close

बिना सहमतिका ‘सेक्स’ भिडिओ राखेको भन्दै पोर्नहबमाथि मुद्दा

टेकपाना टेकपाना

असार ४, २०७८ १४:१

बिना सहमतिका ‘सेक्स’ भिडिओ राखेको भन्दै पोर्नहबमाथि मुद्दा

काठमाडौं । पोर्नहबको प्यारेन्ट कम्पनी माइन्डगिक विरुद्ध ‘क्लासिकल क्रिमिनल इन्टरप्राइज’ (पुरानो किसिमको आपराधिक धन्दा) सञ्चालन गरेको भन्दै दर्जनौं महिलाहरुले मुद्दा दायर गरेका छन् । जानाजान बलात्कार, बाल यौन दुर्व्यवहार, रिभेन्ज पोर्न (बदला लिनका लागि राखिने सेक्स भिडिओ) र अन्य प्रकारका सहमति बनाका यौन कार्यबाट कम्पनीले नाफा आर्जन गरिरहेको आरोपमा बिहीबार संयुक्त रुपको मुद्दा दायर गरिएको हो ।

चाइल्ड पोर्नोग्राफी (बाल यौन शोषण गरिएका भिडिओ सामग्री), बलात्कार र मानव बेचबिखनका ३२ जना पीडितहरुको तर्फबाट अमेरिकाको क्यालिफोर्नियाँको केन्द्रीय जिल्ला अदालतमा सार्वजनिक हीतको उक्त मुद्दा दर्ता गरिएको छ । पीडितहरुको तर्फबाट ब्रोन रुड्निक एलएलपीका वकिलले तयार पारेको स्टेटमेन्टअनुसार एउटी महिलाले आफ्नो सहमति बेगर भिडिओ पोस्ट गरेर नाफा कमाएको आरोप लगाएकी छिन् ।

‘यो बलात्कारको मुद्दा हो, पोर्नोग्राफी होइन,’ आरोपपत्रमा उल्लेख छ । ल फर्मले पीडितहरुमा परेको भयानक क्षतिको पूर्तिसँगै आगामी दिनमा हुनसक्ने हजारौं पीडितहरुको संरक्षण समेत खोजिरहेको छ । मुद्दामा माइन्डगिकलाई आगामी दिनमा सहमतिमा तयार पारिएका भिडिओहरु मात्र अनुमति दिनेगरी कडा नीतिहरु अख्तियार गर्न समेत भनिएको छ ।

ल फर्मका अनुसार माइन्डगिक अन्तर्गत पोर्नहब, रेडट्युव, यूपोर्न लगायतका सयभन्दा बढी पोर्नग्राफिक वेबसाइटहरु सञ्चालनमा छन्, जसले समग्रमा प्रत्येक महिना साढे तीन अर्ब भ्युज बटुल्ने गर्दछन् । बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा कथित पीडितको प्रतिनिधित्व गर्दै मिचेल बोईले यो मुद्दालाई पोर्नोग्राफी उद्योगका लागि ‘भारी पर्न सक्ने क्षण’ बताएका छन् ।

सीएनएनका अनुसार जुन विषयले अहिलेसम्म पर्याप्त किसिमको नियमन संयन्त्रको सामना गरिरहेको छैन । बोईले स्पष्ट पार्दै अगाडि भने ‘यो क्षेत्र पहिलाको रेड लाइट क्षेत्र जस्तै चलिरहेको छ । जहाँ महत्वपूर्ण नियमनकारी मापदण्ड पैसाका लागि बेवास्ता गरिन्छ ।’

तर माइन्डगिकले भने मुद्दामा लगाइएका आरोप अस्वीकार गरेको छ । बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गैरकानूनी सामग्रीमा आफ्नो शून्य सहनशिलता रहेको भन्दै पोर्नहबले आफ्नो प्लेटफर्ममा रहेका सामग्रीमाथि आउने हरेक गुनासोलाई अनुसन्धान गर्ने गरिएको बताएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार पोर्नहबसँग त्यस किसिमका सामग्री पहिचान गर्ने र हटाउने स्पष्ट मापदण्ड यसअघि देखि नै लागु गरिएको छ । जसमा भेरिफाई नभएका प्रयोगकर्तामाथि भिडिओ अपलोड गर्न ब्ल्याङ्केट ब्यान (एकप्रकारको प्रतिबन्ध) समेत समावेश छ ।

गत डिसेम्बरमा पहिलो पटक यो नीति कार्यान्वयनमा आएसँगै दशौं लाख भिडिओ हटाइएको थियो । ‘पोर्नहबमाथि आपराधिक उद्यम भएको भन्ने किसिमका आरोपहरु आधारहीन र झुटा छन्, ‘ कम्पनीले भनेको छ ।

त्यसो त माइन्डगिकले आफ्नो दशौं लाख पोर्न भिडिओको लाइब्रेरीको विषयलाई लिएर सामना गरेको मुद्दा यो नै पहिलो भने होइन । सहमति बिनाका तथा गैरकानूनी सामग्रीको विषयलाई लिएर न्यूयोर्क टाइम्सले स्तम्भ लेखेपछि गत डिसेम्बरमा मास्टर कार्ड, डिस्कभर र भिषाले पोर्नहबसँगको सम्बन्ध विच्छेद गरेका थिए ।

उक्त समयमा समेत पोर्नहबले त्यस आरोपलाई समेत अस्वीकार गरेको थियो । त्यससँगै उसले आफ्नो नीतिमा कयौं सुधारसँगै डिटेक्सन सिस्टम र भेरिफिकेसन नियमन समेत ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१