close

पठाओ र टुटलमा राइडर पाउनै मुश्किल

अर्पना आले मगर अर्पना आले मगर

असार १४, २०७८ १५:३३

पठाओ र टुटलमा राइडर पाउनै मुश्किल

काठमाडौं । सरकारले निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेसँगै पठाओ र टुटलले राइड शेयरिङ पनि सुरु गरेको हो । निषेधाज्ञा पूर्णरुपमा खुलिसकेको नभए पनि सरकारले केही खुकुलो भने बनाउँदै गइरहेको छ ।

यद्यपि राइड शेयरिङ भने राम्रोसँग सुचारु हुन सकेको छैन । सामान्य अवस्थामा जस्तो राइडर पाइहाल्ने अवस्था भने छैन । निषेधाज्ञाको कारण अरु जस्तै धेरै राइडरहरु पनि उपत्यका बाहिर गएको र अझै पनि नफर्किएका कारण पनि राइडर कम भएको राइड शेयरिङ सञ्चालकहरु बताउँछन् ।

‘निषेधाज्ञाका कारण धेरै राइडरहरु अझै पनि उपत्यकाबाहिर नै छन् । केही फर्किए पनि केही भने फर्किन बाँकी नै छ । यसले गर्दा नि राइडर चाहिँ कम भएको छ,’ टुटलका सीईओ शिक्षित भट्टले बताए ।

पहिलेभन्दा अहिले राइड सञ्चालन कम नै भएको बताउँदै उनले भने अन्य समयमा भन्दा हाल करिब २० देखि ३० प्रतिशत मात्र राइडरहरु सेवामा खटिएका छन् । सबै क्षेत्रहरु राम्रोसँग नखुलेका कारण राइडको माग पनि कम भएको उनको भनाइ छ ।

‘स्कुल, कलेज लगायत सबै कार्यलयहरु पनि खुलेको छैन । यस्तो अवस्थामा राइड शेयरिङ संख्यामा भने कमी आएको छ,’ उनले बताए । स्थिति अझै सामान्य नभइसकेका कारण पनि राइड राम्रोसँग सुचारु हुन नसकेको उनले बताए ।

पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले भने लगभग दैनिक माग भने पुर्‍याइरहेको बताए ।

‘धेरैजसो मानिस उपत्यकाबाहिर छन् भने कसैले घरबाटै काम गरिरहेका छन् । केही क्षेत्रहरु भने अझै खुल्न बाँकी छन् । यसो हुदाँ माग पनि केही हदले कम भएको छ,’ उनले भने, ‘राइडमा समस्या नै आएको भने त छैन । त्यही पनि भएका राइडरहरुले माग पनि घटेका कारण मोटामोटी रुपमा राइडहरु भ्याइरहेका छन् ।’

पठाओ राइडको संख्यामा के कति कमी आएको भन्ने विषयमा चाहिँ अहिले नै केही भन्न नसक्ने उनले बताए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको असार ६ गते बसेको बैठकले ८ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो । जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै राइड शेयरिङ प्लेटफर्म टुटल-पठाओ समेतले सेवा सुचारू गर्न अनुमति पाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५