close

युरोकप चलिरहँदा टेलिभिजनको स्क्रिनमा किन आउँछन् अनेक नम्बर ?

टेकपाना टेकपाना

असार ९, २०७८ ११:५३

युरोकप चलिरहँदा टेलिभिजनको स्क्रिनमा किन आउँछन् अनेक नम्बर ?

काठमाडौं । अहिले मिनी विश्वकप मानिने युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता जारी छ । यस्तो बेला टेलिभिजनका दर्शक निकै बढेका छन् । टेलिभिजन हेरिरहँदा तपाईंले बीच बीचमा देखिने विभिन्न किसिमका नम्बरहरु ख्याल गर्नुभएकै होला ।

के तपाईंलाई थाहा छ, आखिर टेलिभिजन स्क्रिनमा बेला बेलामा यसरी नम्बरहरु किन देखाइन्छ ? वास्तवमा यसरी देखिने नम्बर ट्र्याकिङ गर्न सजिलो होस् भनेर राख्ने गरिन्छ ।

हुन त इन्टरनेटभन्दा धेरै पहिलेदेखि हामीले टेलिभिजन हेर्दै आएका छौं । तर जब इन्टरनेट आयो, त्यसपछि मानिसहरुले पाइरेसी अर्थात भिडिओ सामग्री चोरी गर्न थाले । सामान्यतया टेलिभिजनमा देखाइने सबै च्यानल तथा कार्यक्रमका लागि प्रयोगकर्ताले पैसा तिर्ने गरेका हुन्छन् ।

त्यो पैसा केबल सेवाप्रदायकमार्फत टेलिभिजन च्यानल अर्थात प्रसारकमार्फत फिल्म, सिरियल वा खेलकुदका सामग्री उत्पादक समक्ष पुगिरहेको हुन्छ । यसको अर्थ टेलिभिजन कन्टेन्ट त्यसको मूल्यसँग जोडिएको हुन्छ ।

तर इन्टरनेटमा भने त्यसो हुँदैन । तपाईं हामीले इन्टरनेट सेवाका लागि तिर्ने शुल्कमा इन्टरनेट कन्टेन्टको मूल्य समावेश हुँदैन । यदि पैसा तिरेर हेर्नुपर्ने सामग्री छ भने त्यस्ता सेवाप्रदायकलाई हामीले छुट्टै रुपमा शुल्क भुक्तान गर्नुपर्ने हुन्छ ।

नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटीलाई त्यसको उदाहरण मान्न सकिन्छ । तर तपाईं हामीले प्रयोग गरिरहेको फेसबुक, युट्युव जस्ता माध्यम प्रयोग गरेवापत भने हामीले ती कम्पनीलाई पैसा तिर्नुपर्दैन ।

यस्तोमा टेलिभिजन कन्टेन्ट पाइरेसी गरेर इन्टरनेटमा राख्ने प्रवृत्ति बढ्यो । आफ्नो वेबसाइटमा टेलिभिजन कन्टेन्ट प्रसारण गरेर आम्दानी गर्न खोज्नेहरु धेरै हुन्छन् । जुन टेलिभिजन कन्टेन्ट उत्पादन तथा बिक्री गर्नेलाई घाटाको विषय हो ।

यसरी इन्टरनेटमा हुने पाइरेसीलाई रोक्न टेलिभिजन च्यानलको स्क्रिनमा छिन छिनमा नम्बर देखाउन थालियो । यस्तोमा जब कुनै टेलिभिजन सामग्रीलाई कसैले इन्टरनेटमा लाइभ स्ट्रिमिङ गर्छ भने कतिखेर त्यस्तो नम्बर आउँछ, थाहा पाउन सक्दैन ।

टेलिभिजन प्रसारक वा सामग्री उत्पादकले त्यही नम्बरको आधारमा कुन प्रयोगकर्ताले कुन कम्पनीको केबल वा डिश लगाएको छ र कहाँबाट त्यसरी पाइरेसी गरिरहेको छ भन्ने कुरा तत्काल पत्ता लगाउन सक्छन् ।

यस्तोमा पाइरेसीमा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकिने भयो । यसले लाइभ स्ट्रिमिङको समयमा हुने पाइरेसी घटाएको छ र कानूनी तवरबाट मात्र त्यस्तो सामग्री हेर्ने प्रचलन बढाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६