close

चिनियाँ राष्ट्रपतिलाई गिज्याउँदा प्राध्यापकको ट्वीटर अकाउन्ट प्रतिबन्ध

टेकपाना टेकपाना

असार २३, २०७८ १५:२१

चिनियाँ राष्ट्रपतिलाई गिज्याउँदा प्राध्यापकको ट्वीटर अकाउन्ट प्रतिबन्ध

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङलाई गिज्याएको आरोपमा ट्वीटरले न्युजिल्यान्डका एक विज्ञको अकाउन्ट अनिश्चित समयका लागि बन्द गरिदिएको छ ।

चिनियाँ राजनीतिको विश्व प्रभावबारे विज्ञको रुपमा परिचित न्युजिल्यान्डका क्यान्टरबरी विश्वविद्यालयका प्राध्यापक एन-मैरी ब्रेडीले चीनको कम्युनिष्ट पार्टीको आलोचना गर्दै ट्वीटरमा पोस्ट गरेपछि ट्वीटरले उनको अकाउन्ट सस्पेन्ड गरिदिएको ब्रैडीले बताएकी छन् ।

गएको हप्ता पार्टीको सयौं वार्षिक उत्सवको अवसरमा उनले पार्टीलाई गिज्याउँदै ट्वीट गरेकी थिइन् । उनले पोस्ट गरेका ट्वीटमध्ये दुई वटा केही समयको लागि “अनअभाइलेभल” अर्थात् हेर्न नमिल्ने बनाइदिएको थियो भने उनको अकाउन्ट पनि झन्डै एक हप्ताका लागि बन्द गरिदिएको थियो ।

एक हप्ता लामो प्रतिबन्धपछि उनको अकाउन्ट सोमबार रिस्टोर गरिएको थियो । बेलायतको टाइम्स पत्रिकाका स्तम्भकार एडवर्ड लुकासले भने कम्युनिष्ट पार्टी एजेन्टले गरेको गुनासोको अनलाइन अभियानको प्रतिकृयास्वरुप ट्वीटरबाट स्वत: अकाउन्ट प्रतिबन्ध भएको हुनसक्ने लेखेका छन् ।

‘यस विषयमा ट्वीटरमा मैले धेरै आक्रोश पोखेको थिएँ र केही गुनासो पनि गरेको थिए । त्यसपछि अकाउन्ट रिस्टोर भयो,’ नेर ब्रेडीले ट्वीट गरेकी छन्, ‘सायद ट्वीटरले भुलेको छ कि उनीहरू सी जिन पिङको लागि काम गर्दैनन् भनेर ।’

यस विषयमा एक विज्ञप्ति जारी गर्दै ट्वीटरले भने असामान्य गतिविधि भएको आशंका हुने बित्तिकै कहिलेकाहिँ अकाउन्ट प्रतिबन्ध गरिदिने र अकाउन्ट होल्डरको कन्फरमेसन नआए सम्म त्यसलाई रिस्टोर नगरिने जनाएको छ ।

‘कुनै सरकारको दबाबमा आएर कसैको अभिव्यक्ति स्वतन्त्रताप्रति ट्वीटरले प्रतिबन्ध लगाएको भन्ने धारणामा कुनै पनि तथ्य छैन । हामी स्वतन्त्र, विश्वव्यापी र खुला इन्टरनेट सेवाको वकालत गर्दछौं र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दछौँ,’ ट्वीटरको विज्ञप्तिमा उल्लेख छ ।

चीनको कम्युनिष्ट पार्टीको शताब्दी पुगेको अवसरमा उनले सो पार्टीको अन्तर्राष्ट्रिय मान्यता कम भएको लेखेकी थिइन् । चीनलाई यस अवसरमा बधाइ नदिने विश्वका केही देशमध्येमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन पनि हुन् ।

ब्रेडीले आफ्नो एउटा ट्वीटमा समाचारका लागि शीर्षक सुझाएको भन्दै लेखेकी थिइन्, “सी: यो मेरो पार्टी हो र मैले चाहे भने म रुन पनि सक्छु ।’

आफ्नो अकाउन्ट रिस्टोर भएपछि भने ट्वीट गर्दै उनले लेखेकी थिइन्, ‘आज विहान आफ्नो कामको लागि मैले मेरो ल्यापटप अन गर्दा मेरो स्क्रिनमा ट्वीटरको “वेलकम व्याक” (पुन: स्वागत छ) भन्ने सन्देश यसरी आइरहेको थियो कि मानौं म आफैंले उनीहरूलाई छोडेर गएको थिएँ ।’

सामाजिक सञ्जालका ठूला प्लेटफर्म मानिने ट्वीटर, फेसबुक, लिंक्डइन, जुम लगायतले कम्युनिष्ट पार्टीका आलोचकहरूलाई सधैं दबाउन खोजेको भनेर पनि उनले लेखेकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३