close

नेपालमा क्लिन फिड : टिभीमा रोकिएन विदेशी विज्ञापन

अर्पना आले मगर अर्पना आले मगर

असार ८, २०७८ १०:५

नेपालमा क्लिन फिड : टिभीमा रोकिएन विदेशी विज्ञापन

काठमाडौं । नेपाली विज्ञापन बजारलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सरकारले गत वर्षकाे कार्तिक महिनादेखि क्लिन फिड अर्थात नेपालमा प्रसारण हुने विदेशी च्यानलहरु विज्ञापनरहित बनाउने नियम लागू गरेको थियो । यद्यपि विदेशी च्यानलमा विज्ञापन आउने क्रम जारी नै छ ।

अहिले पनि टेलिभिजनमा छिटफुट रुपमा विदेशी विज्ञापनहरु आइरहेको देख्न सकिन्छ । विशेषगरी हाल चलिरहेको युरो कप र कोपा अमेरिकाका गेमको बीचमा कोकाकोला, अमेजन प्राइम भिडिओ लगायतका विज्ञापनहरु प्रसारण भइरहेका छन् ।

क्लिन फिड लागू गर्नका लागि सरकारले बिज्ञापन बोर्ड पनि गठन गरेको थियो । तर विज्ञापन बोर्ड भने यो विषयमा कुनै रिपोर्ट नआएको बताउँछ । ‘विदेशी विज्ञापन बज्न नदिन हामीले हाम्रो तर्फबाट अनुगमन गरिरहेका छौँ, त्यही पनि कहिले काहिँ छुट्न सक्छ । हामीलाई यस विषयमा कुनै रिपोर्ट भने आएको छैन,’ विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बताए ।

बोर्डले युरोकपको रेकर्ड राखिरहेको बताउँदै हुमागाईले विज्ञापन प्रसारण सम्बन्धी छानविन अगाडि बढाउने जानकारी दिए । ‘नेपाल सरकारले नीति बनाइसकेपछि त्यसको उल्लंघन भएमा हामीले कारबाही गर्नैपर्छ । हामीले अनुगमन त गरिरहेका छौँ । त्यो गर्दागर्दै पनि कतै विज्ञापन प्रसारण भइरहेको छ भने छानबिन गरेर कारबाही हुनेछ,’ उनले बताए ।

राष्ट्रिय केबल व्यवसायी महासंघका अध्यक्ष सुधिर पराजुली भने अझै पनि क्लिन फिड पूर्णरुपमा लागू भइनसकेको बताउँछन् । ‘धेरैजसो च्यानलहरुमा यो लागू भएपनि केही च्यानलहरुमा लागू हुन सकेको छैन,’ उनले थपे, ‘टेलिभिजनहरुको आम्दानीको स्रोत भनेको नै विज्ञापन हो र यदि विज्ञापन नै प्रसारण गर्न पाइदैन भने उनीहरु च्यानलमा लगानी गरेर नेपालमा किन देखाउँछन् । त्यसले गर्दा केही च्यानलहरुको प्रसारण नै रोकिएको पनि छ नेपालमा ।

उनका अनुसार केही च्यानलहरुलाई मनाउन सकिए भने केही च्यानलहरुलाई अझै मनाउन सकिएको छैन । जसले गर्दा क्लिन फिड पूर्णरुपमा लागू भएको बताउन सकिदैँन, उनले भने ।

कहिले काहिँ प्रसारण भइरहेको च्यानलमा भने प्राविधिक समस्याका कारण विज्ञापन देखिने उनी बताउँछन् । ‘विज्ञापन प्रसारण गर्ने कुरामा आर्टिफिसियल इन्टिलजेन्स प्रविधिको प्रयोग भएको हुन्छ । जसले गर्दा कहिले काहिँ सो प्रविधिले नयाँ विज्ञापनहरु पत्ता लगाउन नसक्दा त्यो छुट्टिएर प्रशारण हुन जान्छ,’ उनले भने, ‘पुराना बजिरहेका विज्ञापनभन्दा नयाँ विज्ञापन आयो भने छुट्टाउन नसक्दा त्यो स्वत: रुपमा प्रसारण हुन जान्छ ।’

गत अक्टोबर २४ विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो ।

क्लिनफिडले विदेशी च्यानलमा बज्ने विज्ञापन रोक्न भनेपनि केही भारतीय च्यानलमा विज्ञापन बजिरहेकाे छ । त्यस्तै सोही कानूनको अर्को प्रावधानमा नेपालमा विदेशी विज्ञापनलाई डबिङ गरेर बजाउने नपाइने उल्लेख छ ।

ऐनको दफा ६ को उपदफा ६ मा भनिएको छ, ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइनेछैन ।’

यसरी ऐनमै नेपाली च्यानलले डबिङ विज्ञापन बजाउन नपाउने भनी उल्लेख गरेको भएतापनि उक्त व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन ।

अझै पनि धेरै नेपाली च्यानलमा भारतीय कलाकारले खेलेको विज्ञापनमा नेपाली भाषा प्रयोग गरेर बजाइरहेको विज्ञापन प्रसारण हुने गरेकाे छ ।

यसरी खुलेआम डबिङ विज्ञापन बज्नु सरकारकै कमजोरी भएको व्यवसायी बताउँछन् । एक व्यवसायीले भने, ‘सरकार कानून ल्याउँछ तर, त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने कुरामा सधै चुक्दै आएको छ । हाेइन भने सरकारले यसको अनुगमन गरेर तत्कालै यसलाई बन्द गर्न निर्देशन दिन सक्छ ।’

अर्काेतर्फ विज्ञापन बाेर्डले बारम्बार अपरेटरहरूलाई सूचनामार्फत सचेत गराएपनि कार्यान्वयनमा अपरेटरहरूले अवज्ञा गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६