close

चीनको प्रतिबन्धपछि बिटक्वाइनकाे मूल्यमा भारी गिरावट

टेकपाना टेकपाना

असार ८, २०७८ २१:४२

चीनको प्रतिबन्धपछि बिटक्वाइनकाे मूल्यमा भारी गिरावट

काठमाडौं । चीनले क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्य खस्कँदै गएको छ । सोमबार बिटक्वाइनको मूल्यमा गएको दुई हप्तामा सबैभन्दा धेरै गिरावट आएको छ । चीनले बिटक्वाइन माइनिङ (उत्खनन्) मा कडाई गरेसँगै लगानीकर्तामाझ क्रिप्टोकरेन्सीको भविष्यबारे अन्यौल हुँदा बिटक्वाइनको मूल्यमा थप गिरावट आएको हो ।

मूल्यमा गिरावट आएसँगै सोमबार बिटक्वाइनको मूल्य १०.७ प्रतिशतले घटेर ३१ हजार ३३३ अमेरिकी डलर पुगेको छ । बितेको ६ दिनमा बिटक्वाइनको मूल्य करिब २० प्रतिशतले घटेको छ । अप्रिल महिनासम्म बिटक्वाइनको मूल्य करिब ६५ हजार डलर पुगेको थियो ।

पछिल्लो समयमा चीनले क्रिप्टोकरेन्सी प्रयोगमा कडाई गरिरहेको छ । गत शुक्रबारमात्र चीनको सिचुवान प्रदेशमा बिटक्वाइन माइनिङ प्रोजेक्टहरुमा प्रतिबन्ध लगाएको थियो । गत महिना चीनको प्रादेशिक मन्त्रिपरिषदले वित्तीय जोखिमको कारण देखाउँदै बिटक्वाइन माइनिङमा रोक लगाएको थियो ।

साेमबार चीनको केन्द्रीय बै‌कले एक सूचना जारी गर्दै बैंक, भुक्तानीका अन्य माध्यम, अलि पे, चाइना कन्सट्रक्सन बैंकलगायतलाई क्रिप्टोकरेन्सीमा कारोबार नगर्न निर्देशन दिएको थियो ।

“मान्छेहरु अझै पनि चीनका गतिविधिहरुले बजारमा सिर्जना गर्ने अनिश्चतताको विषयमा कडारुपमा प्रतिक्रिया देखाउँछन्, जसले गर्दा पनि बिटक्वाइनको मूल्यमा नकारात्मक असर परिरहेको छ,’ क्रिप्टोहपरका प्रमुख कार्यकारी अधिकृत रुड फ्लेटक्याम्पले बताए ।

आफ्नो क्रिप्टोकरेन्सीको बजारमा प्रतिस्पर्धा कम गर्न चीनले हर सम्भव प्रयास गरिरहेको बताउँदै रुडले भने, ‘सायद आउने दिनहरुमा लगानीकर्ताहरु चीन छोडेर अन्यत्र लाग्नेछन् ।’

क्रिप्टोकरेन्सीको सही तथ्याङ्क खासै नभए पनि क्याम्ब्रिज विश्वविद्यालयले गत वर्ष सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार विश्वव्यापी रुपमा चीनको बिटक्वाइनको हिस्सा ६५ प्रतिशत थियो ।

जसमा सिचुवान प्रदेश दोस्रो ठूलो उत्पादकको रुपमा उल्लेख गरिएको थियो । सम्पत्तिको आधारमा चीनको तेस्रो ठूलो बैंक एग्रिकल्चर बैंक अफ चाइनाले पिुपलस् बैंक अफ चाइनाको निर्देशन लागू गर्दै आफ्ना सेवाग्राहीहरुलाई क्रिप्टोकरेन्सी प्रयोगमा कडाई गरिरहेको बताए ।

त्यस्तै अलि पेले पनि विज्ञप्ती जारी गर्दै क्रिप्टोकरेन्सीमा हुने गैरकानूनी कारोबारलाई अनुगमन गर्न छुट्टै प्रविधिको व्यवस्था गरेको बताएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६