close

क्वालकमले सार्वजनिक गर्‍यो आफ्नो पहिलो स्मार्टफोन, मूल्य तपाईंको कल्पना बाहिर

टेकपाना टेकपाना

असार २४, २०७८ २२:३५

क्वालकमले सार्वजनिक गर्‍यो आफ्नो पहिलो स्मार्टफोन, मूल्य तपाईंको कल्पना बाहिर

काठमाडौं । क्वालकमले बनाएका चिपहरू प्रायः हरेकजसो स्मार्टफोनमा पाउन सकिन्छ । तर आज कम्पनीले आफ्नो नियमित भूमिकाभन्दा बाहिर पाइला सारेको छ । असुसको केही सहयोगमा क्वालकमले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो ।

स्नापड्रागन इन्साइडरका लागि लक्षित ठानिएको यो फोन आईफोन अथवा सामसङ ग्यालेक्सीको प्रतिस्पर्धी भन्दा पनि क्वालकमको प्रविधि डिजाइनको शोकेस जस्तो लाग्छ । विशेषतः सामाजिक सञ्जालमा रहेका क्वालकमका फलोअरका लागि यो फोन लक्षित हुनसक्ने आँकलन समेत गरिएको छ ।

कम्पनीको यस किसिमको फ्यान बेस (समूह) निकै सानो छ । क्वालकमले आफ्ना स्नापड्रागन इन्साइडरको संख्या विश्वभर १६ लाख हाराहारी रहेको दाबी गरेको छ । यो संख्या पनि कुनै ठूलो विषय होइन ।

एप्पलको ट्वीटर अकाउन्टमात्रै हेर्नुहुन्छ भने त्यहाँ तपाईंले ६४ लाख फलोअर देख्नु हुनेछ । जब कि एप्पलले वास्तविक किसिमको कुनै ट्वीट नै गर्दैन । एप्पलका समग्र ट्वीट प्राविधिक रुपमा सशुल्क विज्ञापन मात्र हुन् ।

त्यसैले तपाईंले एप्पलको ट्वीटर अकाउन्टको टाइमलाइनमा सामान्य अथवा स्वभाविक लाग्ने ट्वीट अथवा रिप्लाई पाउन सक्नुहुन्न । त्यसो त सामसङ मोबाइलको ट्वीटर अकाउन्टमा एक करोड २० लाख फलोअर छन् । 

स्नापड्रागन इन्साइडरका लागि बताइएको यो स्मार्टफोन अस्वभाविक नै लाग्छ । किन भने क्वालकमले वास्तवमा उपभोक्ताका लागि भनेर फोनहरू बनाएको छैन । त्यसैले नै कम्पनीले यसका लागि असुसको सहयोग लिएको हो ।

वास्तवमा यो क्वालकमको प्रविधिले भरिपूर्ण स्मार्टफोन हो । तर यसलाई असुसले आफ्नो साथमा राखेर बिक्री गर्नेछ । जसको बडीमा स्नापड्रागनको ब्याज राखेको देखिन्छ । 

यो स्मार्टफोनको मूल्य १५०० डलर अर्थात करिब एक लाख ७७ हजार रुपैयाँ छ । जुन सामसङ वा एप्पलका फोल्ड नहुने हरेक उपलब्ध डिभाइसको भन्दा महँगो हो ।  बताइए अनुसार क्वालकमले फोनको साथमा केही एक्सेसरिज समेत उपलब्ध गराउनेछ ।

जसमा यूएसबी टाइप सी केबल, कस्टम रबर बम्पर, क्वालकम क्विक चार्ज ५ पावरब्रिक र मास्टर तथा डाइनामिक्सको एमडब्लू ९८ एसआई वायरलेस रहेका छन् । जुन सामान्यतया आफ्नै बजारमा पनि ३०० डलर पर्न जान्छ ।

 स्नापड्रागन फोन आफैँमा स्नापड्रागन ८८८  चिपसेटको साथ आएको छ । दुःखको कुरा नै मान्नुपर्छ यसमा हालै घोषणा गरिएको स्नापड्रागन ८८८ प्लस चिपेसट भने राखिएको छैन । २४४८ बाई १०८० पिक्सेल रेजोलुसन भएको यो फोनमा ६.७८ इन्चको एमोलेड डिस्प्ले रहेको छ ।

जसमा १४४ हर्जको रिफ्रेश रेट छ । त्यस्तै १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज यसमा छ । पावरका लागि ४,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

यो फोनमा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने पछाडि भागमा ६४ मेगापिक्सेलको मेन क्यामेरा सहित समग्रमा तीन वटा क्यामेरा छन् । जसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ८ मेगापिक्सेलको टेलिफोटो लेन्स छ ।

यसमा ३ गुणा अप्टिकल जुम समेत छ । जसलाई फोटो तथा भिडिओ खिच्ने कार्यका लागि उपयोग गर्न सकिन्छ । क्वालकमले यो फोनबाट स्नापड्रागन साउन्ड र फास्ट वायरलेस कनेक्टिभिटी समेत प्रदर्शन गर्न खोजेको देखिन्छ ।

यसको अर्थ यो फोनले उपलब्ध अन्य कुनैपनि फोनको तुलनामा फराकिलो मोबाइल डेटासँगै वाईफाई सिक्स र वाईफाई सिक्स ई कनेक्टिभिटी सपोर्ट गर्छ । साथै स्नापड्रागन फोन फाइभजीका मुख्य विविधतामा समेत कम्प्याटिबल हुनेगरी बनाइएको छ ।

रोचक कुरा त के छ भने यति महँगो फोनमा वायरलेस चार्जिङ भने दिइएको छैन । यसमा तपाईंले इन स्क्रिन सेन्सरको साटो क्वालकमको दोस्रो पुस्ताको थ्रीडी सोनिक फिंगरप्रिन्ट सेन्सर पाउनुहुनेछ । जुन फोनको पछाडि भागमा स्नापड्रागनको लोगोको ठीक माथि राखिएको छ । 

स्नापड्रागन स्मार्टफोन एन्ड्रोइड ११ मा आधारित छ । स्नापड्रागनको यो फोनलाई वास्तविक रुपमा उपभोक्ता बजारमा प्रवेशको परीक्षणको रुपमा ल्याइएको हुनसक्ने अर्थमा समेत हेरिएको छ । यो फोन कसरी खरिद गर्ने र कहाँ कहाँ उपलब्ध छ भन्ने कुरा जान्न चाहनुहुन्छ भने कम्पनीका सामाजिक सञ्जालका माध्यम पछ्याउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३