close

अवैध मोबाइल प्रतिबन्ध गर्ने मिति नजिकिँदै, चाप बढेपछि आईएमईआई दर्ता प्रणाली नै अवरुद्ध

टेकपाना टेकपाना

असार २३, २०७८ १९:६

अवैध मोबाइल प्रतिबन्ध गर्ने मिति नजिकिँदै, चाप बढेपछि आईएमईआई दर्ता प्रणाली नै अवरुद्ध

काठमाडौं । अवैध मोबाइल प्रतिबन्ध हुने भनिएको मिति नजिकिँदै गर्दा मोबाइलको आईएमईआई दर्ता गर्ने प्रणालीमै समस्या उत्पन्न भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा अत्यधिक भार पर्न गएका कारण आईएमईआई दर्ता प्रणालीमा प्राविधिक समस्या देखिएको हो ।

नियामकले उक्त प्रणाली यथाशीघ्र सुचारु गर्ने प्रयास भइरहेको भन्दै त्यसका लागि केही समय लाग्ने जानकारी दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरण तथा प्रयोगलाई निरुत्साहित गरी त्यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि नेपालमा मोबाइल सेट आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृति (टाइप अप्रुभल) लिनुपर्ने तथा आईएमईआई दर्ता गर्नुपर्ने प्रावधान रहेको समेत स्पष्ट पारेको छ ।  

नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने कार्य तीव्रताका साथ अघि बढेको सन्दर्भमा अन्यौलको अवस्थालाई समेत स्पष्ट पार्न खोजेको छ । व्यवसायिक हिसाबले नियमानुसार आयात भइ नेपालमा नै खरिद गरेर प्रयोगमा रहेका मोबाइल सेटहरूको हकमा ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नुपर्दैन ।

तर धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आईएमईआई दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम तथा अन्यौलका कारण प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । जसले गर्दा प्राधिकरणको वेबसाइटमा उपलब्ध लिङ्कमा दर्ता गर्ने क्रम पनि अत्यधिक बढ्न गएको र त्यसै कारणले गर्दा प्रणालीमा प्राविधिक समस्या उत्पन्न हुँदा दर्ता प्रक्रिया नै अवरुद्ध हुन पुगेको बताइएको छ ।

प्राधिकरणले व्यक्तिगत तवरमा विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरुद्ध आईएमईआई दर्ता प्रणाली सुचारु भएपछि थप उचित समय दिएर आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने आश्वासन समेत दिएको छ ।

‘हाल अवरुद्ध आईएमईआई दर्ता प्रणालीका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ,’ नियामकले जारी गरेको सूचनामा भनिएको छ । नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भइ प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरिद गरी अनावश्यक झन्झट एवम् अन्यौलताबाट मुक्त हुने समेत नियामकले आनुरोध गरेको छ । 

आईएमईआई दर्ता गर्ने कसरी ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३