close

नेपालको स्याटलाइट राख्न ८० करोड बजेट

टेकपाना टेकपाना

साउन ३, २०७८ १७:३५

नेपालको स्याटलाइट राख्न ८० करोड बजेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्न ८० करोड रुपैयाँ छुट्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट हालै मात्र स्वीकृत वार्षिक कार्यक्रममा नेपालको स्याटलाइट राख्न प्रारम्भिक तयारीस्वरुप यो बजेट छुट्याइएको हो ।

स्वीकृत कार्यक्रम अनुसार ग्रामीण दूरसञ्चार कोषबाट उक्त परियोजनाका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । वार्षिक कार्यक्रममा स्याटलाइट परियोजनाका लागि कार्ययोजना समेत तय गरिएको छ ।

जसअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अर्थात् आउँदो चैत मसान्तसम्म स्याटलाइट लञ्चिङ र ग्राउण्ड स्टेसन स्थापनाका लागि बोलपत्र प्रकाशन गर्ने र असार मसान्तसम्म त्यसका लागि योग्य संस्था छनौट गरिसक्ने लक्ष्य छ । बोलपत्र आह्वानका लागि २० करोड र संस्था छनौटका लागि ३० करोड रुपैयाँ बजेट राखिएको छ ।

त्यसैगरी नेपालको आफ्नै स्याटलाइट स्थापना गर्न विकास कार्यक्रम अन्तर्गत आवश्यक ऐन तथा नियम बनाउने योजना समेत वार्षिकार्यक्रममा समावेश छ । जसका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यसो त नेपालको स्याटलाइट राख्ने परियोजना नयाँ भने होइन । लामो समयदेखि यसको चर्चा चल्दै आएको र सरकारले समेत कार्यक्रमका लागि बजेट समेत छुट्याउँदै आएको छ । तर कार्यान्वयनको दिशामा भने सन्तोषजनक प्रगति हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१