close

५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

टेकपाना टेकपाना

असार १८, २०७८ ११:५१

५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सकाे ग्राहक संख्या पाँच लाख पुगेको छ । विगत २५ वर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले देशका अघिकांश जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

देशभर फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको वर्ल्डलिंक बिहीवार यो सफलता हात पारेको कम्पनीका निर्देशक लक्ष्मण यादवले बताएका छन् । ‘बिहीवारदेखि वर्ल्डलिंक इन्टरनेट ५ लाख घरधुरीमा पुगेको छ,’ उनले भने, ‘कम्पनीको निरन्तर प्रयास, कर्मचारीको लगाव र ग्राहकको मायाले यो सफलता हात पार्न सफल भएको हो ।

योसँगै कम्पनी आगामी दिनमा सेवालाई अझ विश्वसनीय र भरपर्दो बनाउँदै थप ग्राहकमाझ जोडिदै जानेछ ।’ वर्ल्डलिंक पाँच लाख घरधुरीमा इन्टरनेट पुगेको भनी उल्लेख गरेको भएता पनि इन्टरनेट पहुँचको हिसाबले अझ बढी देखिन्छ । किनभने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आधार मान्ने हो भने एक प्रयोगकर्ता बराबर ४.८८ जना इन्टरनेट प्रयोगकर्ता हुन्छन् ।

यसकाे अर्थ वर्ल्डलिंक इन्टरनेट प्रयोगकर्ताको संख्या २४ लाख ४० हजार पुगेकाे छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्याण्डविथमध्ये ४५ प्रतिशत ब्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ ।

वर्ल्डलिङ्कको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत गरी नेपालका ७३ जिल्लामा पुगेको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । यसै बिचमा वर्ल्डलिङ्क आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता समेत हो ।  

कम्पनीले आव गत आवमा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वर्ल्डलिङ्क आईसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । कम्पनीमा करिब चार हजारले रोजगारी पाएका छन् ।

वर्ल्डलिङ्कले देशका दश हजार ठाउँमा पब्लिक वाई-फाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको हो ।

दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाई-फाई प्रयोग गरिरहेका छन् । मन्दीर‚ अस्पताल‚ बसपार्क‚ क्याफे‚ रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्रि वाई-फाई दिइरहेको छ ।

वर्ल्डलिङ्क कम्युनिकेसन्समा बेलायती सरकारको संस्था सीडीसी ग्रुपको समेत लगानी रहेको छ । वर्ल्डलिङ्कले ग्राहकलाई इन्टरनेट‚ आईपिटिभी र कर्पोरेट ग्राहकलाई डेटा कनेक्टिभिटी सेवा  समेत प्रदान गर्दै आइरहेको छ ।

दिलिप अग्रवालले डायलअप कनेक्टिभिटीको रुपमा सन् १९९५ मा वर्ल्डलिङ्कको स्थापना गरेका थिए । कम्पनीले भी-स्याट‚ वायरलेस प्रविधि‚ केबल इन्टरनेट र एफटीटीएच जस्ता प्रविधिमार्फत इन्टरनेट सेवा दिएको छ । 

वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले यो एउटा कोसेढुंगा पार गरेको बताए । ‘आजको दिन वर्ल्डलिङ्कका लागि गर्वको क्षण हो‚’ उनले भने‚ ‘हाम्रो परिवार ५,००,००० को ठूलो परिवार बनेको छ । यो विशाल आधार हाम्रा ग्राहकहरूको अथक समर्थनबाट प्राप्त भएको हो ।’  

वर्ल्डलिङ्कको विस्तारमा अग्रवालसँगै कम्पनीका संचालक मनोज अग्रवाल र दिवंगत विजय जालानको समेत महत्वपूर्ण योगदान छ । ग्राहकहरूको सेवामा समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै उनले सबैलाई धन्यवाद दिएका छन् ।

अग्रवालले कम्पनीको सेवामा सन्तुष्ट बनाउन आफूहरूको काँधमा ठूलो जिम्मेवारी आएको पनि स्मरण गराएका छन् । ‘हामी सबैले कडा परिश्रम गर्नुपर्नेछ । ग्राहक सेवा र त्यसको गुणस्तर सुधार गर्नमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ‚’ उनले  भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३