close

असार १२ देखि ‘अर्बन बजार’ सञ्चालनमा आउँदै

टेकपाना टेकपाना

असार ७, २०७८ १५:५७

असार १२ देखि ‘अर्बन बजार’ सञ्चालनमा आउँदै

काठमाडौं । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यका साथ असार १२ देखि ‘अर्बन बजार’ सञ्चालनमा आउने भएको छ । कृषकहरुले उत्पादन गरेका तरकारी, फलफूलजस्ता स्थानीय उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यका साथ यसको सुरुवात गर्न लागिएको हो ।

कम्पनीका अध्यक्ष तिलक लामिछानेका अनुसार डिजिटल युगमा दैनिक उपभोग्य सामान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यतालाई कम गर्न डिजिटल हाटबजारका रुपमा ‘अर्बन बजार’ सुरू गर्न लागिएकाे हाे ।

‘किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ र प्याकिङ गरी मूल्य र उपभोग्य मितिसहितको लेबर टाँसेर बजार पठाउँछौं,’ कम्पनीका अर्का सञ्चालक दीपक सिंजालीले भने, ‘अर्गानिक तथा नन-अर्गानिक गरी तरकारी तथा फलफूलको ग्रेडिङ गर्ने र गुणस्तरीय सामग्री ग्राहकलाई उपलब्ध गराइने छ ।’

पोखराका ४ युवा व्यवसायीद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म एक करोड लगानी भइसकेको उल्लेख गरिएको छ । जसमा तरकारीदेखि फलफूल, दुग्धजन्य उत्पादन, स्थानीय उत्पादन, (गुन्द्रुक, मस्यौरा, गाभा, अचार, तामा तथा सुकाएका तरकारीहरु, मासुजन्य आदि उत्पादनहरु), कृषि औजारहरु, पशु आहारहरु, बिउ बिजन, बेर्ना लगायतका वस्तु तथा उत्पादन अर्बन बजारको वेबसाइटमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार अर्बन बजारको मोबाइल एप पनि उपलब्ध हुनेछ, जसमार्फत सजिलै वस्तु अर्डर गर्न सकिने छ । कम्पनीका अनुसार पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको छ र केही समयपछि नेपालभर विस्तार गर्ने याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६