close

भुक्तानी सेवाप्रदायकको लाइसेन्स लिएका छैनौं – एनसेल

टेकपाना टेकपाना

असार ७, २०७८ १७:४४

भुक्तानी सेवाप्रदायकको लाइसेन्स लिएका छैनौं – एनसेल

काठमाडौं । दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी कम्पनी एनसेल आजियाटा लिमिटेडले हालसम्म आफूले भुक्तानी सेवाप्रदायकाे अनुमति नपाएको स्पस्ट पारेकाे छ । यसअघि चालू आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले एनसेल र नेपाल टेलिकमले भुक्तानी सेवाप्रदायकको लागि अनुमति प्राप्त गरिसकेको उल्लेख गरेका थिए ।

तर, उक्त सर्वेक्षणमा प्रस्तुत गरिएको तथ्याङ्क भने गलत सावित भएको छ । एनसेलले हालसम्म भुक्तानी सेवा प्रदायकको लागि कुनै अनुमति नपाएकाे स्पस्ट पारेकाे छ । यतिसम्म कि भुक्तानी सेवा प्रदायकको लागि आवश्यक पर्ने सहायक कम्पनी समेत हालसम्म नभएको एनसेलले जनाएकाे छ ।

‘एनसेलले भुक्तानी सेवाप्रदायकको रुपमा काम गर्नका लागि तयारी स्वरुप आफ्नो प्रवन्ध पत्र संशोघन गरी २०७३ साउनमा कम्पनी रजिस्टारको कार्यालयमा अद्यावधिक गराउन नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष ‘नो अब्जेक्सन’ माग गरेको थियो,’ एनसेलले भनेको छ, ‘त्यसबेला भुक्तानी सेवाप्रदायकको व्यवसायिक नियमनमा स्पस्ट अभावले गर्दा एनसेलले माग गरेको ‘नो अब्जेक्सन’ लामो समयसम्म रोकियो ।’

त्यसपश्चात २०७६ साल वैशाख ६ गते प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच भुक्तानी सेवा प्रदायकको लागि समझदारी पत्रमा हस्ताक्षर भयो । उक्त सम्झौतापछि नियमनको पाटोमा स्पष्टता आयो । त्यसपछि प्राधिकरणले २०७६ असारमा २ गते एनसेललाई सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवाप्रदायकको व्यवसाय गर्न स्वीकृती प्रदान गरेको थियो ।

जसमा नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर सहायक कम्पनी खोली त्यसबाट मात्रै भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने शर्त राखिएको थियो । तर, हासम्म एनसेलले कुनै सहायक कम्पनीसमेत नखोलेको जनाएको छ ।

‘सन् २०१६ देखि एनसेलले भुक्तानी सेवाप्रदायकको काम गर्न उत्सुक्ताका साथ सम्भावना हेरिरहेको छ,’ एनसेलले भनेको छ, ‘तर, अन्य व्यवसायिक प्राथामिकताका कारण भुक्तानी सेवाका सम्बन्धमा हालसम्म कुनै निर्णय लिएको छैन । यस्तोमा एनसेलले भुक्तानी सेवापद्रायकको लागी अनुमति पाएको भन्ने समाचार गलत हो ।’

एनसेललाई भुक्तानी सेवाप्रदायकको लाइसेन्स दिएको विषयमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि अस्वीकार गरेका छन् । उनले एनसेल तथा एनसेलको कुनै सहायक कम्पनीलाई हालसम्म अनुमति नदिएको बताए ।

उनले नेपाल टेलिकमको हकमा अनुमति प्रदान भइसकेको भएपनि एनसेलको हकमा भने कुनै निर्णय नभएको स्पस्ट पारे । उनले गत साउनदेखि नै नयाँ कम्पनीका लागि आवेदन लिन बन्द गरिएको समेत बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६