close

नेपाली स्याट-१ को आयु सकिनै लाग्दा नेपाली स्याट-२ ‘पदयात्री’ तयार हुँदै

अर्पना आले मगर अर्पना आले मगर

असार २२, २०७८ १५:३३

नेपाली स्याट-१ को आयु सकिनै लाग्दा नेपाली स्याट-२ ‘पदयात्री’ तयार हुँदै

काठमाडौं । नेपालको पहिलो नानो स्याटेलाइट नेपाली स्याट-१ ले पृथ्वीको परिक्रमा गर्न थालेको दुई वर्ष पुग्दै गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का वैज्ञानिक आभाष मास्केसहितको टोलीले नेपाली स्याट-२ ‘पदयात्री’ मिसनको तयारी थालेकाे छ ।

सन् २०२२ सम्ममा तयार गरिसक्ने उद्देश्यसहित थालिएको ‘पदयात्री’ मिसनको डिजाइनको प्रारम्भिक समीक्षा सकिएको छ । जुलाई १ मा जापान र थाइल्याण्डका समीक्षकहरूले यसको समीक्षा गरेको थिए ।

योसँगै अब पदयात्रीको इन्जिनियरिङ मोडेलतर्फको कामको पनि थालनी भएको मास्केले बताए । एउटा ‘ड्रिम प्रोजेक्ट’ को अंशको रुपमा अघि सारिएको ‘पदयात्री’ परियाेजना गत वर्षदेखि थाइल्याण्डको इन्सटेड (INSTED) कम्पनीसँगको सहकार्यमा सुरू गरिएकाे हो ।

नेपाली स्याट-१ जापानमा बनाइएको थियो भने ‘पदयात्री’ का लागि थाइल्याण्डमा काम भइरहेको छ । मास्केका अनुसार पदयात्रीको लागि नेपाली टोली लगायत थाइल्यान्ड र मलेसियाका टोलीहरूले पनि काम गर्दैछन् । यी देशका वैज्ञानिकहरूले पनि यो स्याटेलाइटको फरक फरक हिस्सामा काम गरिरहेको मास्केले जानकारी दिए ।

नेपाली स्याट-१ को तुलनामा ‘पदयात्री’ तीन गुणा ठूलो हुने भए पनि यो पनि अन्तरिक्षको ४०० किलोमिटरको कक्षमा नै छोडिने मास्केको भनाइ छ ।

‘डिजाइनको प्रारम्भिक समीक्षा पदयात्रीको पहिलो पाइला हो । हामीले यसलाई हाम्रो ड्रिम प्रोजेक्टको एउटा अंशको रुपमा अगाडि सारेका छौं,’ मास्केले भने, ‘२०२२ सम्ममा यसलाई अन्तरिक्षमा पठाउने हाम्रो लक्ष्य हो र सोही हिसाबले हामी काम गरिरहेका छौं ।’

मास्केका अनुसार नेपाली स्याट-१ भन्दा ‘पदयात्री’ अझ परिस्कृत भएर आउने छ । ‘नेपालको अन्तरिक्ष यात्रामा नेपाली स्याट-१ ले बामे सारेको थियो र अब पदयात्रीचाहिँ यो क्षेत्रमा उभिएर हिँड्नेछ । यही कुराले हामीले नेपाली स्याट-२ लाई ‘पदयात्री’ को नाम दिएका हौँ,’ मास्केले बताए ।

नेपाली स्याट-१ परियाेजना सरकारको सहयोगमा सञ्चालन गरिएकाे थियाे भने ‘पदयात्री’ लागि निजी कम्पनीहरूसँग पनि रकम उठाएर काम गरिरहेको मास्केले टेकपानालाई बताए ।

‘हाल हामीले राष्ट्रिय अनुसन्धान केन्द्रमा बसेर काम गरिरहेका छौं, यहाँका वैज्ञानिकहरूसँगकाे सहकार्यमा,’ उनले भने, ‘बजेटको विषयमा चाहिँ यो पटक निजी कम्पनीहरूसँग पनि फण्डिङ उठाएर आर्थिक व्यवस्थापन गरिरहेका छौं ।’

यसअघि सानिमा बैंकले याे परियाेजनाका लागि अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गरिसकेकाे छ भने अन्य सहयाेगी संस्था पनि इच्छुक देखिएका छन् ।

‘पदयात्री’ परियाेजनाका लागि अहिले नै लागत अनुमान गर्न नसकिने उनले बताए ।

नेपाली स्याट-१ ले सोचेको भन्दा लामो समयसम्म अन्तरिक्षमा रहेर राम्रो नतिजा दिएको बताउँदै ‘पदयात्री’ ले पनि राम्रो नतिजा दिने विश्वास आफूहरूले राखेको उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३