close

एक महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ३ करोडले नाघे

टेकपाना टेकपाना

असार २८, २०७८ १२:५१

एक महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ३ करोडले नाघे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले एक महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक महिनाको अवधिमा प्रयोगकर्ताको संख्या ३ करोड पुगेको छ ।

संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्धमा लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन । प्रतिबन्धकाे प्रत्यक्ष असर ह्वावेकाे व्यवसायमा पनि परेकाे छ ।

अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालाेसूचीमा राखे लगत्तै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो । तर, यो पूर्णरुपमा गुगलको एन्ड्रोइडमै आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो । त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।

उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो ।

अब कम्पनीले त्यसलाई अझ परिस्कृत गरी बुधबार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यसमा आधारित भएर डेभलपरहरुले सहज रुपमा विभिन्न प्रडक्ट निर्माण गर्न सक्नेछन् ।

ओपनसोर्सको रुपमा उपलब्ध गराइएको हार्मोनी ओएस गुगलको एन्ड्रोइड, एप्प्लको आईओएसभन्दा पूर्णरुपमा फरक रहेको छ । यो ओएस हाल कनेक्टेड डिभाइसको बढ्दो मागलाई मध्यनजर गरेर निर्माण गरिएको छ । यसले हाल एप्पलको जस्तै आफ्नै छुट्टै प्लेटफर्म निर्माण गरी प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न सहयोग पुर्‍याउने छ ।

याे ओएस कम्पनीले यो वर्षको अन्त्यसम्म ३० करोड प्रयोगकर्तालाई उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३