close

आजदेखि यातायातको राजस्व भुक्तानी अनलाइनबाटै

टेकपाना टेकपाना

साउन १, २०७८ ८:४८

आजदेखि यातायातको राजस्व भुक्तानी अनलाइनबाटै

काठमाडाैं । बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले यातायात क्षेत्रको सेवा र राजस्वकाे भुक्तानी अब विद्युतीय माध्यमबाट गर्नसक्ने भएका छन् ।

यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारकाे यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्नसक्ने गरी व्यवस्था गरेसँगै राजस्व तिर्न वा सवारी साधनसम्बन्धी विवरण हेर्न सकिने भएको हो ।

नयाँ आर्थिक वर्ष २०७८/७९ अर्थात् साउन १ गते शुक्रबारबाट आफ्नो सवारीसम्बन्धी विवरण प्रविष्ट र अद्यावधिक गर्न सकिने भएको हाे ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले विद्युतीय माध्यमबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राहीले घरमै बसेर आफ्नो सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन, राजस्व भुक्तानी गर्न सुविधा पुग्ने बताए ।

उनले यातायात सूचना प्रणाली परीक्षणका क्रममा रहेकाले अहिले सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन बताउँदै एक सातापछि राजस्व भुक्तानी गर्नसमेत सकिने जनाए ।

बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारी चालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्था गरेकाे थियो ।

साथै अनलाइनमार्फत राजस्व भुक्तानीपछि कार्यालयमा गई सेवा लिनपर्ने सेवाग्राहीले शुक्रबारबाट मन्त्रालयको भेटघाट व्यवस्थापन प्रणालीको वेब पोर्टलमार्फत ई–टोकन प्राप्त गरी तोकिएको समयमा तोकिएको सेवा लिनसक्ने जनाइएको छ ।

यस्तै नियमावलीमा विद्युतीय सूचना प्रणालीमा सेवाग्राहीले सवारीको विवरण प्रविष्ट गर्न तथा मन्त्रालय वा कार्यालयले सेवाग्राहीबाट सवारीको विवरण माग गर्न वा प्रविष्ट गर्नसक्ने व्यवस्था गरिएकाे छ ।

सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएकाे छ ।

यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तरबैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए ।

अर्यालले नयाँ अनुमति लिने वा स्मार्ट चालक अनुमतिपत्र नलिएकाहरू एक पटक बायोमेट्रिक गर्न आउनुपर्ने जानकरी दिए ।

मन्त्रालयको यातायात व्यवस्था सूचना प्राणालीको वेबसाइट अर्थात यहाँ क्लिक गरी आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिनेछ ।

नागरिक एपमा रहेको ‘सवारी कर’ मा गएर समेत आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक र राजस्व भुक्तानी गर्न सकिनेछ । साउन ६ देखि याे सुविधा कार्यान्वयनमा ल्याउने गरी एन्ड्रोइड र आईओएस दुवै भर्सनको एपमा नयाँ अपडेट आएको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१