close

टेकपाना समाचार प्रभाव : जोसियलसहितका नेटवर्किङ प्लेटफर्म गैरकानूनी ठहर

टेकपाना टेकपाना

असार ३१, २०७८ १५:५२

टेकपाना समाचार प्रभाव : जोसियलसहितका नेटवर्किङ प्लेटफर्म गैरकानूनी ठहर

काठमाडौं । सरकारले जोसियल, हाइपर फण्ड ग्लोबल, सीआरयू, विन्टर, क्राउड वान, सोलेम्याक्स, प्रिन्ट विस जस्ता प्लेटफर्म गैरकानूनी भएको ठहर गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचना जारी गर्दै यस्ता प्लेटफर्म नेपालमा गैरकानूनी भएकाले यसबाट सुरक्षित रहन आग्रह गरेको हो ।

यसअघि टेकपानाले नेपालमा जोसियलको नाममा अनलाइमा अवैध धन्दा चलिरहेको भनी समाचार प्रकाशित गरेको थियो । जसको आधारमा नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाले अनुसन्धानसमेत सुरु गरेको थियो । त्यस्तै विभागले पनि अनलाइनमा भइरहेको यस्ता नेटवर्किङ गतिविधि अवैध भएको ठहर गरेकाे छ ।

‘वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ तथा नियमावली, २०७६ ले इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने सम्बन्धी व्यवसाय गर्न वस्तुको खरिद बिक्री गरी वा नगरी; सदस्य बनाई वा बिक्रेता/वितरकमार्फत शुल्क मात्र लिने गरी पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७४ ले पनि यस्तो प्रकृतिको कार्यलाई अनुचित व्यापारिक क्रियाकलाप मानी दण्डनीय कसुरका रूपमा लिएको छ । विभागको सूचनामा भनिएको छ, ‘यस्ता प्लेटफर्मले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैरकानूनी रूपले अनलाइन माध्यमको समेत प्रयोग गरी नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीलाई समेत त्यसमा आबद्ध गरी ठगी गरेको तथा पुँजी पलायन गरेको पाइएकाले विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभागले उक्त गुनासो/उजुरीका आधारमा केही व्यक्ति, फर्म तथा कम्पनीउपर अनुसन्धान, जाँचबुझ तथा छानबिनसमेत भइरहेको जनाएको छ । त्यस्ता गैरकानूनी व्यवसायिक काम कारवाही गरे/गराएमा उल्लेखित कानूनले १० लाख रुपैयाँसम्म वा ५ वर्षसम्म कैदमा दुवै सजाय हुनसक्ने विभागले जनाएको छ । त्यसैले त्यस्ता कार्य नगर्नू/नगराउन हुन तथा ठगिनबाट सतर्क रहनसमेत विभागले सबैलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१