close

क्लबहाउसलाई टक्कर दिन स्पोटिफाईले ल्यायो ‘ग्रिनरुम’, के के छ सुविधा ?

टेकपाना टेकपाना

असार ४, २०७८ २०:२४

क्लबहाउसलाई टक्कर दिन स्पोटिफाईले ल्यायो ‘ग्रिनरुम’, के के छ सुविधा ?

काठमाडौं। लाइभ अडियो एपहरुको माझमा आफ्नाे स्थान बनाउन स्पोटिफाईले खेलमा केन्द्रित अडियो एप “लकर रुम” किन्ने घाेषणा मार्चमा नै गरेको थियो । साेहीअनुरुप कम्पनीले बिहीवार स्पोटिफाई ग्रिनरुम एप सार्वजनिक गरेकाे छ ।

संसारभरका स्पोटिफाई प्रयोगकर्ताले ग्रिनरुम एपमार्फत लाइभ अडियो रुम होस्ट गर्न, जोइन गर्न र आफ्नो इच्छाअनुसार उक्त लाइभ कुराकानीलाई पोडकास्टमा परिवर्तन गर्न सक्नेछन् । त्यस्तै स्पोटिफाईले ‘क्रिएटर फण्ड’ पनि छिट्टै नै सुरु गर्ने बताएको छ, जसले होस्टलाई आम्दानी गर्न सहयोग गर्नेछ ।

स्पोटिफाई ग्रिनरुम लकर रुमकै कोडका आधारमा निर्मित एप भएकाले लकर रुमका प्रयोगकर्ताले भने आफूले चलाइरहेको एपमा डिजाइन र ब्राण्डमा मात्र केही फरक अनुभव गर्ने कम्पनीको भनाइ छ ।

लकर रुम प्रयोगकर्ताले आफूले रुचाएको स्पोर्टस् टिमलाई फलो गर्नसक्थे भने अब चाहिँ प्रयोगकर्ताहरुले कुनै पनि विषयहरुमा अडियो रुम क्रिएट गर्न र कुराकानी गर्न सक्नेछन् । आफ्नो स्पोटिफाई अकाउन्टबाट साइन इन गरेर यो एप प्रयोग गर्न सकिन्छ ।

अन्य लाइभ अडियो एप क्लबहाउस, ट्वीटर स्पेसेस र फेसबुक लाइभ अडियो रुमभन्दा ग्रिनरुमका फिचरहरुमा धेरै भिन्नता भने छैन । अरु एपमा जस्तै ग्रिनरुममा पनि वक्ताहरु स्क्रिनको माथि गोलो आइकनसहित देखापर्छन् भने स्राेताहरु स्क्रिनको तल्लो भागमा देख्न सकिन्छ ।

स्राेताहरुले रुचाएको खण्डमा भने उनीहरुलाई पनि माथि वक्ताहरुसँगै बोल्ने स्थान दिने व्यवस्था छ । हाललाई भने रुममा एक हजार जना सहभागीहरु सामेल हुन पाउने व्यवस्था गरिएको छ । यद्यपि कम्पनीले चाडैँ नै सहभागीहरुको संख्या बढाउने जनाएको छ ।

त्यस्तै ग्रिनरुममा स्राेताहरुले वक्ताको लागि भर्चुअल तालीको रुपमा “जेम्स” दिन सक्छन् । वक्ताले जति धेरै जेम्स पाउँछ, त्यो उसको प्रोफाइलमा डिस्प्ले हुन्छ । हाललाई जेम्सको कुनै मोद्रिक मूल्य त छैन । तर आउने दिनमा स्पोटिफाईले यसो नगर्ला भन्न सकिन्न ।

अन्य लाइभ अडियो एपभन्दा ग्रिनरुममा केही भिन्न फिचर पनि छन् । जस्तै सुरुवाती दिनका लागि लाइभ च्याटको पनि व्यवस्था छ, जसमा होस्टले आफ्नो इच्छाअनुसार लाइभ च्याट अन र अफ गर्न सक्छन् । त्यस्तै होस्टले कुराकानी सकिएपछि उक्त कुराकानीको फाइल रिक्वेस्ट गर्न सक्छन्, जसलाई पछि काँटछाँट गरेर पोडकास्ट श्रृंखला बनाउन सकिनेछ ।

यो एपको एउटा आलोचित फिचर भनेको यसमा लाइभ अडियो सेसनहरु कम्पनीले रेकर्ड गर्न मिल्ने व्यवस्था रहेको छ । कम्पनीहरुले यसलाई प्रयोगकर्ताको सुरक्षाको लागि नै व्यवस्था गरेको दावी गरेका छन् । कम्पनीका अनुसार कुनै पनि कार्यक्रमको बारेमा यदि प्रयोगकर्ताबाट केही गुनासो आउँछ भने त्यसको विषयमा छानविन गर्नको लागि यो व्यवस्था गरिएको हो ।

केही समय अगाडि मात्र क्लबहाउसले जातीय भेदभावलगायत अन्य विषयमा भएको दुर्व्यवहारहरुलाई राेक्न केही रुमहरु बन्द गरेको थियो । यो विषयमा भने क्लबहाउसलाई चुनौती भएको छ ।

केही घटनापश्चात क्लबहाउसले पनि रुमहरुको लाइभ अडियो रेकर्ड गर्ने गरेको बताएको छ । अब यस्ता विषयहरुलाई स्पोटिफाईले कसरी सम्बाेधन गर्नेछ भन्ने कुरा चाहिँ आउने दिनमा थाहा हुनेछ ।

हालै सार्वजनिक भएको ग्रिनरुमका लागि आउने दिनमा कम्पनीले संगीत, संस्कृति, मनोरञ्जन र खेलकुद विषयहरुसँग सम्बन्धित नयाँ फिचरहरु सार्वजनिक गर्ने योजना बनाएको छ । 

टेकक्रन्चबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१