close

यसै वर्षभित्र वाईम्याक्स सेवा बन्द गर्दै टेलिकम

टेकपाना टेकपाना

असार २६, २०७८ १५:७

यसै वर्षभित्र वाईम्याक्स सेवा बन्द गर्दै टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजीमा आधारित वाईम्याक्स सेवा बन्द गर्ने भएको छ । कम्पनीले व्यवसायिक रुपमा सफल हुन नसकेपछि यसै वर्षभित्र वायरलेस प्रविधिमा आधारित आफ्नो वाईम्याक्स इन्टरनेट सेवा बन्द गर्ने भएको हो ।

कम्पनीले हालै स्वीकृत आफ्नो वार्षिक कार्यक्रममा वाईम्याक्स सेवा विस्थापित गर्ने योजना अगाडि सारेको छ । जसका लागि चार करोड ८९ लाख ८४ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ । त्यसमध्ये ८० प्रतिशत अर्थात ३ करोड ९१ ला ८७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

कम्पनीका अनुसार असोज अघिसम्ममा वाईम्याक्स सेवामा रहेका ग्राहकलाई स्थानान्तरण गर्ने उपकरणका लागि सम्झौता गर्ने र पुस सम्म त्यसलाई सम्पन्न गरी वाईम्याक्स सेवा ‘शट डाउन’ अर्थात बन्द गर्ने योजना छ । टेलिकमले २०६९ कात्तिक २७ देखि वाईम्याक्स प्रविधिमार्फत गाउँगाउँमा इन्टरनेट सेवा उपलब्ध गराउन थालेको थियो ।

कम्पनीले २३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत ताररहित रुपमा उच्चगतिको इन्टरनेट सेवा सञ्चालन गर्दै आइरहेको छ । यद्यपि, टेलिकमले आफ्नो वाईम्याक्स सेवाको विस्तारमा यसअघि नै रोक लगाइसकेको छ । 

यो सेवा हाल पहाडी क्षेत्रका केही जिल्लाहरूमा मात्रै सञ्चालनमा रहेका छन् । २०७३ कात्तिक ७ गते हुम्ला जिल्लामा सेवा विस्तार गरेसँगै वाईम्याक्स देशका हरेक जिल्लामा पुगेको थियो । 

टेलिकमले सन् २०१५ पछि वाईम्याक्सको नयाँ प्रविधि उत्पादन नभएको र विश्वमै पनि कम प्रयोग हुन थालेको भन्दै सेवा महँगो हुँदा विस्थापन गर्न खोजिएको बताउँदै आएको छ । हाल मुलुकभर कम्पनीको वाईम्याक्समा ९० हजार ५६३ प्रयोगकर्ता रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३