close

अब हुम्लाको मालपोत सेवा पनि अनलाइनमा

टेकपाना टेकपाना

असार २४, २०७८ ८:३८

अब हुम्लाको मालपोत सेवा पनि अनलाइनमा

काठमाडौं । हुम्ला जिल्ला मालपोत कार्यालयले अनलाइन प्रविधिबाट सेवा प्रवाह सुरु गरेको छ । कागजरहित कार्यालय बनाउने लक्ष्यका साथ आधुनिक सूचना तथा सञ्चार प्रविधिबाट काम सुरु भएसँगै सेवाग्राहीले डिजिटल प्रविधिबाटै सेवा पाउन थालेका हुन् ।

जिल्ला मालपोत कार्यालय हुम्लामा जग्गा रजिस्ट्रेसनको काम गर्न आएकी नाम्खा गाउँपालिका – ४ मुचु गाउँकी पेमा लामाले पहिलेजस्तो कागजी लेखापढी नभएर कम्प्युटरबाट सेवा लिन पाएको बताइन् ।

उनले भनिन्, ‘काम पनि छिटो हुने र सेवाग्राहीले ढिलोसम्म कुर्नु नपर्ने भएको हुँदा यो प्रविधिबाट काम हुँदा सजिलो भएको छ ।’ पहिलो पटक अनलाइनमार्फत कार्यालयका सेवा उपलब्ध गराउन पाएको उल्लेख गर्दै कार्यालय प्रमुख रवीन्द्र शाहीले यसबाट कार्यालय र सेवाग्राहीलाई सहज हुने बताए ।

अनलाइनबाट पहिलो सेवाग्राहीलाई सेवा प्रदान गर्दै उनले इन्टरनेट र विद्युतको समस्या नआएमा काम गर्न कुनै कठिनाइ नहुने बताए । भू-आयोजना अभिलेख प्रणालीबाट काम गर्न पाएपछि पुराना लिखत खोज्नुपर्ने झन्झटबाट पनि मुक्ति मिलको कर्मचारीहरूको भनाई छ ।

कार्यालयमा कर्मचारी अभाव भएको र त्यसका लागि दक्ष कर्मचारी आवश्यक पर्ने हुँदा त्यसका लागि विभाग र मन्त्रालयसमेतलाई आग्रह गरिएका उनले बताए । हुम्ला जिल्लाका मालपोत कार्यालयका काम डिजिटल माध्यमबाट सुरुवात गर्दै एक दिन अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जुम मिटिङबाट उक्त सेवा शुभारम्भ गरेका थिए । 

त्यस अवसरमा उनले देशभरका कार्यालयहरूलाई कागज रहित बनाउने प्रक्रिया जारी रहेको बताएका थिए । सचिव टेक नारायण पाण्डेले यो कामको सुरुवातसँगै कर्मचारीलाई आर्थिक लाञ्छना लाग्ने अवस्थाको समेत अन्त्य हुने विश्वास व्यक्त गरे ।

यो कार्यले मन्त्रालयको साधारण खर्च घट्ने, आर्थिक सुशासन कायम हुने, अत्यावश्यकबाहेक अन्य सेवाका लागि सेवाग्राही कार्यालयमा धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ। मन्त्रालय अन्तर्गत मुलुकभर १२६ वटा कार्यालय रहेका छन् ।

जसमध्ये आइतबारबाट मुलुकमा ११८ वटा कार्यालयमा डिजिटल सेवा पुगेको छ । अब आठवटा कार्यालय मात्र अनलाइन सेवामा जान बाँकी रहेको मन्त्रालयले जनाएको छ । बाँकी रहेकोमा ती कार्यालयहरूलाई समेत निकट भविष्यमा प्रविधिमैत्री बनाएर अनलाइन सेवा सुचारु गरिने बताइएको छ ।

गोरखापत्रबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३