close

एनसेलले अब गुगल क्लाउड प्रयोग गर्ने, हजारौं नेपाली व्यवसायलाई वर्कस्पेसको सेवा

टेकपाना टेकपाना

असार ३, २०७८ १४:५२

एनसेलले अब गुगल क्लाउड प्रयोग गर्ने, हजारौं नेपाली व्यवसायलाई वर्कस्पेसको सेवा

काठमाडौं । निजी क्षेत्रको अग्रणी मोबाइल सेवाप्रदायक एनसेलले गुगल क्लाउड प्रयोग गर्ने भएको छ । साथै कम्पनीले नेपालमा इन्टिग्रेटेड आईसीटी पोर्टफोलियोको रुपमा हजारौं साना तथा मझौला व्यवसायीलाई गुगल वर्कस्पेसमार्फत सेवा दिने भएको छ ।

यसका लागि हालै एनसेलको लगानीकर्ता कम्पनी आजियाटाले गुगलसँग सहकार्य गरेकाे छ । एसियाली क्षेत्रका लाखौं कम्पनीमा डिजिटल रूपान्तरण ल्याउन आजियाटाले गुगल क्लाउडसँग रणनीतिक साझेदारी गरेकाे हाे ।

यी दुईबीच दुई चरणमा सहकार्य हुने जनाइएकाे छ । पहिलो चरणमा आजियाटाअन्तर्गत रहेका ६ माेबाइल सेवाप्रदायकले साना तथा मझौला व्यवसायीलाई गुगल वर्कस्पेसमार्फत इन्टिग्रेटेड आईसीटी पोर्टफोलियो र सर्भिस बण्डल प्रदान गर्नेछन् । यसबाट नेपालसहित एसियाली क्षेत्रका लाखाैं व्यवसायी लाभान्वित हुने विश्वास गरिएकाे छ ।

त्यस्तै दाेस्राे चरणमा आजियाटाले आफ्ना दूरसञ्चार सेवाप्रदायकमा गुगल क्लाउड सेवा प्रयोगमा ल्याउनेछ । यसअन्तर्गत नेपालको एनसेलसहित श्रीलंकाको डायालग, मलेसियाको सेलकम, इन्डोनेसियाको एक्सएल आजियाटा, बंगलादेशको रोबी र कम्बोडियाको स्मार्टले आफ्ना पूर्वाधारलाई आधुनिकीकरण गर्न गुगल क्लाउडको कम्प्युट, स्टोरेज र नेटवर्किङ सर्भिस प्रयोग गर्नेछन् ।

आजियाटा इन्टरप्राइजका मुख्य कार्यकारी अधिकारी डा. गोपी कुरुपले गुगल क्लाउड र आजियाटाले व्यवसायलाई डिजिटलाइज गर्ने साझा दृष्टिकाेण राखेकाे उल्लेख गर्दै आफूहरूले लामो यात्राका लागि सहकार्य गरेको बताएका छन् ।

त्यस्तै गुगल क्लाउड दक्षिण पूर्वी एसियाका प्रबन्ध निर्देशक रुमा बालासुब्रमनियनले यस क्षेत्रका लाखौं कम्पनीहरूको डिजिटल रूपान्तरणको गति बढाउन आजियाटासँग साझेदारी गरिएकाे बताए । याे सहकार्यबाट व्यवसायहीहरूकाे जटिल व्यापार र प्राविधिक चुनौतीहरूको समाधान हुने विश्वास उनले गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१