close

अब वृद्ध-वृद्धालाई सरकारले नै मोबाइल चलाउन सिकाउने

टेकपाना टेकपाना

साउन ४, २०७८ १३:७

अब वृद्ध-वृद्धालाई सरकारले नै मोबाइल चलाउन सिकाउने

काठमाडौं । अब जेष्ठ नागरिकलाई सरकारले नै मोबाइल चलाउन सिकाउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वृद्ध-वृद्धालाई डिजिटल तथा मोबाइल प्रविधि प्रयोगबारे तालिम दिने कार्यक्रम अगाडि सारेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा प्राधिकरणले सातै प्रदेशका जेष्ठ नागरिकलाई जीवनयापनमा उपयोग हुने प्रचलित तथा अत्यावश्यक दूरसञ्चार तथा आईसीटी प्रविधि सम्बन्धी उपकरण तथा प्रविधि बारे शिक्षा तथा तालिम प्रदान गर्ने विषय उल्लेख छ ।

यसका लागि नियामकले कूल ७० लाख रुपैयाँ बजेट छुट्याएको छ ।  कार्ययोजना अनुसार असोज मसान्तसम्म तालिमका लागि सेवाप्रदायक छनौट गर्ने र त्यसपछिको तीन महिनाभित्र दुई ओटा प्रदेशमा तालिम कार्यक्रम सञ्चालन गरिने छ ।

त्यसैगरी दोस्रो चरणमा चैत मसान्तसम्म थप दुई वटा प्रदेशमा र असार मसान्तसम्म बाँकी तीन प्रदेशमा यस किसिमको तालिम आयोजना गरिने प्राधिकरणले जनाएको छ । हरेक प्रदेशमा यस किसिमको तालिम कार्यक्रम सञ्चालन गर्नका लागि १०/१० लाख खर्च गर्ने योजना बनाइएको छ ।

तालिमका क्रममा मोबाइलबाट नागरिक एप लगायतका अनलाइन सेवा लिने, डिजिटल भुक्तानी तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने, सामाजिक सञ्जालमा सुरक्षित रहने आदि विषयमा शिक्षा तथा तालिम दिइने बताइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१