close

नयाँ आर्थिक वर्षलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउँदै टेलिकम, ३७ अर्बको बन्यो बजेट

टेकपाना टेकपाना

असार २८, २०७८ १५:४७

नयाँ आर्थिक वर्षलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउँदै टेलिकम, ३७ अर्बको बन्यो बजेट

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम पारित गरेको छ । टेलिकमले कूल ३७ अर्ब १७ करोड बराबरको बजेट पारित गरेको हाे । जसमा आगामी आवलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउने उल्लेख गरिएको छ ।

दुई वर्षदेखि फाइबर टु दी होम (एफटीटीएच) विस्तारलाई प्राथामिकतामा राख्दै आएको टेलिकमले यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने भएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाखसम्म टेलिकमको एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकको संख्या एक लाख ११ हजार २२९ छ ।

दुई वर्षको अवधिमा फाइबर इन्टरनेटमा प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएसँगै टेलिकमले आगामी आवलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउने भएको हो ।

कूल ३७ अर्ब १७ करोड बराबरको बजेटमा पुँजीगत खर्चतर्फ २१ अर्ब २४ करोड छुट्याइएको छ । भने, सञ्चालन खर्चतर्फ १५ अर्ब ९३ करोड छुट्याइएको छ । जुन चालू आव आर्थिक वर्ष २०७७/०७८ को भन्दा उल्लेख्य वृद्धि हो ।

नेपाल टेलिकमको चालू आवमा पुँजीगत खर्च १४ अर्ब ७८ करोड थियो भने सञ्चालन खर्च १४ अर्ब ५० करोड रहेको थियो । चालू आवको भन्दा ठूलो बजेट ल्याएको टेलिकमले फोरजी परियोजना देशव्यापी विस्तार सम्पन्न गर्ने, नयाँ बिलिङ सिस्टम ल्याउने तथा नेटवर्क अपरेसन सेन्टर सञ्चालनमा ल्याउनेजस्ता मुख्य कार्यक्रम समावेश गरेको छ ।

अर्कोतर्फ कम्पनीले चालू आवमा राखेकाे आम्दानीको लक्ष्य भने पुरा हुन सकेन । चालू आवमा ४७ अर्ब आम्दानी गर्ने योजना बनाएको टेलिकमको यही असार मसान्तसम्म कूल ४१ अर्ब २५ करोड आम्दानी हुने देखिएको छ । यसरी तोकिएको लक्ष्य हासिल हुन नसक्नुको प्रमुख कारणमध्ये कोभिड–१९ एक भएको कम्पनीले जनाएको छ ।

अघिल्लो आवमा आम्दानीको लक्ष्य हासिल गर्न नसकेता पनि कम्पनीले आगामी आवमा ४८ अर्ब ६३ करोड आम्दानी गर्ने लक्ष्य तय गरेको छ । जसमा जीएसएम र एफटीटीएचको आम्दानी मुख्य हुने टेलिकमकाे अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३