close

मोबाइल र इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता बढ्दै, यस्तो छ पछिल्लो तथ्याङ्क

टेकपाना टेकपाना

असार १०, २०७८ १३:५

मोबाइल र इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता बढ्दै, यस्तो छ पछिल्लो तथ्याङ्क

काठमाडौं । प्रविधिको विकाससँग सबैभन्दा नजिक रहेर बैंकिङ क्षेत्र अगाडि बढिरहेकाे छ । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा वित्तीय संस्थालाई नै जान्छ ।

प्रविधिको बैंकिङ पाटोलाई फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिन्ने गरिन्छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ तथा वित्तीय क्षेत्रले खेलेको भूमिका निश्चय नै सराहनीय छ ।

अझ कोभिड–१९ ले यसमा मलजल गर्‍यो भन्दा फरक नपर्ला । कोरानाको महामारी सुरु भएसँगै विभिन्न चरणमा लकडाउन र निषेधाज्ञा जारी भएको छ । सामाजिक दुरी कायम गर्नुपर्ने, घरमै बस्नु पर्ने भएकाले कोरोना महामारीको बीचमा डिजिटल कारोबारले सबैभन्दा बढी प्रोत्साहन पायो ।

जसले गर्दा नेपालको डिजिटल कारोबारमा थप १० वर्ष लाग्ने काम यो दुई वर्षको अवधिमा भएको व्यवसायी बताउँदै आएका छन् । हुन पनि हो, आज हामी समान्य किराना पसलमा पनि डिजिटल माध्यममार्फत भुक्तानी गरिरहेका छौंं ।

यसरी विस्तारै सबै कारोबार डिजिटल हुँदै गर्दा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता बढ्दै जानु स्वभाविक पनि हो । नेपाल राष्ट्र बैंकले जारी गरेको गत चैतसम्मको तथ्याङ्क हेर्ने हो भने मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ३५ लाख ९१ हजार पुगेका छन् । त्यसमध्ये एक करोड ७ लाख ८६ हजार मोबाइल बैकिङ प्रयोगकर्ता सक्रिय रहेको जनाइएको छ ।

जुन चालू आर्थिक वर्ष २०७८/०७९ को साउन महिनाको तुलनामा उल्लेख्य वृद्धि हो । तथ्याङ्कअनुसार गत साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड १४ लाख ३ हजारको हाराहारीमा थिए । त्यसबेला सक्रिय प्रयोगकर्ताको संख्या ८८ लाख ३७ हजार थिए । जुन चैत महिनासम्म आइपुग्दा २१ लाख ८८ हजारले वृद्धि भएको छ ।

राष्ट्र बैंकको उक्त तथ्याङ्कअनुसार गएको भदौ महिनामा मोबाइल बैंकिङका सक्रिय प्रयोगकर्ता ८९ लाख १० हजार रहेका छन् । त्यस समयमा मोबाइल बैंकिङ लिने कूल संख्या भने एक करोड १६ लाख २७ हजारभन्दा बढी रहेको देखिएको छ ।

यसरी मोबाइल बैंकिङमा निरन्तर रुपमा बढ्दै आएको सक्रिय प्रयोगकर्ता फागुनमा आएर एक करोडको आँकडा छुन सफल भएको देखिन्छ । तथ्याङ्कअनुसार फागुनमा मोबाइल बैंकिङका सक्रिय प्रयोगकर्ता एक करोड ५ लाख पुगेको छ । जतिबेला मोबाइल बैंकिङ सेवा लिने प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख २७ हजार रहेका थियो ।

अर्कोतर्फ इन्टरनेट बैकिङमा पनि सक्रिय प्रयोगकर्ता निरन्तर रुपमा बढी रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको सुरुवातमा मोबाइल बैंकिङ लिनेको संख्या १० लाख २५ हजारभन्दा बढी रहेको थियो ।

त्यसमध्ये ६ लाख ४२ हजार सक्रिय प्रयोगकर्ता रहेका थिए । जुन भदौमा वृद्धिहुँदै कूल संख्या १० लाख ४० हजार र सक्रिय प्रयोगकर्ता ६ लाख ४६ हजार पुगेको देखिन्छ ।

निरन्तर बढिरहेका इन्टरनेट प्रयोगकर्ता चैतमा आइपुग्दा उल्लेख्य वृद्धि भएको देखिन्छ । तथ्याङ्कअनुसार चैतसम्म कुल ११ लाख २२ हजार ८ सय ८८ जनाले इन्टरनेट बैंकिङ सेवा लिएका छन् । त्यसमध्ये ७ लाख ७२ हजार सक्रिय प्रयोगकर्ता रहेको देखाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६