close

टेलिकम प्रदायक ‘ह्याकिङ’को यथार्थ बुझ्न बल्ल अघि सर्‍यो नियामक

टेकपाना टेकपाना

साउन १, २०७८ १७:८

टेलिकम प्रदायक ‘ह्याकिङ’को यथार्थ बुझ्न बल्ल अघि सर्‍यो नियामक

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकको र्सभर ह्याकिङ घटनालाई लिएर अध्ययन गर्ने भएको छ । केही दिन अघि चिनियाँ ह्याकरले नेपाली टेलिकम कम्पनीको सर्भर ह्याक गरेको भन्दै डार्क वेबमा केही प्रयोगकर्ताको डेटा सार्वजनिक गरेको थियो ।

जसमा नेपाली ‘टेलिकम’ को डेटा भनी उल्लेख गरिएको थियो । जसले गर्दा उक्त डेटा नेपाल टेलिकमको हुन सक्ने आँकलन गरिएको थियो । तर, उक्त डेटामा निजी सेवा प्रदायक कम्पनी एनसेलको नम्बर समेत देखिएको थियो ।

यसरी केही प्रयोगकर्ताको डेटा डार्क वेबमा उपलब्ध भएसँगै विभिन्न सञ्चार माध्ययमा नेपाली दूरसञ्चार सेवा प्रदायकको सर्भर ह्याक भएको समाचार प्रकाशन भएको थियो । त्यसैका आधारमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले आफ्नो सर्भरमा कुनै किसिमको ह्याकिङका घटना नभएको दाबी गरिरहेका छन् ।

उनिहरूले आफ्नो सर्भर र प्रयोगकर्ताको जानकारी सुरक्षित रहेको जनाएका छन् । यसरी सेवाप्रदायले संस्थागत रुपमा आ–आफ्नो धारण जारी गरेको भएतापनि नियामक निकायले यस विषयमा कुनै ‘एक्सन’ लिएको थिएन ।

सेवाप्रदायकले नै एकपछि अर्को स्पष्टीकरण दिन थालेपछि बल्ल नियामक आवश्यक अध्ययन गर्ने निश्कर्षमा पुगेको हो । प्राधिकरण व्यवस्थापनले बिहीबार मात्रै ह्याकिङको उक्त विषयमा आवश्यक अध्ययन गर्ने निर्णय गरेको थियो ।

यस विषयमा अध्ययन गरी २० दिनभित्र प्रतिवेदन पेस गर्न प्राधिकरण अन्तर्गत रहेको साइबर सुरक्षा टास्कफोर्सलाई निर्देशन आएको प्राधिकरणका निर्देशक विजयकुमार रोयले जानकारी दिए ।

‘सर्भर ह्याकिङको विषयमा सेवा प्रदायकले आफ्नोतर्फबाट धारणा व्यक्त गरेका छन्,’ रोयले भने, ‘नियामक निकायको रुपमा यो घटनाको अध्ययन गर्नु प्राधिकरणको समेत दायित्वको विषय हो । त्यसैले घटनाको यथार्थ बुझ्ने तयारीका साथ हामीले यसको अध्ययन अघि बढाइसकेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१