close

जहाँ भाडामा पाइन्छ मोबाइल फोन, महिनाको ३२ सयमा आईफोन १२

टेकपाना टेकपाना

साउन ३, २०७८ १६:४७

जहाँ भाडामा पाइन्छ मोबाइल फोन, महिनाको ३२ सयमा आईफोन १२

काठमाडौं । राम्रा र प्रिमियम स्मार्टफोनहरू नयाँ प्रविधिसँगै झन्‌झन् महंगा हुँदै गएका छन् ।  अझ पछिल्ला मोडेलहरू त प्रायः लाख रुपैयाँ माथिका हुने गर्छन् ।

उच्च मूल्य हुँदा समेत धेरै प्रयोगकर्ताहरूले दुई वर्षजति चलाएपछि आफ्नो मोबाइल त्याग्ने र नयाँ मोडलमा सिफ्ट हुने गरिरहेका हुन्छन् । छिटो छिटो मोबाइल परिवर्तन गर्ने कार्य व्यक्तिहरूको गोजी रित्याउने मात्रै नभएर पृथ्वीकै निम्ति नराम्रो बनिरहेको छ ।

फोनका ब्याट्रीमा हुने हानीकारक तत्व वातावरणमा मिसिदा त्यसले निम्त्याउने जोखिम पनि उत्तिकै घातक हुन्छ । यस किसिमको समस्याको समाधानमा एउटा नयाँ तरिका फेला परेको छ ।

जसमा उपभोक्तालाई मोबाइल खरिद गर्नुको साटो भाडामा लिने विकल्प दिइन्छ । अहिले विश्वमा यस्ता धेरै कम्पनीहरू छन्, जसले यस किसिमको सेवा दिइरहेका छन् । नेपालका लागि यो विषय अनौठो भए पनि सिङ्गापुर, अस्ट्रेलिया, अमेरिका, बेलायत जस्ता देशमा दूरसञ्चार कम्पनीहरूले नै यस किसिमको अफर दिइरहेका हुन्छन् ।

पछिल्लो समय यसमा बेलायतको रेलो नामक स्टार्टअपले हालै अक्टोपस भेन्चर्सबाट लगानी समेत प्राप्त गरेको छ । यो कम्पनीले व्यक्तिहरूलाई १२ अथवा २४ महिनाको अवधिका लागि मोबाइल भाडामा लिने सुविधा दिन्छ । कम्पनीले दुई/दुई वर्षमा नयाँ मोबाइल खरिद गर्ने र नष्ट पार्ने कार्यबाट उत्पन्न हुने फोहोरलाई कम गर्न चाहेको कुरा बताउँदै आएको छ ।

जसबाट प्रयोगकर्ताको वार्षिक हजारौं रूपैयाँ जोगिने कम्पनीको भनाई छ । उदाहरणको लागि ग्राहकले रेलोबाट महिनाको २२.९९ पाउण्ड अर्थात तीन हजार २३४ रूपैयाँमा आईफोन १२ भाडामा लिन पाउँछन् । यसका साथै कम्पनीले फोन लिजमा चलाउन पाउने सब्सक्रिप्सन मोडल समेत अपनाएको छ । 

रेलोले यसरी गर्छ काम

सब्सक्रिप्सन लिँदा ग्राहकले कम्पनीको वेबसाइटबाट नयाँ अथवा रिफर्बिश्ड मोडेलका फोन छान्न पाउँछन् । त्यसआधारमा तपाईंले १२ महिना वा २४ महिनाको अवधिका लागि मोबाइल भाडामा लिन पाउनुहुन्छ । कम्पनीले मोबाइल सेवाप्रदायकको भन्दा यो दर सस्तो रहेको बताएको छ ।

रेलोले फोनहरू बिना सिमकार्ड उपलब्ध गराउँछ । त्यसैले भाडामा लिने व्यक्तिले आफूसँग रहेको सिमकार्ड प्रयोग गर्नुपर्ने हुन्छ अथवा नयाँ सिम खरिद गर्नुपर्ने हुन्छ । रेलोमा पछिल्लो समय प्रति महिना रिफर्बिश्ड आईफोन एक्सआर १३.९९ पाउण्ड र ब्राण्ड न्यु सामसङ ग्यालेक्सी एस २१ २७.९९ पाउण्डमा उपलब्ध छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१