पछिल्लो समय नेपालमा समेत पब्जी, फ्रि फायर लगायतका पब्जी गेमको क्रेज निकै बढेको छ । अनलाइन गेमिङलाई समयको बरबादीदेखि करियर बिगार्ने कारकको रुपमा लिने प्रवृत्ति समेत उस्तै छ । तर केही समयदेखि पब्जी लगायतका अनलाइन गेमको क्षेत्रमा व्यवसायिक रुपमा नै सक्रिय हुने युवाहरुको संख्या बढ्दै गएको देखिन्छ । डीआरएस नामक टिमले त झन् आधिकारिक रुपमा दर्ता भएरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्नेदेखि लाखौंको पुरस्कार राशी समेत प्राप्त गरिसकेको छ । पब्जीसँग सम्बन्धित यस्तै विविध विषयहरुमा रहेर टेकपानाका लागि अर्पना मगरले डीआरएसका कप्तान अर्थात इन गेम लिडर (आईजीएल) माफिया निञ्जा (उगेन लामा) सँग गरेको कुराकानीको सम्पादित अंशः
तपाईंको पब्जी यात्रा कसरी सुरु भयो, त्यसबारे केही बताइदिनुहुन्छ ?
सुरु सुरुमा त म साथीहरुसँग रमाइलोकै लागि खेल्ने गर्थेँ । साथीले नै मलाई यो गेम खेल्न सिकाएको थियो । एक दुई महिना खेलिसकेपछि भने यसमा पनि प्रतिस्पर्धा हुन्छ भन्ने थाहा पाएँ । कम्पिटेटिभ पनि रमाइलोकै लागि खेल्ने गर्थें ।
तर पछि गएर यसैमा करियर बन्छ वा बनाउँछु भन्ने चाहिँ सोचेको थिइनँ । सबै कुराहरु क्रमशः अगाडि बढ्दै गयो । विस्तारै नयाँ टिममेट र राम्रो खेल्ने खेलाडीहरु भेटिन थाले । त्यसपछि भने आफ्नै टिम बनाएर खेल्न थालेँ । यसैक्रममा पब्जीमै करियर पनि देख्न थालियो ।
मैले गेम खेलेर आम्दानी गर्न थालेको भनेको पनि पब्जी नै हो । हुन त सुरु सुरुमा म ब्याटल रोयल गेम रुल्स अफ सर्भाइभल नामक गेम पनि खेल्ने गर्थें ।
तपाईंले पब्जी खेल्न थालेको चाहिँ कति भयो ?
त्यस्तै १२ कक्षा पास गरेपछि नै हो मैले पब्जी खेल्न थालेको । समयको हिसाबले भन्ने हो भने त्यस्तै साढे दुई वा तीन वर्ष जति भयो होला ।
मोबाइल यसरी पब्जी फ्रिफायर खेलिरहँदा आमाबुबाले छोरो बिग्रियो भनेर गाली गर्ने गरिरहेका पनि हुन्छन् । तपाईंको परिवारको प्रतिक्रिया चाहिँ कस्तो थियो ?
मलाई पनि सुरु सुरुमा त समस्या नै हुन्थ्यो । म राम्रो विद्यार्थी थिएँ । १२ कक्षामा राम्रो अंक आएको थियो । सुरुमा छोराले पढाई बिगार्ने भयो भनेर बुबाआमा केही आँत्तिनु पनि भएको थियो । तर अहिले हामी धेरै माथि पुगिसक्यौं । घरपरिवारबाट पनि राम्रै साथ पाइरहेका छौं ।
पब्जीको कुरा गरिरहँदा यसबाट पढाईमा समस्या हुने कुरा पनि आउँछ । यसमा तपाईंको भनाई चाहिँ के छ ?
आफूले यसमै करियर बनाउँछु भन्ने छ भने त भित्री मनबाटै गर्नुपर्छ । तर मलाई पढेरै केही गर्नु छ भने त गेम खेलेर पनि काम छैन । हामीले चाहिँ गेममै केही गर्ने हो, करियर यसमै बनाउने हो भनेरै अगाडि बढिरहेका छौं । त्यसैले आफूले जिन्दगीमा के गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ ।
तर धेरैको बुझाईमा त यो करियर बिगार्ने कुरा हो, समयको बरबादी मात्र हो भन्ने पनि छ नि !
अरुको विचार हामीले परिवर्तन गर्न सक्दैनौं । तर हामीले यसैबाट आम्दानी गरिरहेका छौं । हाम्रो लागि यो भन्दा ठूलो कुरा अरु के नै हो जस्तो लाग्छ ।
व्यवसायिक रुपमा पब्जी खेल्दा यसमा दिनहुँ कति समय दिनुहुन्छ ?
दैनिक उठेदेखि नसुतेसम्म नै खेलिन्छ भन्दा पनि हुन्छ । आफूलाई मन परेको कुरा हो । त्यस हिसाबले रमाइलो पनि हुन्छ । दैनिक कुरा गर्दा १० देखि ११ घण्टा सम्म यसमा गइरहेको हुन्छ ।
पब्जी खेल्नेहरुको खानेदेखि सुत्ने उठ्ने समय अस्तव्यस्त हुन्छ, नियमित समय तालिका नै हुँदैन भन्छन् नि !
त्यसो पनि होइन । यो सबै आफूमै भर पर्ने कुरा हो । आफैंले आफ्नो समयतालिका व्यवस्थापन गर्न सकिन्छ । तर कहिलेकाहिँ भने एकदमै महत्वपूर्ण गेमहरु हुन्छन् । जसले गर्दा खाना खान पनि केही ढिलो भइरहेको हुन्छ । त्यस बाहेक त सामान्यतया दैनिकी नियमित नै हुन्छ जस्तो लाग्छ ।
लगातार सबैभन्दा लामो कति समयसम्म गेम खेलेको अनुभव छ ?
एउटा टुर्नामेन्ट थियो । गेम सुरु हुने समयकै लागि हामीले २/३ घण्टा कुर्नु परेको थियो । त्यतिखेर ७/८ घण्टा एउटै गेमको लागि गएको थियो ।
तपाईंले पब्जी सुरु गर्नु अघि चाहिँ आफ्नो करियरको विषयमा कुनै सपना देख्नु भएको थियो होला नि ? पब्जी खेलाडी नै बन्छु भन्ने त पक्कै पनि थिएन होला ।
आमा बुबाले जहिले पनि डक्टर बन भन्नुहुन्थ्यो । पढाई पनि राम्रै थियो । ११/१२ कक्षा पछि भने कम्प्युटर इन्जिनियरिङमै केही गर्छु भन्ने सोचेको थिएँ । तर त्यसैबीच यो गेममा जोडिएँ । अनि यसैमा करियर बनाउँदै अगाडि बढिरहेको छु ।
डक्टर बनाउँछु भनेको छोरो पब्जीमा लागेपछि बाबुआमा पक्कै पनि निराश हुनु भयो होला नि होइन ?
त्यस्तो गाली गर्ने भन्दा पनि उहाँहरुले के गरिरहेको भनेर सोध्ने गर्नुहुन्थ्यो । तर अहिले आएर भने सबै कुरा बुझ्नु भएको छ । पैसासँगै मान सम्मान पनि पाइरहेका छौं । बाटो घाटोमा हिँड्दा पनि धेरै मान्छेहरुले हामीलाई चिन्छन् । यो सबै देख्दा उहाँहरु पनि अहिले खुशी नै हुनुहुन्छ ।
बाटोमा हिँड्दा फ्यानहरु भेटिँदाको कुनै त्यस्तो रमाइलो क्षण छ ?
पछिल्लो पटक रंगशालामा नेपालको म्याच हेर्न गएका थियौं । त्यतिखेर पनि हामीलाई धेरै मान्छेले चिन्नु भयो । रंगशालाबाट निस्किँदा निकै भिडभाड थियो ।
त्यस्तो भिडभाडमा रातिको समयमा समेत हामीलाई चिनेर कति जनाले सेल्फी समेत लिने गर्नु भएको थियो । प्रायः यस्तो भइरहेको हुन्छ । त्यतिखेर निकै रमाइलो लाग्छ । आफूले गरिरहेको कामलाई अरुले प्रसंसा गरेर मन पराइदिँदा भित्रै देखि खुशी भइन्छ ।
तपाईंले त ईन गेम लिडर (आईजीएल) को रुपमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत जितिसक्नु भएको छ । यहाँसम्मको उपलब्धी कत्तिको सजिलो थियो ?
पक्कै पनि सजिलो त छैन । तर आफ्नै जस्तो मानसिकता भएका साथीहरुको टिम भएपछि त्यति गाह्रो पनि हुँदैन । सबैको लक्ष्य एउटै भएपछि टपमा पुग्न पनि सजिलै हुन्छ । तर मेहनत भने निकै नै चाहिन्छ । सधैं टपमा बसिरहन पनि निकै संघर्ष गर्नुपर्ने हुन्छ ।
यसलाई रमाइलोको लागि पनि खेल्न मिल्छ । तर पढाईमा असर नपर्नेतर्फ पनि सचेत हुनुपर्छ । पढाई र पब्जीको करियरलाई सँगसँगै अगाडि बढाउन चाहनुहुन्छ भने त्यो तपाईंमा भर पर्ने कुरा हो ।
पब्जीमा गेम एडिक्सनको कुरा पनि हुन्छ भन्छन् । यसकै कारणले कोही पागल भएको अथवा हिंस्रकभएको भन्ने खबरहरु पनि आइरहेका हुन्छन् । यसमा तपाईं के भन्नुहुन्छ ?
मलाई चाहिँ पब्जीकै कारण त्यस्तो हुन्छ जस्तो लाग्दैन । पब्जी पनि कोसँग खेलिरहेको छ र संगत कस्तो छ भन्नेमा पनि त्यस्तो कुरा भर पर्छ ।
पब्जीको विषयमा कुरा गर्दा गेमिङ डिभाइसको विषय पनि जोडिन्छ । अन्य खेलाडीहरुलाई यसमा तपाईंको कुनै टिप्स हुनसक्छ ?
मैले भन्न सक्ने भनेको आफ्नै पब्जीको बारेमा नै हो । यसका लागि एन्ड्रोइड भन्दा पनि आईओएस डिभाइस नै उपयुक्त हुन्छ जस्तो लाग्छ ।
पब्जी लगायतका गेममा थुप्रै पैसा खर्च गरेर स्किन तथा ब्याटल पासहरु किन्ने प्रचलन पनि छ । तपाईंले चाहिँ यस्ता सामग्रीमा कत्तिको खर्च गर्नुहुन्छ ?
पब्जीभित्र त्यस्ता सामग्रीमा मलाई चाहिँ खाशै सौख छैन । तर मेरै टिमका अन्य साथीहरुले नै पनि धेरै नै खर्च गरिरहेको देख्छु । मैले चाहिँ त्यति धेरै खर्च गरेको छैन । अहिलेसम्म पब्जीका लागि त्यस्तै ५०/६० हजार रुपैयासम्म खर्च गरेको हुँला ।
तपाईंले आफ्नो नाम पनि माफिया निञ्जा राख्नु भएको छ । पब्जी खेलाडीहरुले यस्ता अनौठा र नकारात्मक नामहरु चाहिँ किन राख्छन् ?
केही युनिक नाम राखौं भन्ने हुन्छ । मैले पनि त्यसैगरी आफ्नो नाम माफिया निञ्जा राखेको थिएँ । सायद अरुलाई पनि त्यस्तै लाग्छ होला । सुरुमा मेरो नाम निञ्जा सुपर थियो ।
पब्जीमा ह्याकरको बिगबिगी पनि निकै देखिन्छ । तपाईंले गेम खेल्दा कहिल्यै ह्याकरबाट कुनै किसिमको दुःख पाउनु भएको छ ?
प्रायः पब्जीले नै ह्याकरहरुलाई प्रतिबन्ध लगाइरहेको हुन्छ । यस्ता ह्याकरहरुले गर्दा अरु टिमहरुलाई असर परिरहेको हुन्छ । गेम बिग्रिने समस्या हुन्छ । त्यो चाहिँ एकदमै नराम्रो काम हो । कहिले काहिँ ह्याकरले गर्दा हाम्रो पनि गेम बिग्रिरहेको हुन्छ ।
भर्खरै सम्पन्न भएको पीएमपीएल (पब्जी मोबाइल प्रो लिग) मा एउटा टिममाथि ह्याकिङको आरोप लागेको थियो । उनीहरुको गेम प्ले अलिक संकास्पद किसिमको थियो । जसले गर्दा हामीलाई गेममा केही गाह्रो भएको थियो ।
हामीले पब्जीमै भेट भएर लभ परेको देखि बिहे भएको सम्मका खबरहरु सुनिरहेका हुन्छौं । तपाईंको चाहिँ त्यस्तो केही छ कि छैन ?
बिहे त अब गाह्रै छ है । तर कहिले काहिँ पार्टनर भेटिएला भेटिएला जस्तो चाहिँ भइरहेको हुन्छ । पब्जी खेल्दा अनेक मान्छेहरुसँग भेट भइरहेको हुन्छ । म पनि भेटिने प्रक्रियामै छु । भेट्या जस्तो पनि लाग्छ । भोलिको दिनमा के हुन्छ, हेरौं ।
तपाईंको टिममा लामो समयदेखि खेलाडीहरु मिलिर टिकिरहेका देखिन्छन् । तर अरु टिममा त्यस्तो देखिँदैन । यसरी मिलेर टिमलाई अगाडि लैजान कत्तिको सजिलो हुन्छ ?
यो कुरा टिममेटमै भर पर्छ । त्यसका लागि सबैको लक्ष्य एउटै हुनुपर्छ । तपाईंले टिम बनाउँदा मान्छेलाई नै समावेश गर्ने हो । मैले टिम बनाउँदा साथीहरुले भनेको थिएँ, माथि गए पनि सँगै जाने, तल बसे पनि सँगसँगै रहने ।
नछुट्टिनका लागि एक अर्कामाथि प्रतिवद्ध हुनुपर्छ । हाम्रो टिमको लाइनअप लामो समयदेखि एउटै छ । हामी एक अर्काको निकै भरोसा गर्छौं । अब त हामी टिममेट्स मात्र नभएर दाजु भाइ जस्तो भइसक्यौं ।
गेम खेल्दाको समयमा निकै धेरै प्रेसर हुन्छ भन्छन् । त्यो कस्तो अवस्था हुन्छ ? अनि यस्तो बेलामा प्रेसर चाहिँ कसरी ह्याण्डल गर्नुहुन्छ ?
तनाव व्यवस्थापन भन्ने कुरा त सिक्दै जाने र अनुभवको आधारमा अगाडि बढ्दै जाने विषय हो जस्तो लाग्छ ।