ट्रेन्डिङ:
कतै नेपाली प्रयोगकर्ताको डेटा बिक्री त भइरहेको छैन ? ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ? टेलिकमका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा फोटोबाट कसरी हुन्छ साइबर आक्रमण  ? ट्वीटर खरिद गर्न एलन मस्कको नयाँ प्रस्ताव, कम्पनीको सहमति ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ? चर्चित एपहरू नै प्रयोगकर्ताको अनावश्यक डेटा संकलन गर्दै भरपर्दा छैनन् अनलाइन ‘डेट कन्भर्टर’, आउनसक्छ कानूनीको झमेला विन्डोज ११ मा नयाँ अपडेट, पासवर्ड असुरक्षित भए चेतावनी दिने एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था
close

कतै नेपाली प्रयोगकर्ताको डेटा बिक्री त भइरहेको छैन ?

रन्जन कोइराला रन्जन कोइराला

असार १६, २०७८

कतै नेपाली प्रयोगकर्ताको डेटा बिक्री त भइरहेको छैन  ?

काठमाडौं । आफ्नो व्यक्तिगत जानकारी कतिसम्म महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले ख्याल गरिरहेका हुँदैनौ । त्यसैले त हामीले कसैले मोबाइल नम्बर माग्यो, कसैले व्यक्तिगत जानकारी माग्यो भने सहजै उपलब्ध गराउँछाैं ।

त्यसरी उपलब्ध गराइएको जानकारी केका लागि ? यो प्रश्न हामी थोरैले मात्र सोच्ने गरेका छाैं । हामीलाई लाग्छ कि मेरो मोबाइल नम्बर, मेरो नाम, मेरो ईमेल पाएकै भरमा कसैले के नै गर्न सक्छ र ?

होला उसले तपाईंको व्यक्तिगत जीवनमा हानी नपुर्‍याउला । तर, तपाईंले दिएको उक्त डेटामा कसैले व्यापार गरिरहेको हुनसक्छ । किनभने याे डेटाकाे दुनियाँ हाे । जसबाट विश्वलाई नियन्त्रण गर्न सकिने भएकाले डेटाका लागि ठूलाे लडाईं भइरहेकाे छ ।

त्यसैले सोच्नुहाेस् त, नत्र बिहान जुरुक्क उठेर मोबाइल खोल्दा, तपाईं विदेश जान चाहनुहुन्छ ? आउनुहोस् हामी आईईएलटीएस पढाउँछौ, कार किन्न चाहनुहुन्छ ? छुट दिन्छौं भनेर म्यासेज किन आइरहेको छ ?

जसले म्यासेज पठाइरहेको छ, उसले कहाँबाट तपाईंको मोबाइल नम्बर प्राप्त गरिरहेको छ ? हुन सक्छ त्यसमध्ये कतिपय तपाईंले आफ्नो स्वविवेकले नम्बर उपलब्ध गराएका कम्पनीको म्यासेज होलान् । तर, त्यसमध्ये कतिपय तपाईंसँग पूर्णरुपमा असम्बन्धित छन् र पनि तपाईंको मोबाइलमा म्यासेज आइरहको हुन्छ ।

सम्बन्धित कम्पनीबाट आएको म्यासेजले तपाईंलाई त्यति फरक नपार्ला । तर, यदि कुनै कम्पनीसँग तपाईं जोडिनु नै भएको छैन । तपाईंको उक्त कम्पनीसँग कुनै सम्बन्ध नै छैन । तपाईंले त्याे कम्पनीलाई मोबाइल नम्बर दिनुभएको छैन भने उसले कहाँबाट मेराे जानकारी प्राप्त गर्‍याे भन्ने कुरा सोचनीय हुन्छ ।

मोबाइल नम्बर तथा पाँच नम्बरको शर्ट कोडमार्फत आउने यस्ता म्यासेजले धेरै मोबाइल प्रयोगकर्तालाई दिक्कै पार्न थालेको छ ।

हो, सरकारले दिने सार्वजनिक सरोकारका सूचना त्यसरी आउनु स्वभाविक नै मान्न सकिएला । देशका नागरिकलाई दिइने सूचनामा सबैको पहुँच हुनु नै पर्छ ।

त्यस्तो अवस्थामा आउने म्यासेजले केही अर्थ पनि राख्छ । तर, यहाँ त हुन्डाइ कारको फेस्टिभ अफर सुरु भयो , अफरमा ठूलो छुट छ रे । होण्डाको बाइकमा एक्सचेन्ज अफर चलिरहेको छ । लकडाउन खुकुलो भाे, अब हाँमी खुवाउँछौ मिठो खाना रे, यो ‘लभ मन्थ हो’ राम्रो ब्रेकफास्टका साथ भ्यालेन्टाइन मनाउन आउनुहोस् रे ।

यो म्यासेज कुनै जोडीलाई जाँदा त ठीकै होला तर, मायामा धोका पाएर बसेको मान्छेमा पुग्यो भने के हुन्छ ?

तर, यसरी असम्बन्धित म्यासेज कसरी आइरहेको छ ? यसको अर्थ पक्कै पनि तपाईंको जानकारीमा व्यापार भइरहेकाे छ ।

हामीमध्ये धेरैले आफैं होस् या आफन्त साथिभाइको, मोबाइल म्यासेजबाट एसईईको रिजल्ट चेक गरेको हुनुपर्छ । तपाईंले आज एसईईको रिजल्ट मोबाइल एसएमएसबाट चेक गर्नुभयो भने त्यसको केही दिन नबित्दै तपाईंको म्यासेजमा ‘प्लस टु’ कलेजको विज्ञापनयुक्त म्यासेज आउँछ । जसमा कलेजको वातावरण राम्रो छ, राम्रा शिक्षक छन, तपाईंलाई यति प्रतिशत छुट उपलब्ध हुन्छ भनेर पठाइएको हुन्छ ।

तपाईं गाउँमा बस्नुहुन्छ । सहरका कुनै पनि कलेजमा आजसम्म पुग्नु भएको छैन । तर तपाईंलाई कलेजबाट म्यासेज आइरहेको छ ।

यसको अर्थ के हो त ? तपाईंले केही दिनअघि म्यासेजबाट रिजल्ट जाँच गर्नुभएको थियो । जुन सेवाप्रदायकको म्यासेज तपाईंले प्रयोग गर्नुभएको छ, उसले तपाईंको मोबइल नम्बर र नाम संकलन गरी विद्यालयलाई विज्ञापन गर्न डेटा उपलब्ध गराइरहेको छ । डेटा उपलब्ध नगराएको भएता पनि उसले कलेजसँग व्यापार गरेर तपाईंको मोबाइलमा म्यासेज दिइरहेको छ ।

यो त एउटा उदाहरण मात्रै हो । तपाईं बैंकको प्रयोगकर्ता हुनुहुन्छ । तपाईंलाई बैंकसँगको सहकार्यमा भन्दै केक पसलबाट जन्मदिनमा शुभकामना म्यासेज आउँछ ।

सोच्नुहाेस् त अब त्यहाँ त तपाईंको नाम, तपाईको जन्ममिति, तपाईंको मोबाइल नम्बर सबै दुरुपयोग भइरहेको छ । कोभिड-१९ पश्चात धेरैको मोबाइलमा केही अस्पतालले कोभिड–१९ पोस्ट कोभिड प्याकेज उपलब्ध भएको भन्दै जानकारी दिइरहेका थिए ।

यसरी असम्बन्धित ठाउँबाट म्यासेज आउनुले पक्कै पनि नेपालमा नेपाली प्रयोगकर्ताको डेटा बिक्री भइरहेको अर्थ्याउँछ । सूचना प्रविधि क्षेत्रका कानूनीविज्ञ सन्तोष सिग्देल भन्छन, ‘प्रयोगकर्ताको मन्जुरी बिना मोबाइल तथा ईमेलमा विज्ञापन गर्न नपाउने भनी विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनले सम्बोधन त गरेको छ । तर, अब डेटा प्रोटेक्सनको कुरा आएको छ ।

हामीले कुनै कम्पनीलाई एउटा प्रयोजनका लागि उपलब्ध गराएको जानकारी उसले केमा प्रयोग गरिरहेको छ ? उसले त्यसरी लिएको जानकारी अन्य प्रयोजनका लागि प्रयोग गर्न पाउँछ पाउँदैन भन्ने विषयलाई कानूनीरुपमा सम्बोधन गर्न आवश्यक छ ।

यस्ता घटना नेपालमा बढी प्राइभेट कम्पनीसँग सम्बन्धित देखिएका छन् । त्यसैले सरकारले कुनै प्रयोगकर्ताको जानकारी सम्बन्धित प्रयोजनका लागि भन्दा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न नपाउने कडा कानून ल्याउन आवश्यक रहेको अर्को कानूनीविज्ञ टंक अर्याल बताउँछन् ।

उनका अनुसार त्यसका लागि डेटा प्रोटेक्सन सम्बन्धित छुट्टै कानून आवश्यक छ । कानूनीरुपमा यसलाई सम्बाेधन गर्न सकेको खण्डमा प्रयोगकर्ताको डेटा सुरक्षित हुनसक्ने अवस्था रहन्छ । नत्र भने यसरी नै सधै प्रयोगकर्ताको डेटामाथि व्यापार नै हो ।

अन्य मुलुकमा डेटा प्राेटेक्सनलाई महत्वपूर्ण विषयकाे रुपमा लिने गरिएकाे छ । अमेरिकाको टेलिफोन उपभोक्ता संरक्षण ऐनले ग्राहकको स्वीकृति बिना यस्ता म्यासेज मोबाइलमा पठाउन नपाउने व्यवस्था गरेको छ । यतिसम्म कि कुनै व्यक्तिले मोबाइल नम्बर उपलब्ध गराएको तथा उसको उक्त व्यवसायसँग सम्बन्ध भएको अवस्थामा समेत यस्ता विज्ञापनयुक्त म्यासेज पठाउन लिखित सम्झौता भएको हुनुपर्छ ।

अन्यथा त्यस्ता म्यासेज पठाउन पाइँदैन । त्यस्तै क्यानडाको एन्टी–स्पाम कानूनअनुसार यदि कसैले म्यासेज मार्केटिङ गर्छ भने उसले तीन वटा प्रावधानको पालना गर्नुपर्ने हुन्छ । जसमा म्यासेज प्राप्त गर्ने व्यक्तिसँग लिखित स्वीकृति लिनुपर्ने हुन्छ । दोस्रो पठाउनेको पहिचान खुल्ने गरी म्यासेज पठाउनुपर्छ । साथै उक्त म्यासेजमा अनसब्स्क्राइब गर्न मिल्ने विकल्पसमेत दिनुपर्छ ।