close

नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन

टेकपाना टेकपाना

असार १०, २०७८ १८:२१

नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । बुधबार बिहान करिब साढे दुई घण्टा नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भयो । यसरी सेवा अवरुद्ध हुँदा कम्पनीका ग्राहक सेवाबाट वञ्चित भएका थिए । भने, कम्पनीले करोडौं आम्दानी गुमाउन पुगेको छ ।

दुई घण्टाभन्दा बढी समयसम्म सेवा अवरुद्ध भएपछि उक्त विषयबारे अध्ययन गर्न सञ्चालक समितिले उच्चस्तरीय छानविन समिति गठन गरेको छ । टेलिकमका अध्यक्षसमेत रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबार साँझ नै उक्त समिति गठन गरेको स्रोतले जनाएको छ ।

यसअघि टेलिकमले आन्तरिकरुपमा सानो छानविन समिति गठन गरेको थियो । तर, त्यसरी आन्तरिक रुपमा हुने छानविनबाट कुनै परिणाम नआउने भन्दै नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले आवाज उठाएकाे थियाे ।

संगठनले उक्त घटना नियोजित ढंगबाट संस्थालाई धराशायी बनाउने योजना भएको आरोप लगाउँदै यो विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग राखेकाे थियाे । संगठनले बुधबार कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याललाई ज्ञापनपत्र बुझाएको थियो ।

त्यसैका आधारमा सञ्चालक समितिका अध्यक्ष बस्यालले बुधबार नै टेलिकमका सीसीओ प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति गठन गरेका हुन् ।

साे समितिमा पुल्चोक इन्जिनियरिङको तर्फबाट एक जना प्राविधिक, मन्त्रालयका एक जना प्राविधिक, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकाे तर्फबाट एक जना प्राविधिक, टेलिकमका उप–प्रबन्धक केपी भण्डारी, आन्तरिक लेखा परीक्षण विभागकी चाटर्ड अकाउन्टेन्ट शुभा कायस्थ सदस्य रहेका छन् ।

समितिलाई छानविनका लागि सात दिनको समय दिइएको छ । समितिले के कारणले उक्त घटना भएको हो, घटनाको दोषी को हो, त्यसबाट कति क्षति पुगेको छ, क्षति कसले व्यहोर्ने लगायतका विषयमा अध्ययन गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६