close

अमेजनले खरिद गर्‍यो फेसबुकको स्याटेलाइट इन्टरनेट टिम, स्पेसएक्सलाई चुनौति

टेकपाना टेकपाना

असार ३१, २०७८ १२:२८

अमेजनले खरिद गर्‍यो फेसबुकको स्याटेलाइट इन्टरनेट टिम, स्पेसएक्सलाई चुनौति

काठमाडौं । विश्वका ठूला कम्पनीहरू जस्तै स्पेस एक्स, अमेजन, सफ्ट बैंक र फेसबुकबीच स्याटलाइट इन्टरनेट विकास गर्ने प्रतिस्पर्धा चलिरहेको छ । तर अब फेसबुक भने विस्तारै यो दौडबाट बाहिरिएको जस्तो देखिन्छ ।

द इन्फर्मेसनका अनुसार फेसबुकले अमेजनलाई आफ्नो स्याटलाइट इन्टरनेट टिम बिक्री गरेको छ । अमेजनको लागि भने यो कदम आफ्नो प्रोजेक्ट कुइपर (Project kuiper) स्याटेलाइट नेटवर्कका लागि एउटा महत्त्वपूर्ण कदम बनेको छ ।

यसले स्पेस एक्सलाई चुनौति दिन सक्छ । किनभने स्पेस एक्सको जस्तो प्रोजेक्ट कुइपरले पनि विश्वभर सस्तोमा हाई स्पिड ब्रोडब्यान्ड वितरण गर्ने लक्ष्य लिएको छ ।

अमेजनले सन् २०२९ सम्ममा अर्बिट अर्थात कक्षमा आफ्ना तीन हजार २३६ स्याटलाइट छोड्ने योजना बनाएको छ । जसमध्ये २०२६ सम्ममा आधा सङ्ख्यामा स्याटलाइट प्रक्षेपण गरिसक्ने कम्पनीको सोच रहेको छ ।

स्याटलाइटको प्रसारणको लागि कम्पनीले विश्वभर १२ वटा ग्राउन्ड स्टेसन समेत निर्माण गर्ने योजना बनाएको छ । यो प्रोजेक्टको लागि १० अर्ब अमेरिकी डलर भन्दा धेरै लगानी लाग्ने कम्पनीले जनाएको छ ।

गत वर्ष अमेजनले आफ्नो सुरुवाती प्रक्षेपणका लागि युनाइटेड लन्च अलाइन्सको अल्ट्रा रिलायबल एटलस ५ रकेट प्रयोग गर्ने घोषणा पनि गरिसकेको छ । यो प्रोजेक्टको लागि अमेजनले आफ्नो रेडमन्ड हेडक्वार्टरमा करिब ५०० कर्मचारीको साथमा कामलाई तीव्रता दिइरहेको छ ।

यी सबै कर्मचारीहरू विश्वका विभिन्न ठाउँहरूमा बसेर काम गरिरहेका छन् भने यही प्रोजेक्टको लागि २०० वटा विभिन्न पदहरू अझैँ खाली रहेको कम्पनीको भनाई छ ।

फेसबुकबाट हालै खरिद गरिएको टिमले भने लस एन्जल्स क्षेत्रमा रहेर काम गरिरहेको छ । अमेजनले किनेको फेसबुकको स्याटलाइट इन्टरनेटको टोलीमा फिजिसिस्ट, अप्टिकल, प्रोटोटाइपिङ, मेकानिकल र सफ्टवेयर इन्जिनियरहरू छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१