close

क्यूआर पेमेन्ट सुविधासहित नेपालमै स्यानिटरी प्याड भेन्डिङ मसिन निर्माण

टेकपाना टेकपाना

साउन ४, २०७८ १२:३५

क्यूआर पेमेन्ट सुविधासहित नेपालमै स्यानिटरी प्याड भेन्डिङ मसिन निर्माण

काठमाडौं । काइचो ग्रुपले स्यानिटरी प्याड भेन्डिङ मसिन निर्माण गरेको छ । क्यूआर पेमेन्टको सुविधा सहित विकास गरिएको यो मसिन लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्त्रण गरिएको छ ।

प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले उक्त मसिनलाई छिटै लुम्बिनी प्रादेसिक अस्पतालमा जडान गरिने जानकारी दिएका छन् । महिलालाई स्यानिटरी प्याडको वितरण तथा उपलब्धतामा सहयोग पुर्‍याउने उद्देश्यका साथ काइचो ग्रुपले स्मार्ट स्यानिटरी प्याड भेन्डिङ मसिन बनाएको हो ।

सार्वजनिक ठाउँलगायत शैक्षिक संस्था र विभिन्न कार्यलयमा जडान गरिने उद्देश्यले यो मसिन तयार गरिएको काइचो ग्रुप सदस्य सुजन पौडेलले बताए ।

उनका अनुसार यस मसिनमा आफ्नो फोन पे, ईसेवा, खल्ती, आईएमई पेजस्ता पेमेन्ट गेटवे, वालेटको प्रयोग गरी महिलाहरु/जोकोहीले पनि स्यानिटरी प्याड लिन सक्नेछन् । सार्वजनिक स्थल, बसपार्क, एयरपोर्ट, सार्वजनिक शौचालय आदिमा सजिलै भुक्तानी माध्यमको प्रयोग गरेर यो मसिन चलाउन सकिन्छ ।

‘यसका लागि हाम्रो खातामा पैसा आउने बितिकै स्वचालित रूपमा एसले प्याड खसाली दिन्छ,’ उनले भने, ‘प्रयोगकर्ताले स्टक जाँचको लागि युनिटमा विन्डोबाट स्यानिटरी प्याडहरूको उपलब्धता/अनुपलब्धता जाँच गर्न सक्दछ भने मसिनमा प्याडको स्टक सकिन लागेको जानकारी हामीलाई अनलाइनमा आउँछ ।’

उनले अगाडि भने, ‘प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ/वालेटमा रहेको क्यूआर स्क्यानरबाट मसिनमा रहेको क्यूआर कोड स्क्यान गरी पैसा तिर्ने बितिकै प्याड आफैं खस्छ ।‘

बिजुलीको लाइन तथा ब्याट्रीबाट चल्ने गरी दुई प्रकारका मसिन उपलब्ध गराइएकाे उनले बताए । ‘विद्युतको सुविधा असहज भएको ठाउँमा सोलारको पनि प्रयोग गर्न सकिन्छ । साथै इन्टरनेटको पहुँच नभएको ठाउँमा यस मासिनलाई जडान गर्न सकिन्छ,’ उनले भने ।

स्यानिटरी प्याड भेन्डिङ मसिनको परिकल्पना तथा विकासको मुख्य उद्देश्य महिनावारीको समयमा महिलाहरूलाई आवश्यक पर्ने स्यानिटरी प्याडको उपलब्धता वृद्धि गरी महिलाहरूको स्वास्थ्य समस्याहरूको समाधान गर्नु रहेकाे कम्पनीकाे भनाइ छ ।

त्यस्तै विद्यालय, संघसंस्था, कलेजहरुलाई पनि ध्यानमा राख्दै विद्यार्थीको परिचय पत्रको प्रयोग गरी प्याड मसिनबाट निकाल्न मिल्ने भेन्डिङ मसिन पनि बनाएको उनले बताए ।

पछिल्ला केही वर्षहरुमा स्यानिटरी प्याडको उपलब्धताको गाम्भीर्यतालाई बुझेर विभिन्न प्रदेश सरकारले नि:शुल्क प्याड वितरण गर्ने याेजना ल्याएकाले त्यस अभियानमा सहकार्य जान सकिने उनकाे तर्क छ ।

हाल भेन्डिङ मसिन विदेशबाट आयात गर्ने प्रचलन रहेकाे चर्चा गर्दै उनले स्वदेशमै बनेको मसिन प्रयाेगमा ल्याए उपभोक्तालाई सहज हुने दाबी गरे ।

त्यस्तै देशका अझै पनि दुर्गम क्षेत्रका महिलाहरुमा स्यानिटरी प्याडको जानकारी र उपलब्धता छैन । यस्तोमा स्यानिटरी प्याडको प्रवर्द्धनसँगै यसको उपलब्धता सहज बनाउन सके धेरै महिलाहरु महिनावारीमा हुने विभिन्न संक्रमणबाट जोगिनसक्ने उनले बताए ।

मसिनको मूल्य भने यसको डिजाइनअनुसार फरक फरह राखिएकाे छ ।

साथै काईचो ग्रुपले पानी, बिस्कुट, चाउचाउ, चिप्स जस्ता ड्राइ फूडहरु पनि निकाल्न सकिने भेन्डिङ मसिन विकास गरेकाे छ भने चाँडै नै स्वचालित पेट्रोल पम्प (आफैले इन्धन भर्न मिल्ने) प्रविधि पनि नेपाल आयल निगमसँग सहकार्य गरी चाँडै नै बजारमा ल्याउने जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१