close

ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने

टेकपाना टेकपाना

असार ३१, २०७८ १७:१३

ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने

काठमाडाैं । ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने भएकाे छ । ट्राफिक प्रहरी महाशाखाले बिहीवारदेखि याे सेवा सुरूवात गरेकाे हाे ।

विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेपश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेमा जानकारी लिनका लागि जानकी टेक्नोलोजीले तयार पारेको ‘डकुमेन्ट ट्र्याकिङ सिस्टम’ औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

ट्राफिक महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोगमार्फत अबदेखि ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ? भन्ने दुविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

उनले यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाएको समेत जानकारी दिए ।

‘डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोबाइल एसएमएसमार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोहीअनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ व्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो । तर आजदेखि भने एसएमएस सिस्टमले सहज हुने हाम्रो विश्वास छ,’ उनले भने ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यवस्था भएका कारण कतिपय टाढाबाट आउने चालकलाई पर्ने गरेको असुविधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने विश्वास महाशाखाले लिएको छ ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रविधिको विस्तार गरी सेवाग्राहीलाई दिने सुविधा क्रमशः बढाउदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१