close

आईटीयू टेलिकमको स्वर्णजयन्ती, यस्ता रहे सुरुका ५० वर्ष

टेकपाना टेकपाना

असार ३१, २०७८ १७:४१

आईटीयू टेलिकमको स्वर्णजयन्ती, यस्ता रहे सुरुका ५० वर्ष

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले आयोजना गर्दै आएको आईटीयू टेलिकम कार्यक्रमले ५० वर्ष पुरा गरेको छ । दूरसञ्चार सेवा तथा कनेक्टिभिटीका लागि अन्तर्राष्ट्रिय जगतमा सहयोग तथा सहकार्यमा नेतृत्वदायी भूमिका निभाउँदै आएको आईटीयूको प्रमुख कार्यक्रमले ५० औं वार्षिकोत्सव मनाएको हो ।

आईटीयूले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न किसिमका गतिविधि तथा कार्यक्रम विभिन्न सरकार, प्राज्ञिक क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई एकै ठाउँमा ल्याउने र व्यापारिक अन्तरदृष्टि, प्रदर्शनी र प्राविधिक आविष्कार, ज्ञान आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम बन्ने गरेका छन् । साथै यो कार्यक्रम हरेकलाई आपसमा काम गर्ने सुनिश्चितता र सबैतिर प्राविधिको अपार सम्भावनाबाट लाभ लिने माध्यम समेत बन्ने गरेको छ ।

गएको आधा शताब्दी दूरसञ्चारका लागि तीव्र विकासको अवधि रह्यो । जसले गर्दा अभूतपूर्व प्रविधिको उदय, क्षेत्रगत निजीकरण र नियमनका नयाँ पक्षहरू पनि सतहमा आए । उद्योग क्षेत्रमा नयाँ बजार, प्रतिस्पर्धी र सहकार्यको क्षेत्र समेत देखियो ।

यो सबै परिदृश्य सन् १९७० को दशकमा आईटीयू टेलिकमले परिकल्पना गरेभन्दा निकै भिन्न हो । यसबीचमा आईटीयू टेलिकमले टेलिफोन तथा दूरसञ्चार बाहेकका क्षेत्रमा समेत आफ्नो संलग्नता विस्तार गरेको छ ।

अहिले दूरसञ्चारको प्राथमिकताको क्षेत्र समेत सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मा स्थानान्तरण भएको छ । डिजिटल प्रविधि र सेवाहरू अग्रभागमा छन् ।

त्यसैअनुरूप आईटीयूले आफ्नो आफ्नो वार्षिक टेलिकम कार्यक्रमलाई डिजिटल वर्ल्डको रुपमा रिब्रान्डिङ गरेको छ । त्यसका बावजुत आईटीयूको सदस्यता थप विविधिकरण हुनुका साथै टेलिकम सम्बन्धी कार्यक्रमको दायरा समेत फराकिलो बनेको छ ।

आईटीयू टेलिकमको माध्यमबाट एक ठाउँमा तयार भएका इनिसियटिभ्स (अग्रसरता), स्टडी ग्रुप (अध्ययन समूह), कन्फ्रेन्स (सम्मेलन) र इभेन्ट (कार्यक्रम) उद्योग क्षेत्रको ईकोसिस्टमको रुपमा चिनिन थालेका छन् । जसमा सरकार, नियमनकारी निकाय, प्राज्ञिक क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्रका कम्पनी र सञ्चारमाध्यम समावेश छन् ।

आईटीयू अहिले आएर सम्पूर्ण रुपमा एउटा विश्वव्यापी संस्था बनेको छ । जसमा १९३ सदस्य राष्ट्र रहेका छन् । स्याटेलाइटदेखि मोबाइलसम्म, प्रसारणदेखि ब्रोडब्याण्डसम्म, वित्तीय प्रविधिदेखि स्मार्ट सिटीसम्म अनि आर्टिफिसियल इन्टेलिजेन्स र त्यसभन्दा बाहिरको क्षेत्र यो चक्रमा समाविष्ट छ । 

२१ औं शताब्दीको दोस्रो दशकदेखि आईटीयूले कनेक्टिभिटीमा नरहेकाहरुलाई कनेक्टेड तुल्याउने र डिजिटल डिभाइड (डिजिटल विभेद) लाई घटाउने जस्ता उद्योग क्षेत्रका महत्वपूर्ण मुद्दालाई समेत आफ्ना कार्यक्रमहरुमा समेट्न थालेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१