close

सबै होस्टिङ बाहिर हुँदा नेपालले ठूलो मूल्य चुकाउँदै छ

टेकपाना टेकपाना

असार १०, २०७८ १८:६

सबै होस्टिङ बाहिर हुँदा नेपालले ठूलो मूल्य चुकाउँदै छ

सरकारको निर्देशनमा केही समय अघि हामीले नेपालमा पोर्नोग्राफिक कन्टेन्टमाथि प्रतिबन्ध लगायौं । तर यसरी हामीले प्रविधि नै बन्द गर्नु हुँदैन । हामीसँगै इन्टरनेटमा हुने कन्टेन्ट (सामग्री) का लागि राष्ट्रिय स्तरमा कुनै नीति नै छैन । हामीले सरकारको सामान्य नीति अनुसार देश हीत विपरितका तथा अश्लीलता फैलाउने लगायतका सामग्रीमा रोक लगाउँदै आएका छौं ।

तर प्रयोगकर्ताले चाहेको खण्डमा त्यस्ता सामग्रीमा जताबाट पनि पहुँच बनाउन सक्छन् । इन्टरनेटमा कन्टेन्ट रोक्न सकिने विषय होइन । हामीले सोझो बाटोमा रोक्यौं, तर घुमाउरो बाटोबाट त्यस्ता सामग्री आइरहेका हुन्छन् ।

पोर्नोग्राफीमाथि रोक लगाउँदा सुरुमा त केही कम अवश्य भएकै हो । तर क्रमशः जस्ताको त्यस्तै अर्थात पुरानै अवस्थामै फर्कियो । हामीले जुन प्रविधि प्रयोग गरेर इन्टरनेटमा पोर्नोग्राफी रोक्न खोजिरहेका छौं, त्यसले खासै फरक पर्दैन । 

अहिले हामीकहाँ फेसबुक, युटयुव, आकामाई, क्लाउड फ्लेयरका कन्टेन्टका लागि लोकल सर्भर राखेका छौं । त्यस्ता सामग्री वर्डलिङ्कमै सबैभन्दा धेरै छन् । अन्य सेवाका लागि समेत क्याश सर्भर राख्ने प्रक्रिया जारी छ । त्यस्तै केहीको हकमा प्रोक्सी सर्भर राखेर पनि काम चलाइरहेका छौं ।

इन्टरनेट कन्टेन्ट भनेकै सूचना हो । जोसँग धेरै कन्टेन्ट छ, त्यो नै अहलेको समयमा सबैभन्दा धनी हुने अवस्था छ । हामी त्यसमा निकै पछाडि छौं । लोकल कन्टेन्टको कुरा गर्दा समाजको आफ्नै स्थानीय भाषामा बनेका सामग्रीको कुरा पनि आउँछ । जसलाई हामीले आफ्नै भूभागमा होस्ट गरेर राख्छौं । त्यसैले हाम्रो आफ्नो कन्टेन्ट स्थानीय रुपमा नै होस्ट गर्नुपर्छ । 

यसमा कन्टेन्ट तयार गर्ने, त्यसलाई संरक्षण गर्ने, प्रसारण गर्ने र त्यसको उपयोग गर्ने  सबै विषयहरु जोडिएर आउँछन् । हाम्रा सम्पदा, प्राकृतिक संसाधन, संस्कृति, यति धेरै छन् कि हामीले त्यसमा रहेर पर्याप्त रुपमा कन्टेन्ट बनाउन सक्छौं ।

तर हामीले हाम्रा जनताका लागि सान्दर्भिक हुने कन्टेन्ट त्यति धेरै सिर्जना गर्न सकिरहेका छैनौं । नेपालमा सुरुवाति समयमा जब इन्टरनेट आयो, त्यतिखेरका कन्टेन्ट सबै डायलअपबाटै एक्सेस गरिन्थ्यो । क्रमशः जसरी कन्टेन्ट बढ्दै आए, नेटवर्क पूर्वाधार पनि त्यसैगरी विकास भयो । नेटवर्क पूर्वाधार र कन्टेन्टको सोझो सम्बन्ध हुन्छ ।

सेवाको मूल्य निर्धारणमा पनि त्यसको महत्वपूर्ण हात रहन्छ । यी सबै एक अर्कासँग अन्तरसम्बन्धित विषय हुन् । पहिले अन्तर्राष्ट्रिय ब्याण्डविथ धेरै मात्रामा प्रयोग हुन्थ्यो । तर अहिले हामीले लोकल क्याश सर्भर होस्ट गरेर अन्तर्राष्ट्रिय ब्याण्डविथमाथिको निर्भरता घटाउन सफल भएका छौं ।

अन्तर्राष्ट्रिय ब्याण्डविथमाथिको ८० प्रतिशत चापलाई हामीले लोकलमा ल्याइ सकेका छौं । जसले गर्दा इन्टरनेट ब्याण्डविथको लागत र मूल्य पनि घटेको छ । कन्टेन्ट देश बाहिर हुनु भनेको लेटेन्सी पनि बढ्नु हो र प्रयोगकर्ताले महसुस गर्ने अनुभव पनि नराम्रो हुनु हो ।

त्यसैले हामीले अधिकांश कन्टेन्ट नेपालमै राख्नुपर्ने हुन्छ । तर अहिले नेपालसँग आफ्नो कन्टेन्ट नै छैन भन्दा हुन्छ । अरुले बनाएका कन्टेन्टमा केही प्राविधिक समस्या र चुनौतीहरु पनि हुन्छन् । सुरु सुरुमा हामीलाई भाषाको पनि समस्या थियो ।

तर अहिले हामी देवनागरी लिपिमा कन्टेन्ट राख्न सक्ने भएका छौं । त्यसैले अब स्थानीय कन्टेन्टलाई कसरी प्रवर्द्धन गर्ने भन्ने तर्फ सरकारको ध्यान जानै पर्छ । नेटवर्कको क्षेत्रमा सरकारले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर राम्रो प्रयास गरेको छ ।

पूर्वाधार कम्पनी खोलेर त्यसतर्फ गएको भए अझ राम्रो हुने थियो । तर कन्टेन्ट तयार पार्ने र त्यसलाई होस्ट गर्ने विषयमा भने हामी निकै कमजोर अवस्थामा छौं । त्यसैले नेपालको आफ्नै कन्टेन्ट कसरी विकास गरेर लैजाने भन्नेतर्फ बेलैमा सोच्नैपर्ने देखिन्छ ।

नेपालमै  कन्टेन्ट सिर्जना भयो भने त्यसले स्वभावतः अन्तर्राष्ट्रिय ब्याण्डविथ माथिको निर्भरता घटाउँछ । स्थानीय ओटीटी प्लेटफर्महरुको प्रयोग विस्तारै बढ्दै गएको छ । जसले गर्दा नेपाल इन्टरनेट एक्सचेञ्जमा पनि अहिले ट्राफिक बढ्दै गएको देखिन्छ ।

अबको समयमा इन्टरनेट एक्सचेञ्जलाई अझ राम्रोसँग सञ्चालन हुने वातावरण बनाउन जरुरी छ । साथै यसलाई काठमाडौं बाहिर समेत विस्तार गर्नुपर्ने आवश्यकता छ । ओटीटी कन्टेन्ट फिक्स ब्रोडब्याण्डमा मात्र होइन, मोबाइल नेटवर्क भएर समेत जाने गर्दछ ।

त्यसका लागि अहिले नेपाल टेलिकमले देशभरका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरिरहेको छ । अर्कोतर्फ अप्टिकल फाइबरको विस्तार समेत त्यसैगरी भइरहेको छ । यद्यपी जुन गतिमा सेवा विस्तार हुनुपर्ने हो, त्यो तहमा त हुन सकेको छैन ।

कोभिडले गर्दा त्यसमा थप ढिलाई भइरहेको छ । अर्कोतर्फ इन्टरनेट एक्सचेञ्ज जस्तै डेटा सेन्टरहरु समेत बनाउनुपर्ने आवश्यकता उत्तिकै छ । डेटा सेन्टर तथा डेटा एग्रिगेटरले नेपालमा कस्तो किसिमको डेटाको माग छ भन्ने कुरा बुझ्नुपर्ने देखिन्छ । बजारसँगै डेटा सेन्टरको तालमेल मिलाएर लैजान सकियो भने हामीले थप राम्रो प्रगति गर्न सक्छौं ।

यहाँ सबैभन्दा ठूलो चुनौति भनेकै प्राविधिक सीपकै हो । त्यसमा पनि सरकारले सहजीकरण गरिदिनुपर्छ । कन्टेन्टका लागि सरकारको आफ्नो स्पष्ट नीति बनाउनै पर्छ । नेपालमा जति पनि समाचार सामग्रीहरु छन्, त्यसलाई वैकल्पिक रुपमा जहाँसुकै राखेपनि प्राथमिक रुपमा नेपालमै रहने वातावरण मिलाउनुपर्ने आवश्यकता देखिन्छ ।

डेटा सेन्टरसँगै त्यसमा राख्ने  इन्टरनेट कन्टेन्ट जति सिर्जना हुन्छ, सँगसँगै त्यसको सुरक्षाको प्रश्न पनि जोडिएर आउँछ । यो भनेको तहगत रुपमा थप अथवा सुधार गर्दै लैजान सकिने विषय हो । त्यसैले हामीले जतिसक्दो चाँडो लोकल होस्टिङलाई प्रवर्द्धन गर्नुपर्ने देखिन्छ । 

टेलिकमले पनि धेरै पहिला देखि डेटा सेन्टरमा काम गर्न खोजिरहेको छ । तर त्यो हुन सकेन । हाम्रो आफ्नै डेटा यतिधेरै छ कि, त्यसैले हाम्रो डेटा सेन्टर भरिएको छ । हामीले कोलोकेसनबाट पब्लिक डेटा होस्टिङ गर्न समेत खोजेका थियौं । त्यो पनि सफल हुन सकेन ।

अहिलेको अवस्थामा भने सार्वजनिक डेटा राख्नेगरी डेटा सेन्टर बनाउने विषयमा टेलिकमले सोचिसकेको छैन । बजारमा निजी तथा सार्वजनिक डेटा सेन्टर थुप्रै बनिसकेका छन् । नेपालमा कुनै पनि डेटा सेन्टरमा कन्टेन्ट होस्ट गरिएको छ भने एनपीआईएक्सबाट त्यो स्थानीय कनेक्टिभिटीमा आइहाल्छ । 

तर मूख्य विषय लोकल कन्टेन्टकै हो । यसलाई प्रवर्द्धन गर्ने सरकारको नीति नै भएन । देश बाहिर कन्टेन्ट होस्ट गर्दा सस्तो पर्छ । त्यसले नै धेरैले बाहिरका डेटा सेन्टरलाई नै प्राथमिकतामा राखिरहेका छन् । तर बाहिर होस्ट गर्दा त्यो इन्टरनेसनल ब्याण्डविथको रुपमा आउँछ ।

बाहिर होस्ट गर्दा हामीले जति सस्तो पर्छ, त्यसभन्दा कयौं गुणा धेरै पैसा मुलुकले चुकाउनु परिरहेको छ । यहाँ जति पनि होस्टिङ कम्पनीहरु छन्, उनीहरुले होस्टिङका लागि आवश्यक स्पेस त दिन सक्छन् । 

तर, मूल्य, सुरक्षा र उपलब्धताहो हिसाबले बाहिरकै सेवाप्रदायक अगाडि छन् । तर कनेक्टिभिटीको लिङ्कमा साँघुरोपन हुँदा त्यसको पहुँचमा कहिलेकाहिँ समस्या आइरहेको हुन्छ । साथै लेटेन्सीको विषय पनि त्यसमा जोडिएको हुन्छ ।

समाचार माध्यमहरु मात्र होइन, अहिलेको समयमा ईमेल सर्भर समेत देश बाहिरै होस्ट गरिएका  छन् । जुन दिनमा एक जनाले बढीमा १० पटक एक्सेस गर्छ । धेरै इन्टरप्राइजको होस्टिङ पनि देश बाहिर नै छ । त्यो राम्रो पक्ष होइन । त्यसैले नेपालमै होस्ट गर्नेतर्फ हामीले ध्यान दिन जरुरी छ । 

पहिला काठमाडौंको कूल ट्राफिक र उपत्यका बाहिरको ट्राफिक करिब करिब बराबर नै हुने गर्दथ्यो । अहिले काठमाडौं उपत्यकामा ४० प्रतिशत र बाहिर ६० प्रतिशत इन्टरनेट खपत भइरहेको छ । 

 तर अहिले ब्रोडब्याण्ड गाउँ गाउँसम्म पुगेपछि ट्राफिकको ढाँचा नै परिवर्तन भएको छ । पहिला पूर्वमा बढी थियो भने जति जति पश्चिम गयो, त्यति त्यति कम हुँदै जाने गर्दथ्यो । अहिले त्यसमा पनि परिवर्तन देखिँदैछ । पहिला सबै इन्टरनेट सेवाप्रदायकहरु काठमाडौंमा नै केन्द्रित थिए ।

उनीहरु काठमाडौंमा मात्र एकआपसमा जोडिएको अवस्था थियो । उपत्यका बाहिरका सेवाप्रदायकले विस्तारै इन्टरनेट एक्सचेञ्ज स्थानीय रुपमा समेत तयार पार्नुपर्ने माग गरिरहेका छन् । त्यहाँको राउटर र स्विचलाई काठमाडौंमा पनि जोड्नुपर्ने आवश्यकता छ ।

धेरै डेटा र लोकल साइट काठमाडौंमै होस्ट गरिएको अवस्था छ । काठमाडौंको नेटवर्कमा नजोडिँदा उनीहरुले यहाँ भएको क्याश समेत प्रयोग गर्न सकिरहेका छैनन् ।

(नेपाल टेलिकमका उपप्रबन्धक बिमलेश झाले टेकपानाको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा व्यक्त गरेको विचारको सम्पादित अंश )

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६