close

नोकियाको फ्ल्यागशिप फोन नोभेम्बरमा सार्वजनिक हुँदै, २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहने अनुमान

टेकपाना टेकपाना

असार २२, २०७८ १८:८

नोकियाको फ्ल्यागशिप फोन नोभेम्बरमा सार्वजनिक हुँदै, २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहने अनुमान

काठमाडौं । पछिल्लो समय अन्य मोबाइल कम्पनीको तुलनामा नोकियाको बजार घटेको देखिन्छ । प्रविधिसँगै विकास भएका नयाँ फिचरसहित नयाँ मोबाइल ल्याउन नसक्दा कुनै बेला आधिपत्य जमाएको नोकिया पछि परेको हो ।

तर यसबीचमा नोकियालाई पुरानै अवस्थामा ल्याउन धेरै प्रयास भए, भइरहेका छन् । आफ्नो गुमेको साख फेरि ल्याउन एचएमडी ग्लोबल स्वामित्वको नोकियाले बजारमा चाँडै नै नयाँ फ्ल्यागशिप फोन ल्याउने भएको छ ।

नोकियाले यही नोभेम्बरमा आफ्नो नयाँ फ्ल्यागशिप फाेन सार्वजनिक गर्ने तयारी गरेकाे छ । चिनियाँ मिडियाका अनुसार एचएमडी ग्लोबलले याे फाेन नोभेम्बर ११ अगाडि नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यद्यपि कम्पनीले कुनै औपचारिक घोषणा भने गरेको छैन ।

नोभेम्बर ११ मा चीनमा हुने ठूलो ‘शपिङ डे’ लाई लक्षित गर्दै यो फ्ल्यागसिप सार्वजनिक हुने चिनियाँ मिडियाले उल्लेख गरेका छन् । अब यस फ्ल्यागशिपलाई कम्पनीले के नाम दिन्छ भन्ने चाहिँ हेर्नै बाँकी छ ।

तर बजारमा कम्पनीले नाेकिया एक्स ६० र एक्स ६० प्राे गरी दुई फ्ल्यागशिप फाेन ल्याउनसक्ने हल्ला चलेकाे छ । यसअन्तर्गत कतिपय मिडियाले प्राे भर्सनमा १०८ अथवा २०० मेगापिक्सेल प्राइमरी सेन्सर भएको पेन्टा लेन्स क्यामेरा, ६००० एमएएच ब्याट्री र १४४ हर्ज रिफ्रेस रेट हुने उल्लेख गरेका छन् ।

यो फोन चिनियाँ बजारका लागि मात्र सार्वजनिक हुनेछ वा अन्य देशमा पनि सार्वजनिक हुनेछ भन्ने विषयमा पनि अझै प्रश्न नै छ । 

सार्वजनिक हुन अझै चार महिना बाँकी छ र कम्पनीले चीनको ‘शपिङ डे’ लाई लक्षित गरेर ल्याउन लागिएको हुनाले यो फाेन सुरुवाती चरणमा चिनियाँ उपभोक्ताका लागि मात्र सार्वजनिक हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३