close

म्यासेजका साथै अब ब्याकअपमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

साउन ३, २०७८ १३:३०

म्यासेजका साथै अब ब्याकअपमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन ल्याउँदै ह्वाट्सएप

काठमाडौं । सुरक्षाको हिसाबले चर्चित म्यासेजिङ एप ह्वाट्एस धेरैको रोजाइमा पर्दै आएको छ । म्यासेजमा उपलब्ध इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरका कारण पनि ह्वाट्सएपमा धेरै प्रयोगकर्ता जोडिएका छन् ।

इन्ड–टु–इन्ड इन्क्रिप्सनका कारण ह्वाट्सएपमा प्रयोगकर्ताले पठाएको म्यासेज प्रापकले बाहेक बीचमा कसैले पनि पढ्नसक्ने अवस्था छैन । जुन रुपमा ह्वाट्सएपले म्यासेजलाई सुरक्षित गरेको छ, त्यही रुपमा कम्पनीले अब म्यासेज ब्याकअपलाई समेत सुरक्षित बनाउने तयारी भइरहेको उल्लेख गरिएको छ ।

ह्वाट्सएपको बेटा भर्सनको विषयमा जानकारी दिँदै आएको संस्था ‘वावेटाइन्फो’ का अनुसार ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि भर्खरैमात्र नयाँ भर्सन बेटामा सार्वजनिक गरेको छ । सीमित प्रयोगकर्तामाझ उपलब्ध गराइएको बेटा भर्सन (२.२१.१५.५) मा इन्ड–टु–इन्ड इन्क्रिप्सन सहितको क्लाउडमा आधारित ब्याकअप परीक्षण गरिरहेको जनाइएको छ ।

ह्वाट्सएप प्रयोगकर्ताको म्यासेज मात्रै नभएर हिस्ट्रीमा समेत कसैको पहुँच नपुगोस् भन्ने उद्देश्यका साथ कम्पनीले यस्तो तयारी गरेको हाे । योसँगै अब प्रयोगकर्ताले ह्वाट्सएपको ब्याकअप आफैले क्रियट गर्नुपर्ने हुन्छ । त्यो भएको खण्डमा यदि तपाईंको मोबाइल हरायो भने पनि ह्वाट्सएपको डेटा प्राप्त गर्न सकिने छ ।

तर, त्यसरी राखिने ब्याकअपका लागि ६४ डिजिटको ‘इन्क्रिप्सन की’ क्रिएट गर्नुपर्ने हुन्छ । जुन ‘की’ तपाईंले बचत गरेर राख्नुपर्ने हुन्छ । यदि उक्त ‘की’ हराएको खण्डमा भने ब्याकअप प्राप्त गर्न सकिने अवस्था नहुने जनाइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१