close

जेफ बेजोससँगै १८ वर्षीय किशोर र ८२ वर्षीय वृद्धा अन्तरिक्ष जाँदै

टेकपाना टेकपाना

साउन १, २०७८ १५:२७

जेफ बेजोससँगै १८ वर्षीय किशोर र ८२ वर्षीय वृद्धा अन्तरिक्ष जाँदै

काठमाडौं । अमेजनका मालिक जेफ बेजोस आउँदो जुलाई २० मा अन्तरीक्ष भ्रमणमा जाँदै छन् । आफ्नो अन्तरीक्ष कम्पनी ब्लु ओरिजिनको उडान टोलीसहित बेजोसले अन्तरिक्ष यात्रा गर्नेछन् ।

उनको टोलीमा १८ वर्षीय एक किशोर पनि सामेल हुने भएका छन्, जो अन्तरिक्षमा जाने अहिलेसम्मकै कान्छा सदस्य बन्नेछन् । पब्लिक अक्सनमार्फत २८ मिलियन डलर तिरेर ओलिभर डेइमेनले बेजोससँग अन्तरीक्ष यात्राका लागि टिकट पाएका हुन् ।

उक्त टिकेटको लागि ब्लु ओरिजिनले विश्वभरबाट आवेदन माग गरेको थियो, जसमा १५९ देशबाट ७ हजार ६ सय मानिसले फारम भरेका थिए ।

साे अक्सनबाट जाेइस डेइमेनले टिकट जित्न सफल भएका थिए । तर ‘समय तालिका’ को कारण आफू जान नपाएपछि उनले भौतिक विज्ञान पढिरहेका छोरालाई अन्तरिक्ष पठाउने निर्णय गरेका हुन् ।

Oliver Daemen, 18, will be on the New Shepard next week. Credit: blueorigin.com
ओलिभर डेइम्यान

योसँगै जेफ बेजोसको अन्तरिक्ष टोलीमा हालसम्मकै कान्छा र वृद्धा अन्तरिक्षयात्री सामेल हुने भएका छन् ।

यसअघि नै बेजोसको यात्रामा जाने एक ८२ वर्षीय महिलाका नाम सार्वजनिक भइसकेकाे छ । वाल्ली फंक नाम गरेकी ८२ वर्षीय ती महिलाले विगत ६० वर्षदेखि अन्तरिक्षमा जानका लागि प्रयास गरेकी थिइन् । उनी पाइलट पनि हुन् । उनले अन्तरिक्षमा जानका लागि आवश्यक तालिम समेत लिएको भएता पनि हालसम्म यात्रा भने गर्न पाएकी थिइनन् ।

तर, अब भने उनको सपना पुरा हुने भएको छ । बेजोसले उनलाई ‘अनर्ड गेष्ट’ को रुपमा यात्रामा सँगै लैजाने निर्णय गरको हुन् । योसँगै फंक स्पेसमा यात्रा गर्ने सबैभन्दा वृद्ध मान्छे समेत हुनेछिन् ।

वाल्ली फंक

ब्लु ओरिजनको न्यू सेपहार्ड नामकाे साे स्पेस रकेट पृथ्वीको सतहबाट १०० किलोमिटर माथि पुग्नेछ । न्यू सेपहार्डको उडान सब अर्बिट (यो एक किसिमको अन्तरिक्ष उडान हो, जहाँ यान बाहिर स्पेसमा पुग्नेछ) हुनेछ ।

यसले यात्रीहरुलाई स्ट्रेट अप एण्ड डाउन ट्रिपमा लिएर जानेछ, जुन सय किलोमिटर माथिसम्म पुग्नेछ । यसलाई कर्मान लाइन पनि भनिन्छ, जसलाई अन्तरिक्षको सुरुवाती पोइन्टको रुपमा अन्तराष्ट्रिय सम्झौताअन्तर्गत डिजाइन गरिएको हो ।

हालसम्म कर्मान लाइनभन्दा माथि ५६९ जना मानिसहरुमात्र पुगेका छन् । तर न्यू सेपहार्डको मद्दतले यो संख्यामा नाटकीय परिवर्तन ल्याइदिने ब्लु ओरिजिनका अस्ट्रोनट सेल्सकी निर्देशक एराइने कोर्नेलले बताएकी छिन् ।

ब्लु ओरिजिनको पछिल्लो घोषणाले १२ वर्षको ग्यापपछि अन्तरिक्ष पर्यटनको क्षेत्र पुनः सुरु हुन लागेको संकेत दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१