढी टेलिफोन पहुँच पुगेको छ ।

प्राधिकरणले जारी गरेको गत फागुन महिनासम्मको तथ्याङ्कअनुसार टेलिफोनको पहुँच चार करोड ३४ लाखभन्दा बढी मानिसमा पुगेको छ । जुन प्रतिशतको हिसाबले नेपालको कुल जनसंख्याभन्दा ३३.४७ प्रतिशतले बढी हो । सँगै इन्टरनेटको पुहँच पनि ८७ प्रतिशत जनसंख्यमा पुगिसकेको सो प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङ्कले टेलिफोन सेवाको पहुँच देशको जनसंख्याभन्दा धेरैमा पुगिसकेको भएपनि देशका धेरै स्थानमा अझै टेलिफोन सेवा नपुगेको नियामक निकायले स्वीकार्दै आएको छ ।

सेवाप्रदायकको सिमकार्ड बिक्रीका अधारमा जनसंख्याभन्दा बढी टेलिफोन सेवाको पहुँच भएको यो यथार्थलाई मध्यनजर गर्दै अब प्राधिकरणले दूरसञ्चार नपुगेका ठाउँमा सेवा विस्तार गर्न कार्यक्रम ल्याउने भएको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत त्यस्ता स्थानमा दूरसञ्चार सेवा विस्तार गर्ने लागेको जानकारी दिएको छ ।

हालसम्म दूरसञ्चार सेवको पहुँच नपुगेका स्थानमा सेवाप्रदायकमार्फत सेवा विस्तारको काम अघि बढाउने तयारी भएकाे प्राधिकरण स्रोतले बताएको छ ।

स्रोतका अनुसार त्यस्ता स्थानमा माइक्रोवेभ टावर निर्माण गरी सेवा उपलब्ध गराइने छ । प्राधिकरणले यसका लागि आफ्नै कोषको रकम प्रयोग गर्ने अथवा ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गर्ने भन्ने विषयमा जानकारी दिएकाे छैन ।

हाल प्राधिकरणले तयार पारेको बजेट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेकाले त्यहाँबाट पास भएर आएसँगै यस विषयमा थप जानकारी उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१